गोदाममै थुप्रियो सहुलियतको चामल

एक वर्ष अघिसम्म सरकारी गोदामको चामल माग उच्च रहने उत्तरी गोरखाको सिर्दिबासमा यस वर्ष गोदाममै थुप्रिएको छ।

गोरखा– एक वर्ष अघिसम्म सरकारी गोदामको चामल माग उच्च रहने उत्तरी गोरखाको सिर्दिबासमा यस वर्ष गोदाममै थुप्रिएको छ।

सिर्दिबाससम्म मोटरबाटो पुगेपछि स्थानीयले सरकारीभन्दा पसलको चामल उपभोग गर्न थालेकाले बिक्री घटेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय गोरखाकी प्रमुख रञ्जना केसीले बताइन्।

गत वर्ष दुई हजार क्विन्टल चामल बिक्री भएकोमा यस वर्ष हालसम्म जम्मा ६०० क्विन्टल मात्र बिक्री भएको केसीले जानकारी दिइन्। “विगतमा माग धान्न मुस्किल थियो,” उनले भनिन्, “तर यस वर्ष पहिलो पटक सिर्दिबास डिपोको बिक्री निकै कम भएको छ।”

कम्पनीको सिर्दिबास डिपोमा बिक्री दर झन्डै ५० प्रतिशतले घटेको कम्पनीले जनाएको छ। उपभोक्ताले खाद्यको गुणस्तरीय चामलभन्दा बजारमा पाइने सुलभ र सस्ता चामल रोजेकाले बिक्रीदर घटेको प्रमुख केसीको भनाइ छ।

प्रमुख केसीका अनुसार, खाद्य कम्पनीले उत्तरी गोरखाको चुम्लिङ र नाम्रुङमा पनि बिक्री केन्द्र स्थापना गरेकाले सिर्दिबास डिपोमा बिक्री कम भएको हुनसक्छ।

यसबाहेक, खाद्यको सदरमुकामस्थित शाखा कार्यालयको चामल बिक्री पनि घटेको छ। सदरमुकामको डिपोबाट जिल्ला कारागार र सर्वसाधारणलाई समेत गरी वार्षिक १६ सयदेखि १८ सय क्विन्टल चामल बिक्री हुने गरेको थियो। 

कार्यालयले सोना मन्सुली चामल प्रतिकेजी ६५ रुपैयाँमा र स्टिम जिरा मसिनो चामल प्रतिकेजी ९० रुपैयाँका दरले बिक्री गर्दै आएको छ। यस्तै, सिर्दिबास डिपो तथा चुम्लिङ र नाम्रुङ बिक्री केन्द्रमा भने प्रतिकेजी ९२ रुपैयाँमा बिक्री हुन्छ।