शीतलहरले तराईमा रातिभन्दा दिउँसोको तापक्रम कम, विज्ञ भन्छन्- अझै १५ दिन घाम लाग्दैन

नेपालगञ्ज, भैरहवा, सिमरा, जनकपुरलगायत तराई क्षेत्रमा दिउँसोको अधिकतम तापक्रम रातिको भन्दा कम छ, जसले गर्दा चिसो बढेर जनजीवन प्रभावित भएको छ। यी ठाउँमा अझै १५ दिन घाम नलाग्ने मौसमविद्हरूको भनाइ छ।

वीरगन्ज आदर्शनगरमा मंगलबार बिहान। तस्वीर : उकालो

काठमाडौँ- मध्य तथा पश्चिम तराई क्षेत्रमा चलेको शीतलहर अझै केही दिन लम्बिने र चिसो झनै बढ्ने विज्ञहरुले बताएका छन्। शीतलहरका कारण अहिले तराईको जनजीवन प्रभावित भएको छ।

त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागले तराई क्षेत्रको मौसम खुल्न अझै १५ दिनभन्दा बढी समय लाग्ने जनाएको छ। “कुहिरो हट्नका लागि हावामा मोइस्चर (बाफ) चाहिन्छ। नेपालमा उत्तर पश्चिमबाट आइरहेको हावामा कुहिरो हटाउन सक्ने पर्याप्त बाफ छैन,” विभागका सह प्रध्यापक डा. विनोद पोखरेलले भने “कुहिरो हट्नका लागि पृथ्वीको भू-सतह तातो र वायुमण्डल चिसो हुनुपर्छ। अहिले ठ्याक्कै उल्टो भएको छ। त्यसैले कुहिरो लागेको छ।”

उनका अनुसार तत्काल वर्षाको सम्भावना नभएकाले कुहिरो हट्न समय लाग्छ। हिउँदमा पश्चिमी वायुको प्रभावका कारण हिउँदे वर्षा हुनुपर्ने भए पनि पाकिस्तान र अफगानस्तानबाट आइरहेको वायु कमजोर भएका कारण हिउँदे वर्षाको सम्भावना तत्काल देखिँदैन। 

फाइल तस्वीर

नेपालगञ्ज, भैरहवा, सिमरा, जनकपुरलगायत तराई क्षेत्रमा दिनको तापक्रम रातिको भन्दा कम छ, जसले गर्दा चिसो बढेको छ। सहप्रध्यापक पोखरेलका अनुसार नेपालगञ्जमा पुस २१ र २३ गते दिउँसको तापक्रम अहिलेसम्मकै कम रेकर्ड भएको छ। पुस २१ गते नेपालगञ्जमा दिउँसोको अधिकतम् तापक्रम १२ र २३ गते १० डिग्रि सेल्सियस रेकर्ड गरिएको छ।

नेपालगञ्ज, भैरहवा, सिमरा, जनकपुर, विराटनगरलगायत स्थानमा शितलहर चलिरहेको छ। जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार लगातार दुई दिनसम्म सरदर तापक्रमभन्दा अधिकतम तापक्रमको फरक ५ डिग्रि सेल्सियस थियो। अधिकतम र न्यूनतम तापक्रमको फरक ५ डिग्रिभन्दा कम मात्रै फरकको अवस्थालाई शीतलहर भनिन्छ। शीतलहरका कारण हरेक वर्ष तराईमा धेरैले ज्यान गुमाउने गरेका छन्। 

राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०६८ सालदेखि अहिलेसम्म शीतलहरले ११६ जनाको मृत्यु भएको छ। शीतलहरका कारण सबैभन्दा बढी रौतहटमा ६३ जनाले ज्यान गुमाएका छन्। त्यसैगरी, सप्तरीमा १९ तथा महोत्तरीमा १५ जनाले ज्यान गुमाएका छन्।

मंगलबार बिहान सुनसरीको इनरूवामा बाक्लो हुस्सु लागेपछि लाइट बालेर गुडेको सवारी साधन। तस्वीर: रासस

जाडोको समयमा जमिन नजिक र जमिनसँग छोइएको तल्लो तहमा सानो क्षेत्रको हावाको तह चिसो हुन्छ। तुलनात्मक रूपमा त्योभन्दा माथिको हावा तातो हुन्छ। तातो हावाले जमिनको हावालाई रोकिदिन्छ, जसले गर्दा प्रदूषण, धुलो, धुँवा, जलवास्प माथि उड्न नपाएर एउटा तहमा थेग्रिएर बस्छ। जसले गर्दा कुहिरो लाग्छ। त्यसलाई नै ‘टेम्प्रेचर इन्भर्सन’ भनिने पौडेल बताउँछन्।

तापक्रम बढ्दै गएर हावा चल्न थालेपछि कुहिरोको अवस्था हराउने पौडेलको भनाइ छ।  “कठमाडौँको तापक्रम वृद्धि भएका कारण तीन दिनदेखि काठमाडौंको आकास खुला देखिएको छ। तराईमा अझै त्यो अवस्था छैन। बिहान विहान कुहिरो लाग्छ”, उनले भने।

कहिलेदेखि शुरू भयो हिउँदमा कुहिरो?
नेपालको तराई क्षेत्रमा हिउँदमा कुहिरो लाग्न कहिलेदेखि शुरू भयो भन्ने यकिन तथ्यांक छैन। जल तथा मौसम विज्ञान विभागका अनुसार सन् १९९८ देखि तराई क्षेत्रमा शीलहर रेकर्ड गर्न थालिएको हो। भारतको राजस्थान युनिभर्सिटीका प्रध्यापक एवम् भारतीय मौसम विभागमा लामो सयम काम गरेका डा. सोमेश्वर दास भने नेपालको तराई क्षेत्रमा हिउँदको समयमा ५०, ६० वर्ष अघिदेखि कुहिरो लाग्ने गरेको बताउँछन्।

मंगलबार विराटनगरको सडकमा भक्का खाँदै स्थानीय। तस्वीर: रासस

त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्रध्यापक डा.पोखरेल भने ‘फग फर्मेसन’को विषयमा अध्ययन नै नभएको बताउँछन्। “विस्तृत अध्ययन नै छैन। अध्ययनबिना कहिलेदेखि शुरू भयो, अवस्था कस्तो थियो केही भन्न सकिन्न”, उनी भन्छन्, “जबसम्म वैज्ञानिक अध्ययन हुँदैन, ठूलो लगानी गरेर उपकरण राखेर पनि प्रतिफल प्राप्त गर्न सकिन्न। वैज्ञानिक अनुसन्धानको आवश्यकता छ।”

बुद्ध एयरका विमान चालक लेखनाथ पोखरेलले इनरुटको मौसमसम्बन्धी जानकारी नहुँदा उडानको समयमा समस्या हुने बताउँछन्। “काठमाडौँबाट भैरहवाको भिजिबिलिटी ठीक छ भनेर उड्यो। ल्याण्ड गर्ने समयमा भिजिबिलिटी नभएर कैयौँपटक फर्कनुपरेको छ। यसले समय र पैसाको बर्बाद भएको छ। यात्रुले पनि दु:ख पाएका छन्। कम्तिमा पनि तीन दिनसम्मको कुहिरोबारे जानकारी दिने व्यवस्था हुनुपर्छ”, पोखरेल भन्छन्, “मौसम विज्ञानमा बलियो हुँदा हाम्रो हवाई क्षेत्र थप विश्वासिलो र भरपर्दो हुन्छ।”