बीपी नेतृत्वको काँग्रेस निकै क्रान्तिकारी र अग्रगमनकारी पार्टी हो। आजको एमालेभन्दा २०३६ सालपछि, मदन भण्डारीहरूले नेतृत्व गरेको पार्टी निकै अग्रगमनकारी र क्रान्तिकारी हो।
विघटित संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार आइतबार घोषणा भएको प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रमुख नेतृत्वमध्ये एक हुन्। परियारसँग समसामयिक राजनीतिबारे प्रकाश अजातले गरेको कुराकानी:
तपाईँ भक्तपुर, गुन्डुको स्थायी बासिन्दा। जेनजी आन्दोलनमा बालुवाटारबाट हेलिकोप्टर चढेर भागेका पूर्व प्रधानमन्त्री अन्ततः गुन्डुका बासिन्दा हुन पुग्नुभएको छ। नजिकैका नयाँ छिमेकीलाई भेट्न पुग्नुभएको छ?
ठ्याक्कै उहाँ र मेरो भेट भएको छैन। सार्वजनिक कार्यक्रममा बाहेक मेरो उहाँसँग उहाँको निजी आवासमा पहिले पनि भेट भएको छैन। अहिले त उहाँ धेरै नजिक आइपुग्नुभएको छ। त्यहाँ मान्छेको चाप पनि धेरै छ, तर मेरो व्यक्तिगत भेटघाट भएको छैन।
वैकल्पिक राजनीतिको समेत मुख्य दल मानिने रास्वपाको महत्त्वपूर्ण जिम्मेवारीमा हुनुहुन्थ्यो। दलले आउँदो चुनावमा राम्रो प्रदर्शन गर्ने सम्भावना कायमै थियो। आजैका दिन चुनाव लड्न पनि तपाईँलाई रास्वपाबाटै सहज हुन्थ्यो। यस्तो अवस्थामा पार्टी किन छाड्नुभयो?
धेरै मान्छे निर्वाचनबारे मात्र कुरा गरिरहेका छन्, तर जेनजी आन्दोलनपश्चात् अब हामीले धेरै फराकिलो ढंगले राजनीतिबारे सोच्नुपर्छ। निर्वाचनमा भाग लिने, सांसद हुने र मन्त्री हुनेजस्ता छोटो लक्ष्यका कुरा गरेर मात्र हुँदैन अब। जेनजी आन्दोलनपश्चात् हामीले नेपाली समाजमा भएका परिवर्तन, समाजमा थपिएका अन्तर्द्वन्द्व र राष्ट्र निर्माणका हाम्रा सकसलाई फराकिलो रूपमा बहस गर्नु आवश्यक छ। त्यसो गरेनौँ भने एक थान निर्वाचनले मात्र नेपाली समाजका समस्या समाधान गर्छ भन्ने लाग्दैन।
आज संसारभर मान्छेले संकटहरू झेलिरहेका छन्। आर्थिक संकटसँगै सामाजिक अन्तर्द्वन्द्व बढेर गएका छन्। धनी र गरिब बीचको खाडल झनै गहिरिँदो छ। त्यसो हुँदा एक थान सांसद र मन्त्री हुनेभन्दा व्यापक र फराकिलो बहस अहिलेको आवश्यकता हो। अब राजनीतिक आन्दोलनलाई पुनः परिभाषित र पुनर्संरचित गर्नुपर्छ।
समाजका संकट र अन्तर्द्वन्द्व, निरन्तरको प्रयासले समेत हामीले स्थापना गर्न नसकेको लोकतन्त्र, पाउन नसकेको समृद्धि, यत्रो समय हामीले गरेको राजनीतिले प्राप्त गर्न नसकेको समावेशी, स्थापित गर्न नसकेको सामाजिक न्यायलगायत आलोकमा बसेर हेर्दा के लाग्यो भने अब बिलकुलै नयाँ गर्नुपर्छ। यसतर्फ हामीले परिश्रम र मेहनत लगाएनौँ भने फेरि पनि एक थान मान्छे सांसद हुने, एउटा पार्टीको सरकार आउने, केही नयाँ पार्टी आउने प्रक्रिया त चल्छ, तर राष्ट्र बलियो हुँदैन, राष्ट्र परिवर्तन हुँदैन। सोही ठम्याइका साथ प्रगतिशील लोकतान्त्रिक पार्टीका नाममा हामी जोडिएका छौँ।
रास्वापकै कारण अहिलेको व्यापक सार्वजनिक परिचय बनेको मान्नुहुन्छ कि मान्नुहुन्न? मान्नुहुन्छ भने अहिले रास्वपा छाड्नुलाई कृतघ्नता किन नभन्ने? तपाईँलाई अवसरवादी किन नभन्ने?
