कारको ठक्करबाट धनुषामा एक महिलाको मृत्यु

जनकपुर–ढल्केवर सडकखण्डमा कारको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

जनकपुरधाम – धनुषाको मिथिला नगरपालिका–२, हजराचौकस्थित जनकपुर–ढल्केवर सडक खण्डमा आइतबार कारको ठक्करबाट एक महिला पैदल यात्रीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) रुगमबहादुर कुँवरका अनुसार, बा प्र ०१– ०३१ च २०३६ नम्बरको कारले ठक्कर दिँदा मिथिला नगरपालिका–१, लक्ष्मी निवासकी अन्दाजी ४६ वर्षीया सुमिन्त्रा देवी महतोको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा महतोका श्रीमान् ५० वर्षीय राजकुमार महतो घाइते भएका छन्। ठक्कर दिने कार र त्यसका चालक सर्लाही, लालबन्दी–६ का १८ वर्षका दिवस कार्कीलाई नियन्त्रणमा लिई ढल्केवर इलाका प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ।