इजरायली आक्रमणमा हिजबुल्लाहका सैन्य कमान्डर मारिए

आइतबारको आक्रमण जुन ५ मा  हिजबुल्लाहको ड्रोन कारखानामा आक्रमण गरेको घटनापछि बेरुतको दक्षिणी उपनगरमा पछिल्लो आक्रमण थियो।

काठमाडाैँ– लेबनानको राजधानी बेरुत नजिकै आइतबार इजरायली आक्रमणमा हिजबुल्लाहका सैन्य कमान्डर मारिएका छन्।

हिजबुल्लाहले बेरुतको दक्षिणी उपनगर हारेट हरिकमा इजरायली आक्रमणमा आफ्ना सैन्य प्रमुख हैथम अली तबताबाईसहित पाँच जनाको मृत्यु भएको र अन्य २८ जना घाइते भएको पुष्टि गरेको हो। लेबनानको सरकारी समाचार संस्था (एनएएनए)का अनुसार हिजबुल्लाहको प्रभाव रहेको घना बस्तीमा आक्रमण भएको थियो। भवनमा तीनवटा क्षेप्यास्त्र प्रहार गरिएको र सवारी साधन र नजिकैका अन्य संरचनाहरूमा क्षति पुर्याएको एनएएनएले जनाएको छ।

इजरायली अधिकारीहरूले हिज्बुल्लाह पुन: संगठित र हतियारधारी भइरहेको भन्दै हालैका हप्ताहरूमा लेबनानविरुद्ध आक्रमणको चेतावनी दिदै आएका छन्।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले इजरायल र इरान समर्थित हिजबुल्लाहबीच एक वर्ष लामो युद्धविरामको बाबजुद लेबनानमा हिजबुल्लाहको निशानाविरुद्ध आक्रमणको आदेश दिएको बताएको छ।
 
“केही समयअघि बेरुतको मध्य क्षेत्रमा इजरायली सेनाले हिजबुल्लाहका सेना प्रमुखलाई लक्षित गरी आक्रमण गरेको थियो,” प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा भनिएको छ, “इजरायल सबै ठाउँमा र जहिले पनि आफ्नो उद्देश्य प्राप्त गर्न कार्य गर्न प्रतिबद्ध छ।”

सन्  २०२४ नोभेम्बरको युद्धविरामपछि हिजबुल्लाहसँग एक वर्षभन्दा बढी समयदेखि शत्रुता अन्त्य गर्न खोजेको इजरायलले लेबनानमा पछिल्ला केही दिनयता लगभग दैनिक आक्रमणहरू गरेको छ। सामान्यतया लेबनानको दक्षिण र पूर्वमा विद्रोही समूहका सदस्यहरूलाई आक्रमण गरिरहेको छ।

यद्यपि, आइतबारको आक्रमण जुन ५मा  हिजबुल्लाहको ड्रोन कारखानामा आक्रमण गरेको घटनापछि बेरुतको दक्षिणी उपनगरमा पछिल्लो आक्रमण थियो।

लेबनानको दक्षिणी शहर आइता अल–शाबमा यसअघि भएको आक्रमणमा एक जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

नेतान्याहूले आइतबार नै हिजबुल्लाहलाई लेबनानमा पुनः सङ्गठित हुनबाट रोक्नका लागि इजरायलले आवश्यक सबै कदम चाल्ने बताएका थिए।