रास्वपामा काम गर्दा मेरो जुन सार्वजनिक छवि बन्यो, त्यस पार्टीका माध्यमबाट म जुन विचार र विमर्श गर्ने ठाउँमा पुगेँ, त्यसका लागि रास्वपाप्रति सधैँ आभारी नै रहन्छु। मैले आफ्नो राजीनामा पत्रमा पनि सो लेखेको छु। रास्वपामा रहँदा मलाई साथ र सहयोग दिने सबैप्रति आभारी छु। तर अवसरवादी भएर भन्दा पनि अवसर गुमाएर रास्वपाबाट निस्केको हुँ म। तपाईँले पनि भन्नुभयो–मलाई रास्वपामै हुँदा धेरै हिसाबले सजिलो हुन्थ्यो। तर सो छाडेर निस्केँ। मलाई सहज हुने विषयसँग समाज रूपान्तरणको विषय मिल्छ कि मिल्दैन? मलाई सजिलो हुँदा समाज, समुदाय र निमुखाहरूलाई सजिलो हुनुपर्छ कि पर्दैन? त्यसो हुँदा, बृहत्तर जनता र समाजको हितका लागि मैले रास्वपा छाडेको हुँ। तर मैले उठाउने मुद्दा महिला, दलित, आदिवासी, उत्पीडित जाति समुदायको मुद्दा हो। त्यसलाई स्थापित गराउन पार्टीबाट निस्केको हो।
कृतघ्नताको कुरा गर्नुभयो। रास्वापाले मात्रै मलाई दिएको होइन होला नि! मैले पनि रास्वपालाई दिएको हुँला नि! यति लामो समयसम्म रास्वपामा रहँदा इमानदार भएर रास्वपालाई एक ठाउँसम्म लैजान मैले प्रयत्न गरेँ। मैले रास्वपालाई पनि दिएँ, रास्वपाले नि दियो, अझै धेरै दिन चाहन्थेँ। वातावरण भएन।
रास्वपासँग तपाईँको असहमति मूल रूपमा केमा हो? रवि लामिछानेसँग हो या रवि वरपर रहेकाहरूसँग?
यस प्रश्नमा धेरै ठाउँमा जवाफ दिइसकेको छु। पार्टी सभापति रवि लामिछाने दाइसँग व्यक्ति र पार्टी सभापतिका रूपमा हाम्रो मतभेद र द्वन्द्व थिएन। रवि दाइसँग नभएपछि उहाँ वरपर रहेका सँगको द्वन्द्वले खासै अर्थ लाग्छजस्तो लाग्दैन। उहाँसँग मेरो धेरै राम्रो पहुँच र सम्बन्ध थियो।
आजको दिनमा नेपालमा मात्रै होइन, विश्वभर नै विचार शून्यताको अवस्था छ। हिजो हामीले गर्व गरेका विचार र सिद्धान्तहरूले काम गर्न छाडेका छन्। लामो समयसम्म मानव चेतनाले संवाद र छलफल गरेर उत्पादन गरेका ज्ञान मीमांसाहरूले काम गर्न छाडेका छन्। आज विचार र सिद्धान्त छैन, तर समस्याहरू नयाँ नयाँ प्रकट भइराखेका छन्। हामीले स्थापना गरेका प्रणालीले काम गर्न छाडेका छन्। तर मान्छेका समस्याहरू समाधान भएका छैनन्। यसबारे मेरो पुस्ताले बहस उठान गर्नुपर्छ भन्ठान्छु।
विचारमा स्पष्टता नभएको आरोप रास्वपालाई पहिलेदेखि नै लागेको हो। विचारकै कुरा गर्दा रास्वपाभित्र सबैभन्दा वैचारिक नेता तपाईँ हुनुहुन्थ्यो भनिन्छ। आफ्नो विचार त्यहाँ स्थापित गर्न नसकेकै कारण रास्वपा त्याग्नुभएको हो?
हो। तर पार्टीभित्र मेरै विचार सर्वस्वीकार्य हुनुपर्छ भन्ने हुँदैन। कुनचाहिँ विचार आजको आवश्यकता हो र त्यसले मान्छेको हित गर्छ भन्ने कुरा जोसुकैले गरे पनि त्यस्तै विचार नै पार्टीको हुनुपर्ने होला नि! रास्वपामा विभिन्न खालका विचार बोक्ने मान्छेहरू जोडिएका थिए। तर पार्टी त एउटै विचार बनाएर र राजनीतिक मुद्दाहरू उठाएर समाजको बृहत्तर हित गर्न जाने होला नि त! त्यसो गराउन नसक्नुमा मेरा पनि गल्ती कमजोरी होलान्। तर त्यस्तो सम्भावना रास्वपामा नदेखेपछि पार्टी त्यागेँ। मूलतः विचारकै कारण निस्केको हुँ पार्टीबाट।
राजनीतिमा लाग्नेमध्ये कतिपय विचारको मुद्दा उठाइरहेका देखिन्छन्। विचार नमिलेर पार्टी छाडेँ भन्नेहरू देखिन्छन्। यता रवीन्द्र मिश्र 'विचारभन्दा माथि देश' भन्नुहुन्छ। तपाईँचाहिँ 'सबैभन्दा माथि विचार' भनिरहनुभएको छ। के हो यो विचार भनेको? राजनीतिमा किन आवश्यक छ यो?
