हङकङमा भीषण आगलागी, ४४ जनाको मृत्यु

बुधबार दिउँसो वाङ फुक कोर्टका ३१ तले आवासीय ब्लकमा गरिएको मर्मतसम्भार कार्यका क्रममा बाँकी रहेको ज्वलनशील सामग्रीका कारण आगो फैलिएको बताइएको छ।

हङकङको ताई पो जिल्लास्थित आठ भवन भएको आवासीय कम्प्लेक्समा आगलागी हुँदा मृत्यु हुनेको संख्या ४४ पुगेको छ। आगो नियन्त्रणमा लिन ८०० भन्दा अग्नि नियन्त्रक प्रयासरत छन्। 

फायर सेवाका अनुसार, आगलागीमा सयौँ मानिस बेपत्ता छन्। बुधबार दिउँसो वाङ फुक कोर्टका ३१ तले आवासीय ब्लकमा गरिएको मर्मतसम्भार कार्यका क्रममा बाँकी रहेको ज्वलनशील सामग्रीका कारण आगो फैलिएको बताइएको छ। 

प्रहरीले ‘गम्भीर लापरबाहीका साथ काम गरेको’ आरोपमा तीन जनालाई पक्राउ गरेको छ। घटनास्थल नजिकै फोम प्याकेजिङ फेला परेपछि उनीहरूमाथि अनुसन्धान भइरहेको छ।

बिहीबार बिहानसम्म पनि आगो नियन्त्रणमा आएको छैन। ६५ वर्षीय निवासी युएनले झ्यालहरू मर्मतका कारण बन्द भएकाले धेरै बासिन्दालाई आगो लागेको थाहा पाउन ढिलाइ भएको र छिमेकीले फोन गरेपछि मात्र थाहा पाएको बताए। 

हङकङ अग्निशमन विभागका निर्देशक एन्डी युङका अनुसार मृतकमध्ये ३७ वर्षीय एक अग्नि नियन्त्रक पनि छन्। उनी सहकर्मीसँग सम्पर्क विच्छेद भएको केही समयमै गम्भीर रूपमा जलेको अवस्थामा भेटिएका थिए। सरकारी प्रवक्ताका अनुसार ५६ जना घाइतेको उपचार भइरहेको छ, जसमा केहीको अवस्था गम्भीर छ।

शहरका नेता जोन लीले ९०० भन्दा बढी बासिन्दा अस्थायी आश्रय लिएर बस्नुपरेको जानकारी दिए। राहतकर्मीले बेपत्ता सूची अद्यावधिक गरिरहेकाले वास्तविक संख्या पुष्टि हुन बाँकी रहेको एएफपीले जनाएको छ। 

फायर सर्भिसका उपनिर्देशक डेरेक आर्मस्ट्रङ चानले ‘घटनास्थलको ताप अत्यन्तै उच्च भएकाले केही तलासम्म पुग्न कठिन भएको’ बताए। हावा र भग्नावशेषका कारण आगो एक ब्लकबाट अर्कोमा फैलिएको पनि उनले उल्लेख गरे।

स्थानीय मिडियाका अनुसार, आसपासका केही ब्लक पनि खाली गरिइरहेका छन्। राजमार्गका केही भाग बन्द गरिएका छन् भने ठूलो संख्यामा राहत टोली परिचालन गरिएको छ। 

विगतमा हङकङका घना बस्तीमा यस्ता आगलागी बारम्बार देखिन्थे, तर पछिल्ला दशकमा कडा सुरक्षा मापदण्डले जोखिम घटाएको भए पनि यस पटकको दुर्घटनाले शहर पुनः शोकमा डुबेको छ। (रासस/एएफपी)