काँकडभिट्टाबाट घट्यो चिया निर्यात

साउनयता काँकडभिट्टाबाट ४६ लाख ८८ हजार ९३२ किलो चिया भारततर्फ निर्यात भएको छ। गत आवको सोही अवधिको तुलनामा यो ३७ प्रतिशतले कम हो।

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा १ अर्ब ३७ करोड ३० लाख ७७ हजार रुपैयाँ बराबरको चियाको निर्यात भएको छ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार समीक्षा  अवधिमा ४६ लाख ८८ हजार ९३२ किलोग्राम चिया भारततर्फ निर्यात भएको हो। गत आवको सोही अवधिको तुलनामा यो ३७ प्रतिशतले कम हो। 

गत आवको उक्त अवधिमा २ अर्ब २० करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको चिया निर्यात भएको थियो। यो चालु आवमा ८३ करोड १७ लाख ६२ हजार रुपैयाँले कम हो।