नारायण गोपाल वा अम्बर गुरुङले भनेजस्तो, संगीत विधा मनोरन्जन र आत्मरन्जनको मिलापमा चल्नुपर्ने हो। तर, त्यसो हुन सकेको छैन।
काठमाडौँ–
जीवन चुपचाप गुजारेँ त के भो
तिमीले जित्यौ म हारेँ त के भो
लामो कथाको पनि अन्त्य हुन्छ
शुरूमैँ पर्दा झारेँ त के भो!
(शब्द: आभास, संगीत: शान्ती ठटाल)
एकजना गीतकार छन् जो धेरैले थाहै नपाइ प्रखर संगीतकार शान्ती ठटालको संगीत सित्तै उपहारमा पाइरहेका छन्। एकजना संगीतकार छन् जो निकै उदारमना बनेर आफ्नो धुन गायक फत्तेमानलाई सुनाइरहेका छन्। र, एकजना गायक छन् जो भीमबिरागले रचेको संगीतमा आफ्नो स्वर भरिरहेका छन्।
गीत–संगीत–गायकीको यो मनमिल्दो झझल्को एकैपटक यहाँ भेटिएको छ— स्वागत छ आभास पलेँटीमा !
यसरी नै बितेका छन् २० बर्ष, पलेँटी कसेर। पलेँटी कुनोको आसनमा बसेका छन्— संगीतकर्मी आभास जो माथि भनिएझैँ शब्द–संगीत र स्वरमा एकैसाथ खेल्न सक्छन्। व्यवहारमा अलिक अप्ठ्यारा लाग्ने तर गीत–संगीतको सिर्जनशील दुनियाँमा भने सजिला भेटिने आभासले योपटक (मंसीर १२–१३) पलेँटीमा गायक फत्तेमानको स्मृति उतार्दैछन्— प्रिय गायक फत्तेमानको ८९औँ जन्मोत्सव अवसरमा उनैका नाममा कथिएको गीति–निबन्ध बाचनसहित। गायकीका नवप्रतिभा रुपक चौधरी र अभिज्ञा घिमिरेले फत्तेमान मात्रै सुनाउँनेछन् दुवै साँझमा:
बतासले तलाउमा टेकिदेला कि
तिम्रो तस्वीर लेखौँ भन्छु मेटिदेला कि
(शब्द/संगीत: आभास, स्वर: फत्तेमान)
⁎⁎⁎
फत्तेमान त यसपालिका लागि लागि छानिएका नाम मात्रै हुन्। नेपाली आधुनिक संगीतको प्रारम्भिक चरण र त्यसमाथि ‘सोलो–कन्सर्ट’मा कहिल्यै नबसेका आर्टिस्ट खोज्ने क्रममा थुप्रै साधकहरू पलेँटीमा जोडिन आइपुगे। जस्तो– काठमाडौँमा प्रेमध्वज प्रधानदेखि हेटौँडामा भीमबिरागसम्म। पशुपतिका भँडारी फत्तेमानदेखि दार्जिलिङे प्रतिभा शान्ती ठटालसम्म। मणिपुरका सान्तनुकुमार लिम्बूदेखि दार्जिलिङकै कुमार (सुब्बा)–कर्म (योन्जन)सम्म। काठमाडौँकै संगीतज्ञ अम्बर गुरुङ, गीतकार माधवप्रसाद घिमिरे वा दार्जिलिङे संगीतकार चन्दन लोमजेल त हुने भइहाले। विगतमा अंग्रेजी गीत मात्रै गाउने नेत्र चिकित्सक डा. सुमन थापादेखि शाश्त्रीय संगीता प्रधानसम्म।
यो स्रष्टा सूची निकै लामो छ, ६ दर्जनजतिको। “सेवा–साधनाका अरु बिधामा जोडिएका अरु नामहरू झट्टै देखिन्छन्, ‘मार्क’ हुन्छन्,” पलेँटीका संयोजक आभास पलेँटीमै बसेर गफ दिँदै थिए, “तर, बर्षौंबर्ष संगीत साधनामा योगदान पुर्याएको एउटा साधक भने जीवनमा एकपटक पनि सोलो–कन्सर्ट नगरी कतै नेपथ्यमा हराइरहेको हुन्छ, यो असंगत र दुःखदायी अवस्था देखेरै पनि पलेँटी शुरू भएको थियो।”
हो पनि। थोरबहुत चिनारीको अर्थमा एउटा गायक स्टेजमा देखिनु वा रेडियो नेपालको उबेलाको चल्तीको ध्वनीबाट गुन्जिनु नै ठूलो कुरा हुन्थ्यो। अझ बिशेषगरी बाद्यवादक, संगीतकार वा गीतकारहरू त न कतै आवरणमा देखिन्थे, न स्टेजमै झुल्किन्थे। ‘मेरो सबै रातहरू मातहरू भए’ (नारायण गोपाल), ‘फूललाई सोधेँ कहाँ गयौ’ (अरुणा लामा), ‘कति बग्यो कति बग्यो, पुलमुनि पानी रेशम’ (डेजी बराइली), ‘बादलुको दरबारमा पहाडको मेला’ (सूर्य थुलुङ) जस्ता चल्तीका गीत लेख्ने शब्दकर्मी को होलान्? खोजबीन अघि बढ्दै जाँदा भेटिए— नरदेन रुम्बा (सन् १९४९–सन् १९९०) जो ४१ बर्षकै उमेरमा टीबी रोग लागेर दार्जिलिङमा बितेका थिए।

“हो, धेरैले भुलिसकेको नरदेनजस्ता नेपाली सुगम संगीतका साधक, शब्दकर्मीलाई पनि हामीले पलेँटीमा सम्झना गर्यौँ। नरदेनको सिर्जनालाई दार्जिलिङे प्रतिभाहरू बद्री–दुर्गा खरेल, डेजी बराइली–चन्दन लोमजेलमार्फत पलेँटीसम्म ल्यायौँ,” आभास सुनाउँछन्। पलेँटी कक्षमा बढीमा १०० स्रोता–दर्शकलाई साक्षी राखेर गीत सुनाउँदैमा कुनै ‘प्रलय’ भइहाल्ला भन्ने त होइन तर, सुगम संगीतको यो प्रवाह कम्तीमा रेकर्ड (मेमोरी)मा रहोस् भन्ने ध्याउन्न आभासको रहेछ।
यसरी विस्मृतिमा गइसकेका नरदेनलाई फेरि ब्युँताउने दार्जिलिङे संगीतकर्मी चन्दन लोमजेललाई धन्यवाद!
जुनेली त चोखै हुन्छ
जूनभरि दाग होला
आँखाभरि पानी होला
मनभरि आगो होला
(शब्द: नोरदेन रुम्बा, संगीत: आभास)
⁎⁎⁎
बदलिँदो समयअनुसार अहिले सम्झनाहरू पनि छोटिँदै र पातलिँदै गएका छन्। केही सेकेन्ड मात्रै रिल/टिकटक ‘स्क्रोल’ गरेको भरमा सम्झनाहरू बाँच्न थालेका छन्। यो संकटमा उहिलेका सीके रसाइली वा बच्चु कैलाशलाई कसले सम्झिने ? माणिकरत्नको नाम किन, कसले सम्झिने? (विगतमा गायक बच्चु र माणिकलाई पलेँटीमा ल्याउन निकै यत्न भएको रहेछ, तर यी गायकले सिधै असहमती जनाएका रहेछन।)
गाम्भीयर्तता र धैर्यता चाहिने सुगम संगीतका हकमा यसकारण पनि चाँडै ख्याती पाउने वा पैसा कमाइहाल्ने ‘सूत्र’ खोजीबस्नुको अर्थ छैन। आभासलाई के लाग्छ भने, अहिले गाम्भीर्यता रुचाउने कानको कमी हुन थालेको छ। त्यस्ता कानको खोजी पनि गर्दैछ पलेँटीले। तर, यो प्रयत्न स्वान्त सुखायमै सिमित छ। नारायण गोपाल वा अम्बर गुरुङले भनेजस्तो, संगीत विधा मनोरन्जन र आत्मरन्जनको मिलापमा चल्नुपर्ने हो। तर, त्यसो हुन सकेको छैन।
