विराटनगरको लगातार तेस्रो जित, जनकपुर ९ रनले पराजित

एनपीएलअन्तर्गत सोमबारको पहिलो खेलमा विराटनगर किङ्सले साबिक विजेता जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गरेको छ।

काठमाडौँ– राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत सोमबारको पहिलो खेलमा विराटनगर किङ्सले साबिक विजेता जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले प्रस्तुत गरेको १३६ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२६ रन मात्र बनाउन सक्यो। यो जितसँगै विराटनगरले लिगमा आफ्नो लगातार तेस्रो सफलता दर्ता गरेको छ।

जनकपुरका लागि जान निकोल लोफ्टी-इटनले सर्वाधिक ४१ रन बनाए। उनले ३० बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे। यस्तै, लाहिरु मिल्नाथले २२ बलमा २ चौका र १ छक्काको मद्दतमा २३ रन बनाउँदा सञ्जय कृष्णमूर्तिले १२ बलमा २० रनको योगदान दिए। आशिख शेखले १३ रन जोडे पनि अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन्।

विराटनगरको जितमा लेग स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। सन्दीपबाहेक सूर्य तामाङले २ तथा मर्चेन्ट डे लाङ्गे र शुभम रञ्जनेले समान १-१ विकेट लिए।

यसअघि, जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि विराटनगरले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १३५ रन बनाएको थियो।

विराटनगरका लागि शुभम रञ्जनेले सर्वाधिक ३७ रनको योगदान दिए। उनले २९ बल खेल्दै २ छक्का र २ चौका प्रहार गरे। 

यस्तै, बसिर अहमदले ३५ बलमा ३ छक्कासहित ३६ रन जोडे भने लोकेश बमले २६ बलमा १ छक्का र २ चौकासहित २८ रनको योगदान दिए। अनुभवी खेलाडी मार्टिन गुप्टिलले १३ र जर्ज मुन्सेले १० रन बनाए।

बलिङतर्फ जनकपुर बोल्ट्सका रूपेश सिंह र सङ्गीथ कुरेले २–२ तथा आदित्य महताले १ विकेट लिएका थिए।

सोमबार दिउँसो ४ बजेबाट शुरू हुने दोस्रो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दै छन्।