मधेशीको हिमाल यात्रा

दुई जना कुम जोडेर हिँड्न नमिल्ने साँघुरो बाटो, एकातिर गहिरो भिर, अर्कोतिर अग्लो पहाड। राम नाम जप्दै अगाडि बढिरह्यौ। एभरेस्ट भ्यु पुगेपछि मन फुरुंग भयो।

यसपालिको दशैँतिहारमा हदै भयो, जसलाई भेट्यो ‘फलानो ठाउँमा घुम्न जाँदै छु’ भनेर फुर्ती लगाएका छन्। ‘म त फलानो ठाउँको ट्रेकिङमा आएको छु’ सुनाएका छन्। फेसबुक खोल्यो, घुमघाम र ट्रेकिङकै फोटाले भरिएका छन्। साथी अशोक टेमानी र विनय शाहबीच सल्लाह भयो, ‘हामी पनि हिमालतिर घुम्न जाऔँ अनि फुर्ती लाउने पालो हाम्रो’। यसै व्यापार–व्यवसाय सुस्तै छ, भदौ २४ गतेको विध्वंसले खलबलिएको मन सामान्य भएको पनि छैन। हिमाली देश भनेर पढ्दै हुर्किए पनि हामी मधेशका मान्छे हिमालसँग साक्षात्कार गरेका कमै छौँ। 

एभरेस्ट बेस क्याम्पको रोमाञ्चक यात्राले लोभ्याए पनि आँट आएन। काठमाडौँबाट फ्लाइट समातेर लुक्ला, लुक्लाबाट पैदल नाम्चे, नाम्चेवरपर घुमेर संसारको सबैभन्दा अग्लो ठाउँको होटल एभरेस्ट भ्युमा कफी खाने, बन्दोबस्त मिल्यो भने हेलिकप्टरमा कालापत्थर पुग्ने कार्यक्रम बनाइयो। मन्थलीबाट लुक्ला उडान गर्ने गरी कात्तिक २३ गते हामी कारमा वीरगन्जबाट बर्दिबास, सिन्धुली हुँदै मन्थलीका लागि निस्कियौँ। 

प्राकृतिक सौन्दर्यपान गर्दै मन्थलीको धर्तीमा गोडा टेक्दा सूर्यनारायण विश्रामको तयारीमा थिए। अग्रिम बुकिङ गरिएको होटल फ्रिडम विदेशी पाहुनाले खचाखच थियो, सबै लुक्ला जाने। सानो तर सुग्घर रहेछ, मन्थली बजार।

लुक्लाको हवाई यात्रा सुनेजस्तो डरलाग्दो थिएन। हरिया फाँट, भीरपाखा हेर्दाहेर्दै २० मिनेटमा लुक्ला पुगेको पत्तै भएन। हवाईअड्डाको भवनबाहिर आउँदा बल्ल हवाईपट्टिको बनौट र हवाईजहाजको उडान र अवतरण प्रत्यक्ष हेर्दा पो, बाफ रे! खतरनाक नै रहेछ। 

null

लुक्ला हवाईअड्डा निर्माणका लागि प्रथम सगरमाथा पर्वतारोही, सर एडमन्ड हिलारीले २ हजार ६५० अमेरिकी डलर तिरेर स्थानीय शेर्पाबाट जग्गा किनेका थिए। सन् १९६४ सम्म लुक्ला एयरपोर्ट मोटामोटी तयार भए पनि सञ्चालनमा भने सन् १९७१ पश्चात् नै आएको हो। सन् २००८ तिर सो हवाईअड्डाको न्वारन तेन्जिङ हिलारी हवाईअड्डा भनेर गरियो।

लुक्लाको वातावरणीय स्वभाव देशको राजनीतिक माहोलजस्तै रहेछ, मिनेटभित्रै फेरिने। खुलेको आकाश मिनेटभरमै हुस्सु वा बादलले ढपक्क ढाकिन्छ। वायुको गति पनि तलमाथि भइराख्ने। मौसम पूर्वानुमान गर्ने यन्त्रसमेत नभएको सानो हवाईअड्डामा दिनकै पचास पटक हवाईजहाज अवतरण र उडान गर्ने गर्छन्। अनि, हेलिकप्टरको कुरै नगरौँ, हरेक पाँच मिनेटमा आवतजावत भइराखेको हुन्छ। त्यही भरियाको बन्दोबस्त भइहाल्यो।

