कर्णालीमाथि विराटनगरको रोमाञ्चक जित

एनपीएलअन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा विराटनगरले कर्णालीलाई तीन विकेटले पराजित गर्‍यो।

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा कर्णाली यक्समाथि विराटनगर किंग्सले रोमाञ्चक जित हात पारेको छ। विराटनगरले कर्णालीलाई ३ विकेटले पराजित गरेको हो। 

कर्णालीले जितका लागि दिएको १६१ रनको लक्ष्य विराटनगरले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो।

विराटनगरको जितमा बसिर अहमदको अर्धशतकीय इनिङ्स निर्णायक रह्यो। जितका लागि अन्तिम दुई बलमा विराटनगरलाई चार रन चाहिएको थियो।

बसिरले कर्णालीका नन्दन यादवको बललाई छक्का प्रहार गरी टोलीलाई जित दिलाए। उनले ४३ बलमा तीन-तीन चौका र छक्काको मद्दतले ६२ रन बनाए।

त्यस्तै, नारायण जोशीले २५ रन, साहिल पटेलले १९ र साम हिजलेटले १६ रन जोडे।

कर्णालीका लागि बलिङतर्फ सोमपाल कामी र गुल्सन झाले समान २/२ विकेट लिए। त्यस्तै, पवन सराफ, नन्दन यादव र विलियम बोसिस्टोका नाममा १/१ विकेट रह्यो।

यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको कर्णालीले २० ओभरमा ३ विकेट गुमाएर १६० रन बनाएको थियो।

कर्णालीका लागि प्रियान्क पञ्चालले सर्वाधिक ६३ रन र विलियम बोसिस्टोले अविजित ४८ रनको योगदान गरे। यी दुवै ब्याटरले दोस्रो विकेटका लागि ९६ रनको साझेदारी गरे पनि जितका लागि पर्याप्त भएन। त्यस्तै, गुल्सन झाले २० र नजिबुल्लाह जद्रानले १२ रन जोडे।

विराटनगरका लागि कप्तान सन्दीप लामिछाने र मर्चेन्ट डे लाङ्गेले १/१ विकेट लिए।

अंक तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले पाँच खेलबाट ८ अंक जोडेको छ। चार खेलमध्ये एक खेल जितेर दुई अंक जोडेको कर्णाली पाँचौँ नम्बरमा छ।

शुक्रबार नै भएको दिनको पहिलो खेलमा काठमाडौँ गुर्खाजले चितवन राइनोजलाई ५३ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।