‘अफ्रिकावासी नेपाली मताधिकारबारे सबैभन्दा बढी इच्छुक छन्’ (भिडियोसहित)

‘प्रविधिले सबै कुरा सहज बनाइदिएको छ। दूतावासमा उभिएर लाम लाग्दै मतदान गर्नुपर्ने अवस्था अहिले छैन। विश्वसनीय अन्तर्राष्ट्रिय कम्पनीको सहयोगमा ई–भोटिङ गर्न सकिन्छ।’

दुई दशकयता अफ्रिकी देश नाइजेरिया (लेगोस) बस्दै आएका हिक्मत थापा पेसाले खाद्य प्रविधिज्ञ हुन्। अफ्रिकी मुलुकमा बस्ने नेपालीको रोजगारीदेखि कठिनाइसम्मका विविध सरोकारमा सम्बद्ध रही गैर आवासीय नेपाली संघको पूर्वकेन्द्रीय कोषाध्यक्षसमेत रहेका थापासँग प्रवासी मताधिकारबारे उकालोले गरेको संवाद:

नेपालमा हुन लागेको संसदीय निर्वाचनबारे अफ्रिकी मुलुकहरूमा रहेका नेपालीको के धारणा छ? प्रवासी मताधिकारको सरोकारमा के भन्नुहुन्छ?
प्रवासी मताधिकारको बहस धेरै अघिदेखि चलिरहेको हो। नेपालमा गणतन्त्र आएपछि र मुलुक संघीयतामा गएपछि प्रवासी मताधिकारको बहस थालिएको हो। संविधान र कानूनमा पनि यो उल्लेख भएको व्यवस्था हो। अफ्रिकाका ४० भन्दा बढी देशमा १० हजारभन्दा धेरै नेपाली छन्। मताधिकार दिनुपर्छ तर कसरी यो अधिकारमा जोड्ने भन्नेमा प्रविधिको युगमा त्यति अप्ठ्यारो छैन। जस्तो ई–भोटिङ प्रणाली र यसका लागि रजिष्ट्रेसन प्रकृया अरु मुलुकमा पनि प्रयोगमा आइसकेको छ। गैर आवासीय नेपाली संघ स्वयम् अनलाइन भोटिङ प्रकृयामा गएको थियो। यसमा कमजोरीहरू होलान्, यसलाई कसरी बढी व्यवस्थित बनाउने भन्ने पनि होला तर असम्भव भन्ने छैन। फेरि समय पनि छ नै, झन्डै ४ महिना। भर्खरै निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र (नेशनल आईडी) का भरमा मतदाता नाम दर्ता गर्ने प्रकृया जुन थालेको छ, यो सह्रानीय छ। तत्काल यसमा केही समस्या आउला तर यो सुधार हुँदै जाने प्रकृया हो, सह्रानीय कदम हो।

बोलीमा, सिद्धान्तमा भन्न त सहजै छ। तर के व्यवहारमै सम्भव होला त प्रवासी मताधिकार यसपालि?
इच्छाशक्ति हो मुख्य कुरा। यो मोडेल अरु विभिन्न देशहरूले पनि चलाएका छन्। व्यवस्थित, सुरक्षित र थप विश्वसनीय कसरी बनाउने भन्ने मात्रै हो, तर असम्भव छैन। ई–भोटिङका हकमा हामीसँग समय, प्रविधि र पैसा पनि छ नै। धेरै पछि कतिपय प्रवासी मतदाताले मतदाता सूचीमा आफ्नो नाम दर्ता गराएका छन्, हामीले भोट दिएमा मात्रै मुलुकको, राजनीतिको मुहार फेर्न सकिन्छ भनेका छन्। यस्तो बेलामा अन्तर्राष्ट्रिय रूपमा चिनिएका र स्थापित कम्पनीलाई मताधिकार प्रकृया तथा प्राविधिक पक्षमा साथमा लिन सक्नुपर्छ। यो शुरूआत हो, हुनैपर्छ भन्ने लाग्छ। गर्न चाहेमा र खोजेमा असम्भव छैन, सम्भव छ जस्तो लाग्छ।

प्रविधि मात्रै भएर भएन, पैसा र पद्धति पनि चाहियो नि?
समय त्यस्तो ठूलो कुरा होइन। अहिले पनि भोटर आईडीको प्रयोगको कुरा महिनौं लगाएर भएको होइन। त्यसले गर्दा प्रविधिलाई विश्वास गर्नैपर्छ। समयको कुरामा १ महिनाको अवधिमा सबै तयारी गर्न सकिन्छ, प्राविधकका रूपमा विदेशबाट वा यस्तै चुनावी सरोकारमा काम गरिरहेका कम्पनी भित्र्याउन सकिन्छ। बरु कानूनी रूपमा तत्कालै सल्टाउनुपर्ने विषय हुन सक्छन्।

जस्तो खाडी मुलुकमा बाहिर आएर, लाम लागेर भोट हाल्ने अवस्था नहोला। यस्ता अवस्थामा के गर्ने?
यसैका लागि त हो आजको प्रविधि। प्रविधिले सबै कुरा सहज बनाइदिएको छ। कहींकतै दूतावासमा उभिएर लाम लाग्दै मतदान गर्नुपर्ने अवस्था अहिले छैन। हामीले गैर आवासीय नेपाली संघको चुनावकै हकमा झण्डै १ लाखजति मतदातामाझ देश–विदेशबाट अनलाइन भोटिङ गरेकै थियौं। यसका प्लस, माइनस पक्ष होलान् नै। तर, यसमा राम्रा अन्तर्राष्ट्रिय कम्पनीको छनौटबाट ई–भोटिङ गर्न सकिन्छ नै। त, शुरूआत त हुनुपर्यो नि।

तपाईं अफ्रिकी मुलुकमा रहेका नेपालीलाई एकसाथ जोड्ने गैर आवासीय नेपाली अभियन्ता समेत हुनुहन्छ। नाइजेरिया बाहेक केन्या, तान्जानियालगायत देशमा बस्ने नेपालीको सरोकार के छ नि?
अहिले नेपालीहरू चियागफमा पनि नेपालको निर्वाचनबारे कुरा थालेका छन्। नेपालको निर्वाचनमा सहभागी हुने उत्कण्ठा देखिएको छ। नेपालको राजनीति, सुशासनमा सकारात्मक रूपमा सहभागी हुन पाइयोस् भन्ने इच्छा झन् देखिएको छ। देशमा सधैं भद्रगोल नहोस् भन्ने मनोकांक्षामा अहिले कसरी मतदाता सूचीमा नाम हाल्न पाइन्छ भनेर उत्सुक बन्नेहरू बढी देखिएका छन्।

भिडियो: