हामीले अँध्यारो हटायौँ, अब उज्यालोले प्रकृति बरवाद पार्दैछ

आधुनिक बल्ब, बत्ती र चमकधमक प्रकाशको आगमनसँगै, हामीले उज्यालोलाई राति अबेरसम्म फैलाएका छौँ। कुनै समय तारा वा चन्द्रमाको प्रकाशले मात्र छुने स्थानमा पनि प्रकाश पुर्‍याएका छौँ।

लामो समययता बत्ती र उज्यालोजन्य साधन मानव जातिका महानतम् आविष्कारमध्ये एक हो। रातभर बत्ती बालेर अध्येता र अनुसन्धानकर्ताले गहिरो अध्ययन गरेका कथाहरूले उज्यालो कसरी ज्ञान र उपलब्धिको एक अकण्टक साथी बन्यो भनेर याद दिलाउँछ। अहिले आएर उज्यालो/बत्ती पर्व/उत्सव र आनन्दको अविभाज्य तत्त्व बनेको छ। 

तर तेलको दियो, मैनबत्ती र, धेरै पछि, बिजुलीको चिम र एलईडीको आविष्कार हुनुअघि, जगतका प्राणीहरू बाँच्ने सन्दर्भमा यो धर्ती बिलकुलै फरक थियो। करिब तीन वा चार अर्ब वर्षसम्म, चम्किलो दिन र अँध्यारो रातको प्राकृतिक लय पछ्याउँदै यहाँ मान्छे र अन्य प्राणीका जीवन विकसित हुँदै गए।

बेवास्ता गरिएको अँध्यारो
तथापि, आधुनिक बल्ब, बत्ती र चमकधमक प्रकाशको आगमनसँगै हामीले उज्यालोलाई राति अबेरसम्म फैलाएका छौँ। कुनै समय तारा वा चन्द्रमाको प्रकाशले मात्र छुने स्थानमा पनि उज्यालो पुर्‍याएका छौँ। वातावरणविद्हरू यस घटनालाई रातीको कृत्रिम प्रकाश (आर्टीफिसियल लाइट एट नाइट-अलान) को रूपमा अध्ययन गर्छन्, जसले सूर्यास्तपछि पनि कायम रहिरहने मानव निर्मित उज्यालोलाई बुझाउँछ।

सडक बत्ती र कारका हेडलाइनदेखि चम्किलो विज्ञापन बिलबोर्ड, सहरी क्षितिज र पर्वहरूका लाइट डिस्प्ले (सजावट) सम्म, कृत्रिम प्रकाश अब जङ्गल, नदी किनाराका तट र खुला महासागरसम्म पनि पुगेको छ। तर यस्ता व्यवस्थाहरूले धेरै रूपले प्राणीको हिँडडुल, सिकार/भोजन, आराम, बसाइसराइ र प्रजनन प्रक्रियालाई असर पारिरहेको हुन्छ। मान्छेले रचेका यस्ता उज्यालाले जिउने सन्दर्भमा तिनको अस्तित्वमाथि पनि असर पारिरहेको हुन्छ। 

अर्को शब्दमा भन्नुपर्दा, यो कृत्रिम उज्यालोले प्राकृतिक ‘प्रकाश परिदृश्य’लाई अवरोध पुऱ्याउँछ। यसको असर कति खराब हुन्छ भने चराहरू असामान्य समयमा गाउन थाल्छन्, कीराहरू बत्तीको वरिपरि झुम्मिन्छन् र मर्छन्, र निशाचर प्रजाति (रातिमा सक्रिय रहने जीव)हरू बाटो हराएर बिलखबन्दमा पर्छन्।

बसाइँ सरिरहेका चराहरूका लागि चम्किला बत्ती घातक हुन सक्छन्। लामो यात्राको क्रममा दिशा पत्ता लगाउन तारा र चन्द्रमाजस्ता प्राकृतिक सङ्केतहरूमा भर पर्छन् ती चरा। तर मानवले सिर्जना गरेको अधिक उज्यालो आकाशका कारण तारा र चन्द्रमाहरू तिनका लागि छेकिन जान्छन्,  जसले चराहरूलाई दिशाहीन बनाउँछ। क्यानडाको एउटा लाइटहाउसमा, अनुसन्धानकर्ताहरूले एक पटक, एउटै बसाइसराइको मौसममा छ सयभन्दा बढी चराहरूको मृत्यु भएको तथ्य फेला पारेका थिए। (समुन्द्रमा पानीजहाजहरूलाई सहज होस् भनेर ठूलो क्षेत्रसम्म फैलने गरी बनाइएका ठुला बल्बसहितको अग्ला टावर हुन् लाइट हाउस।) 

उत्तर अमेरिका (अमेरिका, क्यानडा, मेक्सिकोलगायत अन्य टापु देश) भर, अनुमानित ४० देखि ५० लाख चरा हरेक वर्ष लाइट हाउस र तिनका तारमा अल्झिएर मर्छन्। उज्यालोका कारण अलमलमा परेपछि आकाशमै ठोकिएरसमेत चरा मर्छन्। यीमध्ये धेरै प्रजाति पहिले नै कम सङ्ख्या/सङ्कटमा रहेका छन् र तिनीहरूमध्ये, संरक्षणको चिन्ता गरिएका २० प्रजाति चराले वार्षिक १०,००० भन्दा बढी सङ्ख्या गुमाउँछन्।