बुद्धम शरणम् गच्छामीको मन्त्र जप्दै अघि बढियो। लुक्ला बजारमै तातो–मीठो खाएर पैदल लाग्दा १२ बजिसकेछ। छिनमै उक्लिनुपर्ने, छिनमै ओर्लिनुपर्ने, खच्चरको बथानलाई ठाउँ छोडिदिनुपर्ने, चिप्लिने भय पनि उतिकै– हामी मधेशका मान्छेलाई हल्का गाह्रै हुने। तैपनि बाटोभरि देखिने दूधकोशीको अनुपम स्वरूप, पाखाको सौन्दर्य, झोलुङ्गे पुलको मज्जा र नाम्चे घुम्ने लालसासामु समस्याको वास्ता गर्ने फुर्सद नै भएन। बाटोभरि भेटिने गुम्बा, स्मृति चौतारी, प्रार्थना अथवा धर्मचक्रप्रति श्रद्धा प्रकट गर्दै अगाडि बढिरह्यौँ।

फागदिङ्ग पुग्दासम्म साँझको ५ बजिसकेको थियो, सूर्यनारायण विरामको तयारीमा जुटिसकेका थिए। खासमा फागदिङ्ग लुक्लाभन्दा होचोमै रहेछ, हाइ अल्टिट्युडको समस्या भएन। जाडोले बाहिर घुमघाममा निस्किने साहस आएन। लज माल्किन छिरिङ फुटी शेर्पासँग शेर्पाको जीवनशैलीबारे जिज्ञासा राख्दै बसियो। कोसेलीमा टिम्मुर र सेतो सिमी लैजान सिफारिस गरिने, आलु उत्पातै मिठो भए पनि लैजान गाह्रो। “यहाँको हावापानी दामी छन् लैजान सक्नुहुन्न” उनले हाँस्दै भनिन्, “अरू समान त उतैबाट आउने हो।” 

null

तेस्रो दिन फागदिङ्गबाट हिँडेको घण्टाभरमा मोन्जो पुग्यौ, त्यहाँ परमिट लिनुपर्ने रहेछ। समुद्रपारिका पर्यटकका लागि तीन हजार, दक्षिण एशियालीलाई १५०० र नेपालीलाई १०० रुपैयाँ शुल्क। ‘नेपाली त मिठो बोल्नु हुन्छ, अनुहारले इन्डियन देखिनुहुन्छ’ भनेर परमिट काउन्टरमा बसेका भाइले प्वाक्क भनिहाले। हरे, हामी मधेशवासीलाई इन्डियन देख्ने रोगले यता पनि छाडेन। परिचयपत्र देखाएपछि कचकच गरेनन्। एक घण्टापश्चात् जोरसेल पुग्यौ। लज माल्किन छिरिङ फुटीले ‘जोरसेलमा टन्न खानुहोला, नत्र बाटोमा पानी पनि किन्न पाइन्न’ भनेकै थिइन।

पुरै बाटो जंगलको, कतै घाम, कतै छाया र कतै बाक्लो बतासले हाम्रो स्वागत गरिरहे। तर किन हो कुन्नि? बाटोचाहिँ अलि रिसाएर ठुस्स परेकोजस्तो– अनेकन् ठाउँमा नाक नै छुलाजस्तो ठाडो उकालोलाई सलाम ठोक्नु पर्‍यो। निकै चर्चा सुनिएको हिलारी झोलुङ्गे पुल तलबाट देख्दा अग्लो पहाडको टुप्पोमै देखियो। ‘बाफ रे, त्यति अग्लो ठाउँमा पुग्नु पर्ने?’ कचकचे मनले साउती गर्‍यो। त्यही पुलमुन्तिर एभरेस्ट बन्जी जम्पको झोलुङ्गे पुल थियो। जे होस्, चार बजेसम्म नाम्चे बजारभित्र छिरिसकेका थियौँ।

null

नाम्चे बजारमा गोडा टेक्न पाउनु हाम्रा लागि परिश्रमको फल मिलेसरह थियो। शरीर थिलथिला थियो, मनको उत्साह थामिनसक्नु थियो। एकातिर कङ्देरी हिमाल, अर्कोतिर थामसेकरी हिमाल, बीचमा आमाडब्लम र सगरमाथाको चुचुरो, हिमाललाई छेकवार लगाइराखेका शृंखलाबद्ध हरिया पहाड अनि काखमा नाम्चे बजार। नाम्चे बजारका रङ्गीचङ्गी भौतिक संरचना मास्तिरबाट तलतिर सर्दै गएका– झ्वाट्ट हेर्दा विशाल अडोटोयिमजस्तै। तिलस्मी संसारमा आइपुगेजस्तो लाग्यो। 