यसमा हामीले निकै फराकिलो बहस र छलफल गर्नुपर्छ। जेनजी आन्दोलनलाई नै हेरौँ न। यसको आफ्नो प्रस्ट विचार नभएकै कारण त्यत्रो विद्रोह उठाउने जेनजी साथीहरू कहाँ छन्? प्रस्ट विचारबाट बाँधिएको नेतृत्व जेनजीको हुन्थ्यो भने अहिले नै कुरा फरक हुन्थ्यो। यत्रो विद्रोहमार्फत राज्यसत्ता परिवर्तन गर्दा पनि जेनजी साथीहरू कहाँ हुनुहुन्छ? सेमिनार र कन्फरेन्सबाहेक अन्यत्र कहाँ हुनुहुन्छ?
हुन त समाज आफैँ बन्दै जाने, क्रमगत विकासको कुरा पनि होला, तर हामीसित यति धेरै जटिलता र अन्तर्द्वन्द्व छन्। त्यसमा स्पष्ट वैचारिक हस्तक्षेप भएन भने कसरी समाजको विकास हुन्छ? होइन समाज विकसित र समृद्ध हुन्थ्यो भने आजसम्म जात व्यवस्थासमेत किन ढलेन?
कमसेकम तपाईँ-हामीलाई थाहा छ। यस संसारमा मान्छेहरू फरक छैनन्। विज्ञानसम्मत तरिकाले सोच्ने हो भने अहिलेका होमो सेपियन्स त लगभग ७० हजार वर्षअगाडि अफ्रिकाको घाँसे जंगलबाट आएका हुन्। युबल नोहा हरारीले सोबारे आफ्नो पुस्तकमा बताएका छन्। तथ्य र विज्ञान मान्ने कि? अथवा चमत्कारी कोही आइदिन्छ र त्यसले हाम्रो उद्धार गरिदिन्छ भन्ठान्ने?
राजनीतिक मुद्दाविना, विचारबाट प्रशिक्षित संगठनविना र ती सबैलाई न्याय गर्न सक्ने फराकिलो नेतृत्वविना राजनीति चल्दैन। चल्यो भने पनि सो गलत हो। अष्टावक्र गीतामा राजा जनक आफू अष्टावक्र गुरुको सेवा गरेर बाँकी जीवन बिताउने र गुरुलाई छाडेर नजाने कुरा गर्छन्। तर अष्टावक्र भन्छन्, "आजबाट तिमी ज्ञानी भएकाले तिम्रो जिम्मेवारी बढ्यो। तिमीले फर्केर राज्य संचालन गर्नुपर्छ। ज्ञानीको कुनै जात, धर्म र भूभाग हुँदैन। ज्ञानीले केबल न्याय गर्नुपर्छ। आजबाट त तिमीले अझै धेरै न्याय गर्नुपर्छ।"
हामीले आज खोजेको नेतृत्व त्यस्तै होला नि त! हामीले बनाउनुपर्ने पार्टी त्यस्तो होला नि त! मुलुकमा धर्म निरपेक्ष छ। हामी जातमा निरपेक्ष हुनुपर्दैन? ज्ञानमा समेत निरपेक्ष हुनुपर्दैन? आज पनि ज्ञानमा अफ्रिका र एसिया भनेर छुट्टाउने हो? कोही गरिब र कोही धनी कसरी भयो मान्छे? हामीले नेपाली समाजको ऐतिहासिकता हेर्नुपर्दैन? हामीले यसको ज्ञानमिमांसा हेर्नुपर्दैन? संसारका पुराना राज्यमध्ये एक हो नेपाल। जति बेला संसारमा राज्यहरू स्वतन्त्र थिएनन्, त्यतिखेर पनि नेपाल स्वतन्त्र थियो।
यी सबै विषय विचारकै हुन्। मधेस, महिला, दलित, आदिवासी र जनजातिको र तिनको पहिचान र न्यायलगायत सबै विषय विचारसँगै जोडिन्छ। विचार नभए केही पनि हुन्न। फेरि विचार त बनाउन पनि गार्हो छ। यसका लागि अध्ययन आवश्यक छ। यसलाई बोकेर हिँड्न पनि गार्हो छ। केही पनि नभएर हल्का भएर हिँड्न त सजिलो छ नि!