गीत–संगीतको आगत–बिगत खोज्ने हो भने लोक संगीतको विधा उत्तिकै चल्तीमा छ नै, एक प्रकारले सुगम संगीत हेरिकन चर्चित पनि छ। पलेँटी सञ्चालनको छाता संस्था नेपालय अन्तर्गतकै नेपथ्य (गायक अमृत गुरुङ)को ट्यागलाइनमै छ: लोक–रक ब्यान्ड। उसोभए पलेँटीले लोकगीत विधाका कुमार बस्नेत जस्ता अग्रज स्रष्टालाई किन सोध्दैन? किन बोलाउँदैन? गफगाफमा जवाफी बनेका थिए आभास, सधैँझैँ।
“शुरूदेखि नै हामी आधुनिक गीतमा जोडियौँ, पलेँटीमा सुगम संगीत ट्यागलाइन बन्यो,” आभास भन्छन्, “फेरि लोकगीत चाहिँ आफ्नै हिसाबले भए पनि बाँचिरहेका छन्। तर, ‘इनोभेटिभ’ हिसाबले लोक गीतलाई पनि केही गर्नुपर्छ भन्ने लाग्छ। जस्तो, ज्ञानु राणा यही पलेँटीमा आएर लोकगीत गाउनुभएको छ। मूल ध्येय चाहिँ अलिकति क्रिएटिभ गीत–संगीतलाई बढी स्थान दिनुपर्छ भनेर हो। लोकगीत अहिले क्रिएटिभभन्दा अलिकति भाँडिएको बाटोमा छ।”
⁎⁎⁎
संगीतकर्मी आभास कवि, लेखक, गायक मात्रै होइनन्, अनुवादकसमेत बनेर उदाएका छन्। उनले हालै बंगाली लेखक शरद्चन्द्र चट्टोपाध्यायको ‘शेष प्रश्न’ कृतिलाई नेपालीमा अनुवाद गरेका छन्। यो विविधतामाझ उनी आफै छोटो कार्यकालका लागि भए पनि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सदस्य सचिवसमेत बने। तर, बाहिर उज्यालोमा बसेर भित्र अँध्यारोका बारेमा औँल्याएजस्तो हरेक ठम्याई त्यति सहज हुन्न— नियम, स्रोत र दायराको परिबन्द आफ्नै हुन्छ।
अर्काइभका निम्ति राज्य तह (एकेडेमी)ले गर्नुपर्ने धेरैजसो कामकाज कतिपय निजी व्यक्ति वा संस्थाले गर्दै आएका छन्। राज्यले गर्ने के त? एकेडेमीका आभास भन्छन्, “हामीले नीजि तहमा व्यक्ति/संस्थाले जे गरिरहेका छौँ, यो आफ्नो तहमा गर्ने हामीले नै हो। यसमा राज्यको लगानी चाहिन्छ भन्ने होइन। बरु लोकभाका, लोकसंगीतका प्रवर्द्धन गर्ने काम एकेडेमीले गर्नुपर्छ। गन्धर्व र गाइनेहरूलाई आजको अवस्थामा राज्यले हेर्न सक्नुपर्छ। भारतमा बाद्यवादन, शाश्त्रीय र लोकसंगीतलाई प्रवर्द्धन गर्दै राज्य तहमा पनि निर्देशित संस्था सञ्चालनमा छन्। तर, हाम्रो राज्यसंस्था भने एकदमै रुखो र संवेदनहीन छ, जहाँ देखावटी मात्रै बाँसुरी फुक्ने काम हुन्छ।”
