प्रभु सहकारी प्रकरण: देवी भट्टचनसहितलाई प्रतिवादी बनाएर प्रतिवेदन बुझाइयो

प्रभु सहकारीका बचतकर्ताको १ अर्ब सञ्चालकबाटै अपचलन भएकोबारे उकालोले गत साउनमा विस्तृत रिपोर्ट प्रकाशित गरेको थियो।

काठमाडौँ– प्रभु ग्रुपका सञ्चालक देवी प्रकाश भट्टचन जोडिएको प्रभु सहकारी ठगी प्रकरणमा उनीसहितलाई प्रतिवादी बनाएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान प्रतिवेदन बुझाएको छ।

बिहीबार जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँमा सीआईबीले ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन २०५८ अन्तर्गतको कसूरमा भट्टचन, प्रभु म्यानेजमेन्ट प्रालिका तत्कालीन प्रबन्ध निर्देशक कुसुम लामासहितलाई प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन बुझाएको हो। सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले भट्टचन, लामासहितलाई प्रतिवादी बनाएर आफूहरूले प्रतिवेदन बुझाएको स्पष्ट पारे।

प्रभु सहकारीका बचतकर्ताको १ अर्ब सञ्चालकबाटै अपचलन भएकोबारे उकालोले गत साउनमा विस्तृत रिपोर्ट प्रकाशित गरेको थियो।

यही प्रकरणको अनुसन्धान गर्न गत कात्तिक ११ मा सीआईबीले भट्टचनलाई पक्राउ पनि गरेको थियो। तर, कात्तिक २५ मा सरकारी वकिलको कार्यालयले तारेखमा छाड्ने आदेश गरेपछि उनी रिहा भएका थिए।

ठाकुरप्रसाद मानन्धरसमेतले ठगी, आपराधिक विश्वाघात तथा आपराधिक लाभ र नेपाल राष्ट्रबैंक ऐन २०५८ अन्तर्गतको कसूर गरेको भन्दै सीआईबीमा जाहेरी दिएका थिए। यो प्रकरणमा शुरूमा अनुसन्धान गरेको सीआईबीले भट्टचनलाई प्रतिवादी नै नबनाएर अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएपछि असोज ११ मा सरकारी वकिल कार्यालयले थप अनुसन्धान गर्न भन्दै फाइल फिर्ता गरिदिएको थियो। त्यसपछि सीआईबीले थप अनुसन्धान अघि बढाएको थियो। र त्यसैक्रममा भट्टचन पक्राउ परेका थिए।

सीआईबीका एक अनुसन्धान अधिकृतले भने, “हामीले भट्टचनसहित यो प्रकरणमा जोडिएकालाई प्रतिवादी बनाएर प्रतिवेदन बुझाएका छौं। यो हाम्रो प्रस्तावित राय मात्रै हुन्छ सरकारी वकिल कार्यालयले हो मुद्दा चलाउने।”

प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनले कुसुम लामालाई मुख्य साझेदार बनाएर प्रभु मनी ट्रान्सफरको ‘सुपर एजेन्ट’ कम्पनीका रूपमा ‘प्रभु म्यानेजमेन्ट प्रालि’ खडा गरेका थिए। उक्त प्रालिको सब एजेन्टको रूपमा नियुक्त भएका देशभरका विभिन्न सहकारी संस्थाहरूले सम्बन्धित व्यक्तिलाई विप्रेषण बापतको रकम भुक्तानी गर्दै आएका थिए। तर, प्रभु मनि ट्रान्सफर प्रालिका अध्यक्ष देवी प्रकाश भट्टचन समेतले रकम हिनामिना गरी प्रभु म्यानेजमेन्ट प्रालिबाट सम्बन्धित सहकारी संस्थाहरूलाई रकम सोधभर्ना गरेनन्। रकम सोधभर्ना नगरिएपछि सब–एजेन्टको रूपमा नियुक्त भएका देशभरका ३ दर्जनभन्दा बढी सहकारीहरूको तर्फबाट ठाकुरप्रसाद मानन्धरसमेतले प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामा र भट्टचनसमेतलाई विपक्षी बनाएर सीआईबीमा उजुरी दिएका थिए। तर, तत्कालीन समयमा सीआईबीले उजुरी अनुसन्धान नगरेर लामालाई मात्रै प्रतिवादी बनाएर मुद्दा लगेको थियो।

सरकारी वकिल कार्यालयले अनुसन्धान प्रतिवेदन पूर्ण नभएको टिप्पणीसहित फिर्ता पठाएपछि भट्टचन पनि अनुसन्धानको दायरामा आएका थिए। सब–एजेन्ट रहेका सहकारीले एकातिर सीआईबीमा जाहेरी दिए भने यता कुसुम लामाले भट्टचनलगायतलाई प्रतिवादी बनाएर २०८१ असोज ९ मा जिल्ला प्रहरी परिसर काठमाडौँमा ठगी तथा आपराधिक लाभसम्बन्धी जाहेरी लिएर पुगेकी थिइन्। तर, परिसरले जाहेरी नै दर्ता गरेन र त्यसपछि उनले असोज ११ मा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा जाहेरी दरखास्त दर्ता गरिपाउँ भन्दै निवेदन दिएकी थिइन्। सोही दिन सरकारी वकिलको कार्यालयले जाहेरी दरखास्त आवश्यक कार्यार्थ भनेर पत्र लेखेको थियो।