विश्वासको मत लिँदै प्रधानमन्त्री दाहाल

बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने तयारी गरेका छन्। 

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार (आज) विश्वासको मत लिँदै छन्।

बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिने तयारी गरेका हुन्। दाहाल संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री बनेका हुन्। यसरी प्रधानमन्त्री बनेको व्यक्तिले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

नयाँ प्रतिनिधिसभाको पहिलो बैठक सोमबार बसेको थियो। संसद् शुरू भएको भोलिपल्टै दाहालले विश्वासको मत लिन लागेका हुन्। प्रधानमन्त्री दाहाललाई एमालेका ७९, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, जनमतका छ र नागरिक उन्मुक्तिका चार सांसदले विश्वासको मत दिने निश्चित छ।

नेपाली कांग्रेस र एकीकृत समाजवादीले मंगलबार बिहान निर्णय गर्ने जनाएका छन्। प्रधानमन्त्री दाहालले केही स्वतन्त्र सांसदको पनि मत पाउने सम्भावना छ।