अब लागौँ, आभासलाई धेरैले लगाउने एउटा ‘चार्ज’तिर। आफ्नो साधना र संगतीमा आभासले सबैभन्दा नजिक राखेका एउटै पात्र छन्— कवि श्रवण मुकारुङ। आभासले श्रवणका मात्रै तीन दर्जनभन्दा गीतमा संगीत भरेका छन्, स्वर दिएका छन्। केही वर्ष अघिमात्रै डा.सुमन थापा (नेत्र चिकित्सक)को सोलो–कन्सर्ट थियो, नेपालयमा। ‘आँखा’ (सङ अफ भिजन) शीर्षक (थिम) राखेर गर्न लागिएको कन्सर्टका बारेमा श्रवणलाई आभासले बताए र, यही भावमा केही गीत लेखिदिन आग्रह गरे। नभन्दै भाव बताउनासाथ श्रवणले लगालग गीत लेखे, आभासले संगीत भरे। अनि, ‘आँखा’ संवेदनमा डा. सुमन र आशा राई (दृष्टीविहीन गायिका)ले गीत सुनाए— चलनचल्तीको ट्र्याकबाट टाढा गएर:
देख्तिन ख्वै यो दुनियाँ
मै हेर्नू कता
तिम्रो बोली सुन्छु जता
त्यतै खोज्छु म त (आशा)
..
मधुमास छ धर्तीमा
तिमी जता हेर
तिम्ले पाइला राख्ने ठाउँमा
म छु यतिखेर (सुमन)
⁎⁎⁎
यसरी बिगु गुम्बाका तामाङ दाइको ‘पीरैपीरको भारी बोकी’ गाए पनि वा कतारी मजदुरको ‘तिमीले मिसकल गर्दा’ भित्र कथा–कहानी बटुले पनि उनै श्रवण आइहाल्छन्। गुँड खोज्दै र बास सर्दै हिँड्ने गौँथलीको संवेदना त छँदैछ, हजुर–हजुरको पुकारामा पनि उनै श्रवण, यो त अचाक्ली नै भएन र?

“श्रवण भावुक कवि मात्रै नभएर आख्यानकार पनि हो। श्रवणका गीतमा सामाजिकता, प्रेम, मानवीय संवेदना सबैथोक हुन्छ। हरेक कुरामा श्रवणसँग मेरो ट्युनिङ मिल्ने गरेको छ,” आफ्नो संगतबारे स्पष्ट सुनिन्छन् आभास, “मलाई श्रवणले दिएको गीतमा एउटै शब्द पनि यताउती गर्नुपर्दैन। श्रवणको गीत आउनासाथ म तुरुन्तै धुन गर्न सक्छु, भर्न सक्छु।” यसरी आभासले श्रवणमाथि निकै चर्को आडभरोसा राखेको रहेछन्।
आभास प्रायजसो कालिकास्थानको नेपालय अड्डामा भेटिन्छन् जसले आफ्नै छायाँछवि जोगाइराख्न भए पनि सुगम–संगीत र पलेँटीमा घाटाको खर्च बेहोर्दै आएको छ। आखिरमा यो घाटाको बिजनेसले कहाँ पुर्याउँछ त? यो पलेँटी कहाँ जान्छ?
बातचितको पलेँटी बिसौनीमा जब आभासलाई सोधियो, उनी फेरि उसैगरी जवाफी बने— कहाँ–कहाँ टाइपको जवाफ लिएर। “पलेँटीले कहीँ पुर्याउँदैन। यसले ठूलो उछलकुद गर्ला जस्तो अहिले पनि लाग्दैन। तर, निरन्तरता पाइरह्यो भने नेपाली संगीतको इतिहासमा थोरै भएपनि स्थान (स्पेस) पाउनेछ भन्ने लाग्छ,” अलिकति आशावादी बनेरै आभासले सुनाए।
हिजोआज सधैँसधैँ टुक्राटुक्रा निद्रा सुत्छु
सिंगो निद्रा सपनी भो, टुक्राटुक्रा निद्रा सुत्छु
(शब्द: बानिरा गिरी, संगीत: आभास, स्वर: फत्तेमान)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