हामी जनावरबाट फरक हुनुको कारण नै विचार हो, हामीले सोच्न सक्नु हो। विचार नहुने मान्छे नै हुँदैन। व्यक्तिलाई मसँग के विचार छ भन्ने थाहा नहुन सक्छ, तर विचार त पक्कै हुन्छ। हामीले गर्ने प्रत्येक काम विचारबाट सिर्जित र निर्देशित हुन्छन्। त्यसै कारण भन्या रेने डेकार्टले भनेका होलान्-आइ थिंक देयफो आइएम (म सोच्छु, त्यसै कारण त म छु)। तर विचारलाई पनि अद्यावधिक गर्नुपर्छ। परिष्कृत बनाउँदै लैजानुपर्छ। हिजो सत्य ठहरिएका विचार आज असत्य हुन सक्छन्।
जनावरहरूसँग पनि विचार हुन्छ, तर सीमित हुन्छ। मान्छेसँग असीमित विचार हुन्छ। मान्छेले निर्मम दुःख पाएको छ, तिनै दुःखबाट मान्छेले सुविचारित ढंगले त्यसलाई पार गर्दै आएको छ। मान्छेका इतिहासमा कति ठूला संकट आए, सारा विश्व नै सकिएला कि झैँ गरी महामारी फैलिए। दुई-दुइटा ठूला विश्वयुद्ध भए। विचारबाट ती संकटबाट पार पाउन सफल भयो मान्छे। आज जुन संकट छ, त्यसबाट पार पाउने पनि विचारकै सुविचारित प्रयोगले हो। विचार चाहिँदैन, केही पनि चाहिँदैन भन्ने हो भने हामी यही संकटमा रुमल्लिइरहने हो।
विचारको अभावमा न्याय हुँदैन। तपाईँ र हामीले कल्पना गरेजस्तो राज्य हुँदैन। यत्रा सारा संरचना हुँदासमेत राज्यको संरक्षण गर्न नसक्ने कस्तो राज्य बनाएछौँ हामीले? राजनीतिक दलहरूमा विचार नहुनुको समेत कारण हो यो। त्यसैका लागि मेरो/हाम्रो अभियान हो।
वैचारिक हिसाबमा तपाईँ वामपन्थी कि कम्युनिस्ट? सेन्टर टु लेफ्ट त तपाईँ पक्कै हो। कि तपाईँ अम्बेडकरवादी?
मैले अत्यन्त सम्मान गर्ने पात्र हो अम्बेडकर। मैले उहाँका धेरै साहित्य पढेको छु। बुझेको छु। कम्युनिस्ट त म हुन सक्छु कि सक्दिनँ, मलाई थाहा छैन तर वामपन्थी त हो। मेरा कारणले होइन, समाजले मलाई वामपन्थी बनाएको हो। समाजमा न्याय नहुँदा तपाईँ कसरी यथास्थितिवादी हुन सक्नुहुन्छ? समाजमा सबै मान्छे बराबर छैनन्, तर सबै कुरा ठीक छ भनेर कसरी मान्नहुन्छ? त्यही होइन र दक्षिणपन्थ भनेको? आज यहाँ जे छ, मात्र त्यसलाई टिकाइराखूँ भन्छ यथास्थितिवाद र दक्षिणपन्थले।
आज जे छ, त्यो ठीक छैन। जनसंख्यामा पहाडभन्दा मधेस धेरै छ। तर दुई बीच बराबरी व्यवहार छैन राज्यको, त्यो ठीक छैन। पुरुषभन्दा महिला धेरै छन्। तर बराबरी अधिकार दिइएको छैन। दलितहरू निरन्तर श्रम गरिरहेका छन्, तर तिनको श्रमको सम्मान छैन। तिनको पुस्तौँनीले बनाएको श्रमको सुरक्षा गर्न सकेको छैन। जनजातिको आफ्नै भाषा र संस्कृति छ, हाम्रै भाषासंस्कृतिझैँ तिनको भाषा संस्कृतिको संरक्षण हुन सकेको छैन। अनि कसरी कुनै मान्छे वामपन्थी हुँदैन?
७. चुनावमार्फत जनताले पत्याएर चौथो ठूलो पार्टी भयो रास्वपा। सबैभन्दा जवान पार्टीलाई अरू पार्टीभन्दा लोकतान्त्रिक बनाउन तपाईँले कत्तिको प्रयत्न गर्नुभयो?
