अबिच्युरी

धर्मेन्द्र देओल: रोमान्टिक हिरोदेखि ‘हि म्यान’सम्म

सन् १९६६ मा धर्मेन्द्रको फिल्म ‘फूल और पत्थर’ले तहल्का नै पिट्यो। सो समयमा राज कपुरपछि देशबाहिर पनि फ्यान बनाउनेमा दोस्रोमा गनिए। यहीँबाट उनलाई ‘हि म्यान’ उपनाम दिन थालियो।

सबैजसो भारतीय र केही नेपाली मिडियाले दुई हप्ताअघि मृत घोषणा गरेका धर्मेन्द्र देओल उर्फ धर्मेन्द्र केवल कृष्ण देओलले अन्ततः सोमबार संसारबाट बिदा लिए। देहवसानपछि उनका पुराना अन्तर्वार्ता र अरू भिडियो एकाएक एल्गोरिदममा छिरे, रिलमा भकाभक आउन थाले। त्यसमध्ये एउटा रिलमा उनी भन्दै थिए…

कहिलेकाहीँ ऐनाले सोध्छ मलाई:

इश्क ने मारा तुझे शराब ने मारा
मिल्ता ना वरना कोइ सानि (बराबर) तुम्हारा 

अनि म जवाफ दिन्छु:

शराव नहोती इश्क ना होता 
ए जिना भि कोइ जिना होता

यी लाइन धर्मेन्द्रले सन् २०२२ मा एउटा टेलिभिजन कार्यक्रममा भनेका थिए। यो हरफ आफ्नै थियो वा अरू कसैको त्यो थाहा भएन, तर चार लाइनमै धर्मेन्द्रले बाँचेको जीवन देखिन्थ्यो, देख्न सकिन्थ्यो।

बलिउडमा ‘हि म्यान’ ‍को पहिचान बनाएका धमेन्द्रको जन्म १९३५ डिसेम्बर ८ मा पन्जाबको लुधियाना जिल्लामा भएको थियो। २५ वर्षे उमेरमा पहिलो फिल्म (दिल भी तेरा हम भी तेरे) बाट शुरू भएको बलिउड यात्रा ४० वर्षसम्म निरन्तर रह्यो। सन् १९६४ मा उनी अभिनीत फिल्म ‘आयी मिलन कि बेला’बाट बेस्ट सपोर्टिङ एक्टरको लागि फिल्मफेयर अवार्ड (१९६५) मा नोमिनी भए। 

त्यसको एक वर्षपछि उनको फिल्म ‘फूल और पत्थर’ले तहल्का नै पिट्यो। सो समयमा राज कपुरपछि देशबाहिर पनि फ्यान बनाउनेमा उनी दोस्रोमा गनिए। यो उनको सोलो फिल्म थियो। यस अघिसम्म ‘रोमान्टिक’ हिरोको छवि बनाएका धर्मेन्द्र, यस फिल्मपछि ‘एक्सन स्टार’का रूपमा चिनिन थाले। जहाँ कुनै ‘बडी डबल’ बिना सबै स्टन्ट आफै गरेका थिए। सम्भवतः बलिउडमा पहिलोपल्ट हिरो 'सर्टलेस' भएको फिल्म थियो यो। यो बेलासम्म हिरोले सर्ट फुकाल्नुलाई अस्वभाविक मानिन्थ्यो। यो आइडिया चैँ धर्मेन्द्रको आफ्नै थियो।

निर्देशकलाई  कथाअनुसार मनाएर सर्ट खोलेका थिए, जुन पछि गएर जीवनको टर्निङ प्वाइन्ट बन्यो। यहीँबाट उनलाई हि म्यान उपनाम दिन थालियो। यो फिल्म भारतमा ब्लकबस्टर भयो भने, उबेलाको सोभियत संघमा पनि राम्रो व्यापार गर्‍यो। यस फिल्मबाट उनी फिल्म फेयरको बेस्ट एक्टरका लागि नोमिनीमा समेत परे।

मिनाकुमारीसँगको उनको ‘केमेस्ट्री’ पर्दामा दर्शकले निकै रुचाए। जसले गर्दा यही जोडी केही फिल्ममा दोहोरिए। दुब्लापातला हिरोहरूको दबदबा भएको समयमा सुगठित र बलिष्ठ शरीर देखाएर उनले नयाँ ट्रेन्ड नै शुरू गर्दिए। एउटा कुराकानीको भिडियोमा उनी भन्छन्, “एकपल्ट दाह्रासिंहसँग हातको पन्जा नापेको थिएँ, दाह्रासिंहको भन्दा मेरो औँला अलिकति लामो रहेछ।”