उत्सव र अँध्यारो
भारत (र, सिंगो दक्षिण एसिया) मा कुनै न कुनै रूपमा वर्षभर चराहरूको बसाइसराइ भइरहन्छ। तथापि, जाडो यामको बसाइसराइ विशेष रूपमा महत्त्वपूर्ण हुन्छ, जतिखेर हजारौँ किलोमिटर टाढाबाट चराका प्रजातिहरू यस भेगका तुलनात्मक रूपमा न्यानो क्षेत्रहरूमा आउँछन्। दिल्लीमा मात्रै हरेक वर्ष कम्तीमा १४१ प्रजातिका जाडोमा बसाइँ सर्ने चरा आइपुग्छन्। यस बसाइसराइ किन पनि संवेदनशील छ भने भारतमा दिवाली मनाइरहेका बेला चरा आइपुग्छन्, जतिखेर सहर दियो र मैनबत्तीको कोमल प्रकाशले होइन, आधुनिक एलईडी स्ट्रिङ (झिलिमिली बत्तीयुक्त तार) र फ्लडलाइटहरूको चर्को चमकले उज्यालो हुन्छ।

उत्सवहरूको लागि गरिने सजावटमय बत्ती र प्रमुख उत्सवहरूमा बढ्ने साँझ वा रातका गतिविधिहरू कृत्रिम रातको उज्यालोको विश्वव्यापी ढाँचाका मुख्य चालक भएको संकेत सन् २०२३ को एक अध्ययनले गरेको छ। क्रिसमस, रमजान र दिवाली (तिहार) जस्ता ठुला सामाजिक उत्सवहरूले विश्वव्यापी रातको प्रकाश उत्सर्जनको वार्षिक उच्चतम बिन्दुमा प्रमुख रूपमा योगदान गर्छन्।

भारतमा, विशेष गरी दिल्लीमा, अलान (रातीको कृत्रिम प्रकाश) ले चरामा पर्ने प्रभावहरूबारे अनुसन्धान सीमित रहे पनि, विश्वका अन्य भागबाट प्राप्त प्रमाणहरूले चिन्ताजनक तस्बिर प्रस्तुत गर्छ। उत्सवका समयहरूमा भारतीय सहरहरूमा पनि यस्तै किसिमको अवरोध कायम रहे, बसाइँ सर्ने चराहरूका लागि यसका परिणामहरू गहिरो रूपमा कष्टप्रद हुनेछन्।

आत्म निरीक्षण
दुई प्रमुख अन्तर्दृष्टिका लागि यो आह्वान हो–व्यवहार परिवर्तनको लागि प्रकृतिमैत्री समाधान र प्रकृतिमैत्री प्राविधिक मापदण्ड र उपाय अब खोजिनुपर्छ। सहर योजनाकार, डिजाइनर र नागरिकको रूपमा, हाम्रा नीतिहरूले 'इन्टरडिसिप्लिनरी अप्रोच' अपनाउनुपर्छ: त्यस्तो दृष्टिकोण, जसले सबै मानिसका लागि शहर सहज पनि होस्, र यी भू-दृश्यमा रहेका अन्य प्रजातिहरूको सहजताको पनि ख्याल गरियोस्। 

प्रकाशको प्रकारमा नै परिवर्तन गर्दामात्र चराको मृत्युलाई ८० प्रतिसतसम्म हटाउन सकिन्छ। प्रकाशका स्रोतहरूको तीव्रतालाई तिनीहरूको वास्तविक उद्देश्यअनुरूप मिलाउने हो भने त्यसैबाट प्रकाश प्रदूषणको प्रभाव कम गर्न सकिन्छ। जुन ठाउँ र समयमा उज्यालोको आवश्यकता पर्दैन, त्यहाँ र त्यतिखेर बत्ती नबाल्न सकिन्छ भन्ने अध्ययनहरूले देखाएका छन्। 

उज्यालो छेक्ने ढाल/कभरको प्रयोग र उपयुक्त बत्तीको डिजाइनमार्फत, प्रकाशलाई ठ्याक्कै जहाँ आवश्यक छ त्यहीँ मात्र निर्देशित गर्न सकिन्छ। यसबाहेक, प्रकाशमा रहेका हानिकारक 'ब्लु वेभलेन्थ'हरूको उत्सर्जन कम गर्नु रातीको उज्यालोको पारिस्थितिक प्रभावहरूलाई कम गर्ने दिशामा महत्त्वपूर्ण कदम हो।

वास्तवमा धेरै कुरा गर्न सकिन्छ।

तर परिवर्तनको सुरुवात आफैँबाट सुरु हुनुपर्छ। हामीले आफूलाई इमानदारी पूर्वक सोध्नुपर्छ: के उत्सव मनाउन यस्तो अत्यधिक बत्ती र उज्यालो आवश्यक छ? के हाम्रा चाडपर्व र रीतिरिवाजले अत्यधिक उज्यालो र झिलिमिली-प्रदर्शनीको माग गर्छन्? तमासाभन्दा बढी कुनचाहिँ उद्देश्य पूरा गर्छ यस्तो प्रदर्शनले?

हामीले अँध्यारोको मूल्य नबुझी र नस्विकारी उज्यालोलाई हाम्रा उत्सवहरूको अत्यावश्यक तत्त्व बनाएका छौँ। उज्यालो सँगको हाम्रो यो घनिष्ठतामा हामी विवेकहीन बनेका छौँ।

(द वाइरडटआइएनबाट भावानुवाद गरिएको। गौतम दिल्लीको अम्बेडकर विश्वविद्यालयस्थित ‘सेन्टर फर अर्बन इकोलोजी एन्ड सस्टेनेबिलिटी’मा शोधकर्ता हुन्। उकालोको विचार खण्डमा छापिने सामग्री लेखकका निजी हुन्।)