अहो! क्या गज्जब! बजारमा स्थानीय, भारतीय, पश्चिमा परिकार पस्किइने एकसे एक रेस्टुरेन्टहरू, पानीको वेगसँगै चल्ने बडेमान धर्मचक्रहरू, बाटोको दुवै छेउमा अन्तर्राष्ट्रिय ब्रान्डका शोरुमहरू अनि विदेशी पाहुनाको चहलपहल पनि उतिकै। लजमा झिटीगुन्टा बिसाएर, बजार चक्कर मार्न निस्किइयो। आन्द्रापुरले असन्तुष्टि जनाएपछि चिटिक्क परेको रेस्टुरेन्टमा पसेर पिज्जा र बर्गर अर्डर गर्‍यौँ।

चौथो दिन, ६ बजे आँखा खुल्दा मोबाइलमा बाहिरको तापक्रम– ७ डिग्री देखायो। बार्दलीबाट पुरै नाम्चे र पर्वत श्रृङ्खला छरपस्ट देखिन्थे। मधेशका मान्छेलाई बिहान ननुहाए सिकसिक लाग्छ, तातो पानीको बन्दोबस्तले समस्या भएन। केहीबेर बजार घुमघाम गर्दा ‘नर्थफेस’ को शोरुम छिरेको, भाउमा काठमाडौँभन्दा तलमाथि थिएन। नत्र, अरू मालसमान मोटामोटी दुई गुणा महँगा थिए। काठमाडौँबाट आउने सामान सल्लेरीसम्म ट्रकमै ल्याई पिकपमा लोड गरेर सुर्के पुगेपछि लुक्लासम्म डेढ घण्टा भरिया वा खच्चरलाई बोकाएर ल्याउनुपर्दा महँगो त हुने नै भयो। 

null

खैर, खाना खाएर सगरमाथा नेसनल पार्कको आगन्तुकस्थलतिर लाग्दा तेङ्गबोचे गाउँ जाने बाटोमै रहेछ आगन्तुकस्थल, मोटामोटी आधा घण्टा उक्लिनु पर्‍यो। सगरमाथा, ल्होत्से, आमादब्लमजस्ता अनेक हिमालका चुचुराहरूको अद्भूत दृश्य देखेर दङ्गदास नभई रहन सकिएन। परिवारलाई भिडियो लाइभ देखाइयो। त्यही परिसरमा शेर्पा संग्रहालय पनि घुम्यौँ। तेन्जिङ र हिलारीले सगरमाथाको चुचुरो टेक्दा लगाएका जुत्तासहितका सामग्रीहरू थिए। संग्रहालयमा शेर्पाहरूको सामाजिक परिवेश, रहन–सहन झल्काउने सामग्री हेरियो। तेन्जिङ र हिलारीको पर्वतारोहणसित जोडिएका भिडियो पनि चल्दै थियो।  

पाँचौँ दिन, १० बजेतिर एभरेस्ट भ्यु होटलतिर उक्लिन शुरू गरियो, बेपत्ता ठाडो उकालो। एकातिर स्वाँस्वाँ भएको छ, चारैतिरको दृश्यावलोकनले मन भुलाएको पनि छ। निक्कैबेरपछि एउटा होटल देखापर्‍यो, नजिकै स्याङ्गबोचे हवाईअड्डा पनि। एभरेस्ट भ्यु पुगियो भन्ठानेर मक्ख परेको अर्कै होटल रहेछ। बाफ्रे बाफ, उकालो बाँकी छ।  आधा घण्टापछि अर्को होटल आयो, यही त होला ठानेर खाना अर्डर गरेको त शेर्पा पानोरमा होटल रहेछ, एभरेस्ट भ्यु पुग्न अझै आधा घण्टा थप उक्लिनु पर्ने रे। 

दुई जना कुम जोडेर हिँड्न नमिल्ने साँघुरो बाटो, एकातिर गहिरो भिर, अर्कोतिर अग्लो पहाड। राम नाम जप्दै अगाडि बढिरह्यौ। एभरेस्ट भ्यु पुगेपछि मन फुरुङ्ग भयो। फोटोसोटो लिने काम गरी होटलमा एक छिन बात मारेर नाम्चेतिर झरियो। बाक्लो हुस्सुको आधिपत्य शुरू भइसकेको थियो, सूर्यनारायणको रापताप पनि झर्दो थियो। अँध्यारोमा गोरेटोको गाह्रो सम्झेर हतार–हतार तलतिर झर्दै गयौँ।  

