चितवनसँग विराटनगर ४८ रनले पराजित

१६.५ ओभरमा सबै विकेट गुमाएर १२६ रनमा समेटिएको विराटनगर लगातार चाैथो जित हात पार्नबाट चुक्यो।

काठमाडाैँ– नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ४८ रनले पराजित गरेको छ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा चितवनले दिएको १७५ रनको लक्ष्य विराटनगरको लागि भारी पर्‍यो। १६.५ ओभरमा सबै विकेट गुमाएर १२६ रनमा समेटिएको विराटनगर लगातार चाैथो जित हात पार्नबाट चुक्यो। चितवनको भने यो दोस्रो जित हो।

विराटनगरका लागि लोहर अर्डका मर्चेन्ट डे लाङले ३९ र प्रतिश जिसीले ३० रन बनाए। यस्तै, साम हिजलेटले २२ रन जोडे। विराटनगरका ८ खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

चितवनका रन्जितले ४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिए। यससँगै उनी यो सिजनमा एकै खेलमा ५ विकेट लिने पहिलो बलरसमेत बनेका छन्। यस्तै, कमलसिंह ऐरीले २ तथा सोहेल तनविर, सैफ जैब र कप्तान कुशल मल्लले समान १ विकेट लिए।

यसअघि, टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७४ रन बनाएको थियो। जसमा रवी बोपराले अर्धशतक हिर्काउँदै  ६५, सैफ अली जैबले ३२ र देव खनालले २८, कप्तान कुशल मल्लले अविजित २० रनको योगदान गरे।

विराटनगरका कप्तान सन्दीप लामिछानेले २, मर्चेन्ट डे लाङले २, शुभम रञ्जनेले १ विकेट लिए।