मैले निरन्तर विचार र संवाद गरेँ। हेर्नोस्, फेरि कुनै पार्टी नयाँ हुँदैमा त्यो अग्रगामी र लोकतान्त्रिक हुन्छ भन्ने मान्दिनँ। आजको काँग्रेसको तुलनामा बीपीले नेतृत्व गरेको काँग्रेस निकै क्रान्तिकारी र अग्रगमनकारी पार्टी हो। आजको एमालेभन्दा २०३६ सालपछि, मदन भण्डारीहरूले नेतृत्व गरेको पार्टी निकै अग्रगमनकारी र क्रान्तिकारी हो। आजको माओवादीले जनयुद्ध थाल्दाताक, २०५२ मा उठाएका मुद्दा क्रान्तिकारी थिए। २०६२/६३ मा आएको माओवादी सबैभन्दा क्रान्तिकारी हो। यसर्थ, समय त एउटा संयोग मात्र हुने रहेछ। कुन मुद्दा र विचार महत्त्वपूर्ण हो। पार्टी कहिले जन्म्यो भन्ने कुराले सो पार्टी यो पुस्ताको र उ पुस्ताको भन्ने हुँदैन। मुद्दा कस्तो उठायो भन्ने कुराले क्रान्तिकारिता र प्रगतिशीलता देखिन्छ। अभ्यासले त्यस पार्टीको लोकतन्त्र प्रतिको प्रतिबद्धता देखिन्छ।
रास्वापाभित्र मैले निकै प्रयत्न गरेँ। बहस र छलफल चलाएँ। कहिलेकाहीँ साथीहरूले नसुन्दा पनि सुनाउन खोजेँ। त्यसो गरिरहँदा वामपन्थी र कम्युनिस्ट भने। तर कुरा यति हो–म यस सरहदभित्र बसेका मान्छेको हित चाहन्छु। यहाँका मान्छेको चित्त नदुख्ने वातावरण बनाउन चाहन्छु। मलाई कोही मान्छे जन्मजात गरिब हुन्छ भन्ने लाग्दैन। राज्यव्यवस्था, राज्यले गर्ने व्यवहार र शक्ति संरचनाका कारण समाजमा धनी र गरिब हुन्छ। कमसेकम सबै नेपालीले एक छाक खान पाउने, एकसरो लगाउन पाउने मान्छे यो सरहदभित्र देख्न चाहन्छु।
तपाईँ अहिले जुन अभियान या पार्टी बनाउन लाग्नुभएको छ, त्यस अभियानमा चाहिँ सुशासन र सामाजिक न्यायका महत्त्वपूर्ण मुद्दामा विवादमा परेका नेता पनि देखिएका छन्। सँगै जोडिँदा तपाईँले आफूलाई प्रस्ट पार्नु पर्छ कि पर्दैन?
हामीले कुनै पनि कुरालाई समग्रतामा हेर्नुपर्छ। एउटा घटना र संयोगले कुनै पनि कुरा हेर्दा त्यो पूर्ण हुँदैन। त्यो मेथेडोलोजी सही होइन भन्ने लाग्छ। मान्छे तलदेखि माथिसम्म सपाट हुँदैन। मान्छेसँग इतिहास, वर्तमान र भविष्य हुन्छ। इतिहासमा भएका कुरा वर्तमानमा र वर्तमानमा भएको भविष्यमा नहुन सक्छ। यस आलोकमा बसेर हेर्दा मान्छेका कमीकमजोरी रहन्छन्। हाम्रो अभियानमा रहेका कसैसँग त्यस्तो केही छ भने त्यो उहाँहरूले जवाफ दिने कुरा हो।
तर यो राष्ट्रलाई प्रमुख मानिरहँदा, आजको नेपाली समाजका अप्ठ्याराहरूलाई सहज बनाऊँ भनिरहँदा, मसँग जोडिनुभएका साथीहरू मजत्तिकै प्रतिबद्ध हुनुहुन्छ भन्ने विश्वास हो। हिजो भएका कमीकमजोरी नदोहोर्याउने ठाउँमा उहाँहरू आउनुभएको छ भन्ने मेरो विश्वास हो। यो विश्वास रहुन्जेल उहाँहरूसँग रहने हो। तर यो विश्वासमा आघात पुग्यो भने मलाई त व्यक्तिगत रूपमा केही फरक पर्दैन, तर जुन अभियान हामी चलाउन खोज्दैछौँ, त्यस अभियानलाई फरक पर्छ। यो विषयमा व्यक्तिगत रूपमा पनि प्रश्न गरेको छु, तर हामी जो गर्न खोज्दैछौँ, ती प्रयत्नका अगाडि हिजोका कमीकमजोरीहरू नदोहोर्याउने गरी अघि जानुपर्छ।
रवि लामिछानेका कतिपय सामाजिक/मिडिया कर्म सकारात्मक रहे पनि लामिछाने प्रारम्भदेखि नै विवादमा रहेका व्यक्ति हुन्। सबै जान्दाजान्दै रास्वपामा मै तपाईँ किन लाग्नुपरेको? किन काँग्रेस, एमाले वा वामपन्थी दलमा नलाग्नुभएको?