अलितल आइपुगेपश्चात् भारीभरकम स्कुले ब्याग बोकेर उक्लिँदै गरेका स्कुले बच्चाहरूसित जम्काभेट भयो। स्याङ्गबोचे हवाईअड्डानेरका उनीहरू एक घण्टा लगाएर तल स्कुल झर्ने, फर्किने रहेछन्। जुन यात्रालाई हामीहरू ट्रेकिङको संज्ञा दिँदै रोमाञ्चित हुँदै थियौँ, त्यो हिँडाइ उनीहरूको दैनिकी थियो। 

null

तल झर्दासम्म गोडा फतक्कै गलेका थिए। खानपिन गरी ओछ्यानमा ढलेको म मध्यरात बिउँझेँ, जिउ असिनपसिन थियो। निद्रा लाग्ने छाँटकाँट थिएन। बार्दलीबाट निदाएको नाम्चे बजारलाई नियाले, मुस्काइराखेको आकाशलाई नियालेँ, चारैतिर अनौठो शान्ति थियो। आकाश त रित्तो थियो, नाम्चे बजारको टिलिकपिलिक सक्किएको थिएन। निकैबेर त्यसैमा हराइरहे। मानौँ समय नै थामिएको होस्। 

बाल्यकालको सम्झना आयो। दिवंगत आत्मजनहरूको सम्झना भयो, चिसो बतास असह्य भएपछि कोठाभित्र फर्किएँ। ओछ्यानमै ध्यानमग्न हुने प्रयास गरेँ। सृष्टिका रचयिताप्रति आभार प्रकट गरेँ। हितैषीहरूलाई सम्झेँ, नकारात्मकभाव राख्नेहरूलाई सम्झेँ। पुराना निजी गल्ती सम्झेँ। मनको एकान्तकुनामा जीवित पुराना चित्त दुखाइका क्षण सम्झेँ। सबैप्रति क्षमादान र मंगलमैत्रीको मानसिक सन्देश सम्प्रेषित गरेँ। यस्तै–यस्तैमा व्यस्त रहँदा फेरि कसरी निद्रामा पुगे भेउ नै पाइनँ।

छैटौँ दिन, चार बज्दा नबज्दै अशोक र विनय बिउँझिसकेका थिए। नित्यकर्म सकाएर झिटीगुन्टा कस्न थालियो। बिस्तारै मिरमिरे शुरू भयो, क्षितिजमा आकाशको रङ फेरिन शुरू भइसकेको थियो। झिटीगुन्टा हेलिप्याडसम्म लैजाने भाइ पनि आइसकेका थिए। बेला भएको सूचना पाएपछि हेलिप्याडतिर उक्लियौँ। कालापत्थर अवतरण गर्ने हो भने एक खेपमा दुई जना मात्र बोक्न मिल्ने रे। पहिलो खेपमा विनय र ट्राभल एजेन्टकै प्रतिनिधि उडे, दोस्रोमा म र अशोक। 

२०० एमएमसम्म जुम गर्न मिल्ने क्यामरा साथमा थियो, भिडियो बनाउन अगाडि सिटमा बसेँ। बाटोभरि क्यामरा अन नै रह्यो। कालापत्थर अवतरण गर्दा अर्कै दुनियाँमा आइपुगेका थियौ। चारैतिर ग्लेसियरले ढपक्क ढाकिएका श्रृंखलाबद्ध हिमालहरू, सबैको मध्यमा सगरमाथा। ग्लेसियरले छोपिएको भुईंमा गोडा टेक्न खोज्दा मोटामोटी एक फिटसम्म जुत्ता ग्लेसियर भित्र पस्ने। केही मिनेट फोटो सेसन चल्यो। हेलिकप्टरको इन्जन बन्द गरिएको थिएन। पाइलट फर्किन कचकच गर्न थालिसकेका थिए। नाम्चेमाथि तीन जना यात्री बोकेर हाम्रो हेलिकप्टर लुक्लाका लागि उड्यो।  

null

लुक्लामा एक दिन बस्ने योजना थियो। हवाईअड्डानेर लजमा झिटीगुन्टा बिसाएर बजारतिर हिँड्यौ। बजारमा नेपालीसित बिहे गरेकी जापानी महिलाको दोकानमा खरिददारी भयो। अँध्यारोसँगै चिसोको आगमन भयो।

सातौँ दिन बिहान ६:४५ बजेको प्लेन थियो। हतार–हतार हवाईअड्डा छिर्न त छिरियो, मौसम प्रतिकूल भए मन्थली हवाईअड्डा बन्द रहेछ। काठमाडौँबाट आवतजावत गर्ने विमान र यात्रु नियाल्दै समय बिताइयो। ११:३० तिर विमानमा पसियो। उडान भर्ने तयारीमै रहँदा एक्कासि घोषणा भयो, ‘हावाको चाप बढेको छ, १५ मिनेट कुर्नु पर्ला।’ जे होस्, प्लेन १५ मिनेटपश्चात् उड्यो। हामीहरू सुरक्षित मन्थली आइपुग्यौँ। मन्थली पुग्ने बित्तिकै न्याना पहिरन हाम्रो लागि घाडा भएका थिए, कारमा वीरगन्ज पुग्दासम्म राति भइसकेको थियो।