दुहबीस्थित जुट मिलमा आगलागी, नियन्त्रणमा लिन ८ दमकल परिचालित

आगो नियन्त्रणका लागि विराटनगर, दुहबी, देवाङ्गञ्ज, रामधुनी, सुन्दरहरैचा, बराहक्षेत्र र धरानबाट गरी आठवटा दमकल परिचालन गरिएको छ।

धरान– सुनसरीको दुहबी नगरपालिका–८ स्थित सोनापुरमा रहेको एक जुट मिलमा आगलागी भएको छ। राजकुमार गोल्छाद्वारा सञ्चालित उक्त मिलमा शनिबार दिउँसो करिब ४ः३५ बजेदेखि आगो लागेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काका अनुसार आगो हालसम्म नियन्त्रणमा आउन सकेको छैन। “मिलमा धागो लगायत सजिलै सल्किने सामग्री अधिक भएकाले आगो भित्री भागबाट तीव्र रूपमा फैलिएको छ, जसले गर्दा नियन्त्रणमा कठिनाइ भएको हो,” उनले भने।

आगलागीबाट भएको क्षतिको यकिन विवरण तत्काल अनुमान गर्न नसकिएको प्रवक्ता खड्काले बताए।

आगो नियन्त्रणका लागि सुनसरी जिल्ला प्रहरी कार्यालयका करिब १५–२० जना प्रहरीसहित विराटनगर, दुहबी, देवाङ्गञ्ज, रामधुनी, सुन्दरहरैचा, बराहक्षेत्र र धरानबाट गरी आठवटा दमकल परिचालन गरिएको खड्काले जानकारी दिए। दमकल र सुरक्षाकर्मीको संयुक्त प्रयासमा आगो नियन्त्रण कार्य अझै जारी छ।

“आगलागीको कारण खुल्न सकेको छैन”, उनले थपे। प्रारम्भिक अनुमानअनुसार विद्युत् चुहावट (सर्ट सर्किट) का कारण आगो लागेको हुन सक्ने जनाउँदै उनले आगो पूर्ण नियन्त्रणमा आएपछि मात्र विस्तृत विवरण संकलन गरिने जानकारी दिए।