तत्कालीन अवस्थामा विद्यमान पार्टीहरूले पार्टी संरचनाभित्र निश्चितबाहेक अरू मान्छेलाई जोडेका थिएनन्। एउटा त संरचनागत प्रणाली पनि निकै अप्ठ्यारो छ, त्यसो हुँदा म मात्रै होइन, मभन्दा अगाडिका पनि धेरै पुस्ताले जन्मेदेखि अहिलेसम्म तिनै नेता देखिरहेका छौँ। सबै पुस्तालाई पार्टीमा जोड्ने काम नै भएको थिएन। त्यस्तो अवस्थामा सभापति रवि लामिछानेले एउटा अभियान चलाउनुभएको थियो र त्यस अभियानमा म पनि जोडिन पुगेँ। यसमा भएको यत्ति मात्र हो।
तत्कालीन समय विद्यमान पार्टीहरूले फरक क्षेत्रका स्थापित र सामाजिक आन्दोलनमा लागेका र नागरिक समाजका व्यक्तिहरूलाई पार्टीमा स्वागत गरिरहेका थिएनन्। त्यस्तो बेला पार्टी खोलेर रवि लामिछानेले एउटा अवसर सिर्जना गर्नुभएको थियो। मलाई उहाँले बोलाउनुभएको थियो। उहाँले बोलाएको निकै पछाडि, निर्वाचनको वरपर म उहाँसँग पुगेको हो। त्यस पार्टीमा रहँदा राम्रै गर्ने प्रयत्न गरियो। सुशासनको सन्दर्भमा राम्रै काम गरियो।
रास्वपाभित्र सन्तोष परियार गुम्सिएर बसिरहेका रहेछन् भनेर कतिपयले टिप्पणी गरेको देखियो नि!
राजनीतिमा भूमिकाको अर्थ हुने रहेछ। राम्रा भनिएका नेताहरू पनि चर्चामा हुनुहुन्न। किनभने पार्टी संरचनागत र वैधानिक हुन्छ। त्यहाँ क्षमताअनुसार व्यक्तिको भूमिका भएन भने, उभिने ठाउँ भएन भने त जोसुकै व्यक्ति गुम्सनुको विकल्पै हुँदैन। हामी लोकतन्त्रमा विश्वास गर्छौँ। हाम्रोमा बहुमतीय प्रणाली छ। हाम्रोमा जिम्मेवारी नेतृत्वले नै दिने हो। यी यावत विषयका कारण जुनसुकै पार्टीमा त्यस्तो समस्या हुनसक्छ। रास्वपामा त्यो महसुस गरेरै न त मैले यो खालको निर्णय लिनुपर्यो।
कुनै अन्तर्वार्तामा आजकै दिन चुनाव हुँदा जुनसुकै पार्टीबाट भक्तपुरबाट जित्छु भन्नुभएको छ नि! जित्नुहुन्छ?
भक्तपुरको राजनीति अन्यत्रको भन्दा अलि फरक छ। भक्तपुर अलि बढी चेतनाको पनि राजनीति गर्छ। नेपालको राजनीतिक आन्दोलनको इतिहास हेर्दा भक्तपुरको राम्रो योगदान छ। प्रत्येक राजनीतिक आन्दोलनमा भक्तपुरले आफ्नो सहभागिता राम्रैसँग जनाएको छ। हिजो संघीय संसदमा मैले बोलेको र अन्य सार्वजनिक ठाउँमा बोलेको भक्तपुरका जनताले सुनेका छन्। सन्तोषले उठाएको मुद्दा ठीक छ भनेका छन्। कतिपय साथीहरूले मलाई संसदमा पुर्याउन सहयोग गर्न तयार रहेको बताउने गरेका छन्। यदि भक्तपुरे जनतालाई आफ्नो कुरा बुझाउन सकेँ, मैले भक्तपुरबाट नेतृत्व गर्दा समग्र भक्तपुरको हित हुन्छ भन्ने उहाँहरूलाई विश्वास दिलाउन सकेँ भने अवश्य जितुँला। आज राष्ट्रिय राजनीतिमा जुन किसिमको भूमिका पाएको छु, भोलि म हुँदा भक्तपुरको मात्र नभई देशकै विकासमा मेरो भूमिका हुन सक्छ भन्ठान्नु भयो मतदाताले भने म चुनाव जितिहाल्छु नि!
संविधान र व्यवस्थामाथि संकट छ भन्नुहुन्छ तपाईँ। त्यो चुनौती कोबाट छ?
पहिलो कुरा त, संविधानले भनेजस्तो व्यवहार नगरेर, संविधानले भनेजस्तो राज्य नचलाएर, संविधानले जनताले अधिकार देऊ भन्दा पनि जनतालाई अधिकार नदिएर हाम्रो संविधानमाथि प्रहार हामी आफैँ गरिरहेका छौँ। संविधानमा व्यवस्था भएका मौलिक हकलाई कार्यान्वयन गर्ने सम्बन्धमा कानुनसमेत बनाएका छैनौँ हामी राजनीति गर्नेहरूले नै संविधानमाथि प्रहार गरिरहेका छौँ।
संविधानमाथिको दोस्रो प्रकार वर्चस्वशाली समुदायले गरिरहेको छ। हिजोकै सबै कुरा ठीक छ भन्नेहरूले गरिरहेका छन्। शक्ति संरचना र सत्ताका हिसाबमा जसलाई हिजै ठीक थियो, तिनले संविधानमाथि आक्रमण गरेका छन्। तेस्रो, हाम्रो देश बलियो र समृद्ध हुँदा त्यो मन नपराउनेहरूले आक्रमण गरेका छन्। संविधानमाथि आक्रमण हुँदा कमजोरहरूले गुमाउनु परेको छ। यो संविधान नै अन्तिम सत्य होइन, तर तुलनात्मक रूपमा विगतका अरू संविधानभन्दा महिला, दलित, मधेस र आदिवासी-जनजातिको पक्षमा छ यो।
पार्टी नेतृत्वमा कुनै अग्लो र खाइलाग्दो व्यक्ति आउनेबित्तिकै देशमा व्यापक विकाश र परिवर्तन आउँछ भन्ने ठान्छन् कतिपय मान्छे। कवि माधवप्रसाद घिमिरेले शायद त्यस्तै विचारबाट प्रेरित भएर 'यो देशमा म एउटा मानिस खोजिरहेछु' भन्ने गीत/कविता पनि रचे। एउटै व्यक्तिले ठुलै उथलपुथल र चमत्कार गर्छ भन्ने ठान्नुहुन्छ तपाईँ?
त्यस्तो मानिस खोज्न नसकेर होइन, त्यस्तो मानिस खोजेर हिँड्दा देशमा यो अवस्था आएको हो। कुनै एउटा व्यक्ति विशेष खोज्नु आफैमा लोकतान्त्रिक तरिका र अभ्यास होइन, थिएन। र, त्यो कतै पाइने वाला पनि थिएन। आजको दिनसम्म प्रत्येक पार्टीले गरेकै त्यही हो। गरेकै त्यही हो।
हामीले त्यसो नगरेर सामूहिकता र समुदायलाई महत्त्व दिएको भए, प्रयत्न र मेहनत गरेको भए, कसैलाई नछोडेको भए, विभिन्न समुदाय र जातिलाई समेटेको भए देश धेरै राम्रो भइसक्थ्यो। एउटा चमत्कारी मान्छे खोजेर हिँड्ने राजनीतिले हामीले गर्यौँ, त्यसले देश बनेन। प्रगतिशील चिन्तन राख्ने, अरूका दुःख दुख्ने, दलितको पीडा महसुस गर्ने, महिलामाथि भएको अन्याय सहन नसक्ने, मधेसलाई बारम्बार शंका गर्ने र पर धकेल्ने होइन, आफूतिर तान्ने समूह नभएसम्म देश बन्दैन। अब मान्छे होइन, समूह खोजौँ। देशको लागि इमानदार भएर काम गर्ने समूह खोजौँ।
जनताको सम्मान नगर्ने, कुनै चमत्कारी र अवतारी महानायकहरूको पनि काम रहेनछ होइन?
त्यो भ्रमबाट आजैको दिनदेखि हामी उठ्नुपर्छ। हाम्रो खोजी नै गलत छ। हामीले नै चमत्कारीहरूलाई माथि पुर्याइदिएको हो। हाम्रा विश्वविद्यालयमा जस्तो ज्ञान उत्पादन हुनुपर्थ्यो त्यस्तो भएन। हामीले जसरी हाम्रा इतिहास र संस्कृतिलाई अगाडि लैजानुपर्थ्यो, हामीले लैजान सकेनौँ। त्यसो भएपछि सर्वसाधारणहरूले नायक खोजी नै रहे।
जेनजी आन्दोलनप्रति तपाईँको धारणा के छ? त्यसका कारण के थिए?
म आन्दोलन मन पराउने मान्छे। संसारमा मान्छेका हितका लागि, मान्छेलाई स्वतन्त्र र समृद्ध बनाउन, मान्छेहरूलाई अझ फराकिलो बनाउन हुने र भएका सबै आन्दोलनप्रति मेरो कहीँ न कहीँ समर्थन र सहमति रहन्छ। तर म हिंसावादी चाहिँ होइन।
सबै आन्दोलनसँग मेरो एक किसिमको भावना जोडिएको छ। गत जेनजी आन्दोलन मात्रै होइन, एक खाले आन्दोलनको म सम्भावना देखिरहेको थिएँ। कतिपय अनौपचारिक सन्दर्भमा साथीहरूसँग यहाँ कुनै न कुनै किसिमको आन्दोलन हुनसक्ने बताउने गरेको थिएँ। त्यो राजनीतिक आन्दोलनको नेतृत्व हामीले गर्नुपर्छ भनेर कतिपय पार्टीकै साथीहरूसँग पनि कुरा गरेँ हुँला।
त्यस्तो आन्दोलनले हामीलाई अझ लोकतान्त्रिक, अझ प्रगतिशील र अझ संवैधानिक र राज्यका संयन्त्रलाई नागरिकप्रति अझ बढी उत्तरदायी बनाउने आन्दोलन सम्भव छ भन्ने गरेको थिएँ। परिकल्पना गरेभन्दा निकै चाँडो त्यो आन्दोलन भयो। जुन उद्देश्यसाथ उहाँहरूले आन्दोलन गर्नुभयो, त्यसप्रति मेरो सम्मान छ। तर आन्दोलनको नाममा भएका विध्वंस र भएको जनधनको क्षतिप्रति दुःख लागेको छ। त्यो नुहुनुपर्थ्यो। आजको दिनको आन्दोलन समेत चेतनाबाट निर्देशित भएन भने त त वरवाद हुने रहेछ।
आन्दोलनले दुई-तीन वटा सन्देश दिएको छ भन्ने लाग्छ। निरन्तर हामीले पार्टीभित्र चमत्कारी नेतृत्व स्थापित गर्ने प्रयास गर्यौँ। त्यसलाई यसले खारेज गरेको छ। राजनीति गर्ने नाममा राज्यका विभिन्न संस्थालाई दलीयकरण गरियो, काम गर्न नसक्ने बनाइयो, त्यसलाई पनि खारेज गरेको छ। अर्को कुरा, हरेक पुस्तालाई राजनीतिसँग जोड्न माग गरेको छ आन्दोलनले। लामो समयता राजनीतिमा विभिन्न पुस्ता छुट्दै आएका थियौँ। कति त पलायन भए। तर यो पुस्ताले पलायन हुन मानेन र विद्रोह गर्यो। सबै पुस्तालाई राजनीतिसँग अब नजोड्ने हो भने हामीले परिकल्पना गरेको समाज बनाउन सकिँदैन।
ढिलो चाँडो पक्कै चुनाव होला अब। त्यस चुनावमार्फत झनै डरलाग्दो फ्रान्केस्टाइन पो जन्मने हो कि? त्यस्तो आशंका तपाईँलाई छ कि छैन?
लोकतन्त्रको पनि सीमितता छ। त्यो हामीले ख्याल गर्नुपर्छ। लोकतन्त्रमा सार्वभौम जनताले गरेको निर्णयलाई अवमूल्यन गर्न हुँदैन। ठ्याक्कै हिजो जे थियो, त्यो चाहिँदैन भनेर हामी भन्न सक्दैनौँ। हिजो जे भयो, गलतलाई गलत र सहीलाई सही करार गर्ने हो। तर त्यो गर्ने त राजनीति र निर्वाचनबाटै हो। कथम् चुनावबाट एकाध मान्छे गलत आए भन्दैमा अलमलिनु हुँदैन। सबै आफैले चाहेजस्तो होस् भन्नु फेरि, लोकतान्त्रिक पनि होइन। म बीपीलाई सम्झन्छु म। तपाईँ लोकतान्त्रिक हुनु भनेको तपाईँभन्दा धेरै फरक विचार राख्नेलाई पनि स्विकार्नु हो भन्थे बीपी। प्रणालीको कमजोरीका कारण आउने र जनताले ल्याउने अर्को कुरा भयो, जनमत त हामीले स्विकार्नै पर्छ।
अब कस्तो होला नेपालको राजनीति?
नेपाल मात्र नभई संसारभर एक किसिमको संकट छ। विगतका मानक भत्कँदै छन्। हिजो अभ्यास गरेका अवधारणा खारेज हुँदै छन्। हिजो हामीले गर्व गरेका विषय आज होइन कि भन्ने ठाउँमा पुगेका छन्। नेपालकै कुरा गर्दा हामी ठूलो चुनौती सामु खडा भएका छौँ।
हाम्रो राष्ट्रियता एकदमै कमजोर भएर गएको छ। लोकतन्त्रमाथि ठूलो आक्रमण भएको छ। हाम्रो संविधान एक प्रकारले मुर्झाएको अवस्थामा छ। हामीले निकै ठूलो राजनीति र सामाजिक आन्दोलनबाट स्थापना गरेको व्यवस्थामाथि खतरा देखिएको छ। र, सबैभन्दा महत्त्वपूर्ण कुरा, नागरिक र राज्यबीचको जुन सम्बन्ध छ, त्यो सम्बन्धमाथि निकै ठूलो संकट आएको छ।
हाम्रो पुस्ताले अब पनि ढंग पुर्याएर, विचार गरेर, सोच मिलाएर सामूहिकतातर्फ प्रयत्न गरेन भने राज्यप्रतिको विश्वास हामी स्थापित गर्न सक्दैनौँ। समावेशिता सहितको बलियो राज्य र भरपर्दो अर्थतन्त्र स्थापनामा अब हामी जुट्नुपर्छ। हिजो जहाँतहाँ जजसलाई चोट लागेको थियो, त्यहाँ त्यहाँ सबैलाई मलहम लगाउने र सामाजिक न्याय स्थापना गर्ने राजनीतितिर लाग्नुपर्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
