काठमाडौँको फराकिलो जित, चितवन ८९ रनमै ‘अलआउट’

एनपीएलमा काठमाडौँ गुर्खाजले चितवन राइनोजलाई ५३ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौँ गुर्खाजले चितवन राइनोजलाई पराजित गरेको छ। शुक्रबार भएको दिनको पहिलो खेलमा काठमाडौँले चितवनलाई ५३ रनको फराकिलो अन्तरले पराजित गरेको हो।

काठमाडौँले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवन १७.२ ओभरमा ८९ रनमा अलआउट भयो। चितवनका लागि रवि भोपरा र देव खनालले समान २१ रन बनाए भने सोहेल तनवीरले १८ रन जोडे। चितवनका अरू ब्याटरले भने दोहोरो अंक छुन सकेनन्।

बलिङतर्फ काठमाडौँका राशिद खानले सर्वाधिक ३ विकेट लिए। त्यस्तै, करण केसी, मिलिन्द कुमार र शहाव आलमले २/२ विकेट बाँडे भने सन्तोष यादवको नाममा १ विकेट रह्यो।

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले १९.४ ओभरमा सबै विकेट गुमाएर १४२ रन बनाएको थियो। काठमाडौँका लागि जोन सिम्प्सनले सर्वाधिक ६० रन र मिलिन्द कुमारले ३८ रनको योगदान गरे। बेन चार्ल्सवर्थले पनि १३ रन जोडे।

बलिङतर्फ चितवनका सोहेल तनवीरले सर्वाधिक ४ विकेट लिए। त्यस्तै, कमल सिंह ऐरी र रञ्जित कुमारले २/२ विकेट लिए। रवि भोपराको नाममा १ विकेट रह्यो।

करण केसीको कप्तानीमा रहेको काठमाडौँले पाँचमध्ये तीन खेलमा जित हासिल गर्दै ६ अंकसहित तेस्रो स्थानमा उक्लियो। कुशल मल्लको कप्तानीमा रहेको चितवन चार खेलबाट चार अंकका साथ अंक तालिकाको चौथो स्थानमा झरेको छ।

यस्तै, शुक्रबारको दोस्रो खेलमा कर्णाली र विराटनगर मैदानमा उत्रनेछन्।