भर्चुअल करेन्सी र नेटवर्क मार्केटिङका साइट र एप बन्द गर्न निर्देशन

प्राधिकरणले क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैरकानुनी काम र आर्थिक अपराधसँग जोडिएका वेबसाइट एप र अनलाइन सञ्जाललाई बन्द गर्न निर्देशन दिएको छ।

काठमाडौँ– नेपालमा मुद्राका रूपमा कानुनी मान्यता नदिएको भर्चुअल करेन्सी र प्रतिबन्धित नेटवर्क मार्केटिङ पछिल्ला दिनहरूमा बढ्दै गएकाले त्यसमा पहुँच पुग्न नसक्ने व्यवस्था मिलाउन नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ। 

प्राधिकरणले सोमबार सूचना जारी गर्दै अनलाइन प्रविधिमार्फत हुने क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैरकानुनी काम र आर्थिक अपराधसँग जोडिएका वेबसाइट एप र अनलाइन सञ्जाललाई बन्द गर्न निर्देशन दिएको हो।

“गैरकानूनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट, एप र अनलाइन सञ्जाल लगायतका भर्चुअल माध्यमहरू नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नेपालबाट पहुँच पुग्न नसक्ने व्यवस्था गर्न सबै इन्टरनेट (इमेलसहित) सेवा प्रदायक संस्थाहरूलाई नेपाल दूरसञ्चार प्राधिकरणबाट निर्देशन जारी गरिएको छ”, प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ।

उक्त निर्देशन पालना नगरे ऐनबमोजिम कारबाही हुने प्राधिकरणको अनुगमन महाशाखाले जनाएको छ।