विदेशी नागरिक व्यवस्थापन प्रणाली कसरी गरिँदै छ कार्यान्वयन?

विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली काठमाडौँ उपत्यकाका तारे होटलबाट शुरू गरी विमान कम्पनी, ट्राभल्स एजेन्सी, मनी एक्सचेन्जर हुँदै अन्य सार्वजनिक तथा निजी सेवामा क्रमशः लागू गरिने अध्यागमन विभागले जनाएको छ।

काठमाडौँ– अध्यागमन विभागले पुस १७ गतेदेखि विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ।

यसका लागि विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सबै सार्वजनिक संस्था र निजी कम्पनीलाई यस प्रणालीमा अनिवार्य रूपमा आबद्ध हुन अनुरोध गरेको छ। विभागले बिहीबार सूचना जारी गर्दै प्रणाली लागू गर्ने विषयमा विभागले गत असोज १ गतेदेखि लागू हुने गरी कार्य योजना तयार पारेको भए पनि मुलुकको विभिन्न घटनाक्रमका कारण कार्यान्वयन हुन नसकेको जनाएको छ।

यस प्रणालीको कार्यान्वयनमार्फत नेपाल प्रवेश गर्ने विदेशी नागरिकको बसाइ तथा उनीहरूको गतिविधिसम्बन्धी व्यवस्थित अभिलेख राख्ने र आपत्कालीन अवस्थामा खोज, उद्धार तथा सुरक्षा सुनिश्चित गर्न सहज हुने विश्वास लिइएको छ। यसका साथै सुरक्षा निकाय, पर्यटन व्यवसायी तथा सरोकारवाला अन्य निकायबीच सूचना आदानप्रदान प्रक्रियालाई सरल र प्रभावकारी बनाइ पर्यटन क्षेत्रको सुरक्षित र व्यवस्थित विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नेपालमा भ्रमण गर्ने विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (फरेन नेश्नल्स म्यानेजमेन्ट इन्फमेसन सिस्टम)को विकास गरिएको हो।

सो प्रणालीलाई पहिलो चरणमा पुस १७ गतेदेखि काठमाडौँ उपत्यकाभित्रका तारे होटलमा अनिवार्य रूपमा लागू गरिनेछ। दोस्रो चरणमा फागुन १७ देखि देशभित्रका सबै तारे होटल, विमान कम्पनी, टुर्स एन्ड ट्राभल्स कम्पनी, मनी एक्सचेन्जरमा र क्रमशः सबै प्रकारका होटल, गेस्ट हाउस र अन्य सार्वजनिक तथा निजी संस्थाबाट प्रवाह हुने सेवामा लागू गरिने बताइएको छ।