शारीरिक रूपमा सुन्दर हिरो भनेर उनको चर्चा चलचित्र उद्योगमा पछिसम्म भई नै रह्यो। सन् १९६६ देखि १९८९ मा आएको ‘हत्यार’सम्म, दुई दशक उनले आफ्नो एक्सन छवि पर्दामा दर्शकलाई देखाए। त्यो बीचमा ‘मेरा गांव मेरा देश’ (१९७१)मा डाकु जब्बर सिंहसँग भिड्ने अजित होस् वा ‘शोले’ (१९७५) मा गब्बर सिंहसँग लड्ने विरु होस्, कमेडी फिल्म ‘चुप्के चुप्के’ (१९७१) को परिमल वा बंगाली उपन्यासमा आधारित फिल्म ‘सत्यकाम’ (१९६९) को सत्यप्रिय होस्, धर्मेन्द्रलाई फरक विधामा पनि दर्शकले रुचाई नै रहे। 

सन् १९९० को दशकअघि नै आमिर खान र सलमान खान बलिउडमा जम्न थालिसकेका थिए भने, उता धर्मेन्द्रको करिअर ओरालो लाग्न थालेको थियो। उनले शीर्ष भूमिकामा अन्तिम हिट सन् १९९२ मा दिए, फिल्म ‘तहल्का’मार्फत। त्यसै वर्ष फिल्म फेयर बेस्ट मेल डेब्यु अवार्ड पाएका थिए, शाहरुख खानले, ‘दीवाना’ फिल्मबाट। 

त्यसपछि उनी बलिउडी भाषामा भनिने बी–ग्रेडका फिल्ममा देखिन थाले। बी–ग्रेड फिल्मका महारथी निर्माता/निर्देशक कान्ति साहको फिल्म ‘आग का तुफान’ (१९९३) मार्फत उनको यताको यात्रा शुरू भयो। निर्माताले पोस्टरमा अनुहार राख्नकै लागि, फिल्मको व्यापार बढाउनकै लागि भए पनि उनलाई लिन थाले। यसले धर्मेन्द्र आलोचित पनि भए। तर उनी भन्थे, "म खेल्दा उसको फिल्म चल्छ, दुई पैसा कमाउँछ भने, किन नाइ भनूँ?"

यो क्रम सन् २००४ सम्म चल्यो, त्यसपछि भने उनी चरित्र भूमिकामा देखा परे। सँगै आफ्नै कम्पनीबाट फिल्म बनाए।

राजनीति 
सन् २००४ मा भारतीय जनता पार्टीबाट लोकसभा निर्वाचनमा बिकानेर, राजस्थानबाट चुनाव लडेका धर्मेन्द्रले ५६ हजार मतान्तरले कांग्रेस उम्मेदवारलाई हराए। तर सांसद यात्रा भने खासै उल्लेख्य र उपलब्धिपूर्ण रहेन। पाँच वर्षको संसद् यात्रापछि सक्रिय राजनीति छोडिदिए। बरु खेती किसानी र फिल्म क्षेत्रतिरै रमाए। 

परिवार
फिल्म क्षेत्रमा आउनुअघि नै प्रकाश कौरसँग विवाह गरेका धर्मेन्द्रले बलिउडमा प्रवेश गरेपछि हेमा मालिनीसँग दोस्रो विवाह गरे। पहिलो विवाहबाट जन्मिएका दुई सन्तान, सन्नी देओल र बबी देओललाई आफ्नै प्रोडक्सन कम्पनीमार्फत फिल्मी दुनियाँमा भित्र्याए। अरू दुई छोरी विजेता र अजिता देओल भने यता प्रवेश गरेनन्।

हेमा मालिनीसँगको विवाहपछिका दुई छोरी इशा देओल र अहाना देओल हुन्। इशा देओलको फिल्मी करिअर खासै जमेन भने, अहाना फरक क्षेत्रमा लागिन्। 

रक्सी
शराव नहोती इश्क ना होता 
ए जिना भि कोइ जिना होता

करिअरको ‘पिक प्वाइन्ट’मा हुँदैदेखि धर्मेन्द्रलाई रक्सीको लत लागिसकेको थियो। फिल्म सुटिङमै लुकाएर रक्सी खाने बानी बसिसकेको थियो। यही कारण आफ्नो फिल्मी करिअर बिग्रिएको जीवनको उत्तरार्द्धमा आएर आफै स्विकार्थे।

सन् २०१० पछि रक्सी छोडेका थिए। खेती किसानी गरेर फार्म हाउसमा व्यस्त उनी उमेर बढेसँगै विभिन्न शारीरिक समस्यासँग जुधिरहेका थिए। बलिउडमा सरलता र सिधापनको नमूना बनेका धर्मेन्द्र देओलले ८९ वर्षको उमेरमा मुम्बईस्थित आफ्नो निवासमा सोमबार अन्तिम श्वास फेरे।