सरकार स्थिर र स्थायी रूपमा चल्छ: केपी ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार बनाउने र गिराउने खेलमा नलाग्ने बताएका छन्।

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष तथा उच्चस्तरीय राजनीतिक समितिका संयोजक केपी शर्मा ओलीले वर्तमान सरकार स्थिर र स्थायी रूपमा चल्ने बताएका छन्।

सोमबार ‘सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम’ सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वर्तमान सरकार स्थिरताका लागि बनाइएको बताएका हुन्। उनले स्थायी सरकार भएकाले प्रभावकारी रूपमा चल्ने बताए। सरकार ढल्छ कि भनेर नसोच्न आग्रह गरे। आफूहरू सरकार बनाउने र गिराउने खेलमा नलाग्ने उनले स्पष्ट पारे।
अध्यक्ष ओलीले कर्मचारीलाई वर्तमान सरकार स्थायी र स्थिर सरकार हो भन्ने ठानेर काम गर्न आग्रह पनि गरे। उनले सरकारलाई नेकपा एमालेले सम्पूर्ण रूपमा साथ, सहयोग र समर्थन दिने स्पष्ट पारे।

"यो सरकार एउटा निकम्मा, निष्क्रिय, शिथिल, यथास्थितिमा रहने होइन। गतिशील स्थायी सरकार हो। त्यस ढंगले यो चल्नेछ", उनले भने, "नेकपा (एमाले) यस सरकार निर्माणमा सबभन्दा ठूलो घटक हो। मेरो पार्टीको सम्पूर्ण रूपमा साथ, सहयोग, समर्थन यस सरकारलाई छ। यो खाली टेम्पोरेरी एरेजमेन्टको कुरा होइन। पर्मानेन्ट सेटलमेन्टको कुरा हो।"

अध्यक्ष ओलीले सरकारलाई विश्वासको मत दिनका लागि संसद्मा भएका सबै राजनीतिक दललाई आग्रह गरे। उनले सरकार निर्माणमा छिटो छिटो राजनीतिक खेल भएको भनिएको भन्दै आफूहरूले छिटो छिटो नभई सुविचारित ढंगले सरकार निर्माण गरेको बताए। उनले वर्तमान सरकार निर्माणका लागि पुस ४ गतेपछिदेखि नै छलफल शुरुआत भएको भन्दै धरै छलफल पछि मात्रै यो सरकार बनाइएको प्रष्ट पारे।

अध्यक्ष ओलीले सरकारप्रति कुनै आशंकाको दृष्टि नराख्न अन्तर्राष्ट्रिय मुलुकलाई आग्रह गरे। उनले सरकारले समस्यारहित छिमेक सम्बन्ध र वैदेशिक नीति सञ्चालन गर्ने बताए। उनले आफूहरू कसैसँग शत्रुता नराखी मित्रता कायम गरेर अगाडि बढ्ने उल्लेख गरे। सरकारको वैदेशिक सम्बन्धलाई सुदृढ बनाउने नीति रहेको उनको भनाइ छ। उनले सरकारले विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने र नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रमअनुसार काम गर्नेमा विश्वास व्यक्त गरे।