लुम्बिनी सरकारमा दाबी पेस गर्ने सत्ता गठबन्धनको तयारी, एमालेका लीला गिरी मुख्यमन्त्री बन्दै

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनका लागि पुस २७ सम्म समय दिएका थिए। त्यसको एक दिन अगाडी सत्ता गठबन्धनले दाबी पेस गर्न लागेको छ।

काठमाडौँ– लुम्बिनी प्रदेश सरकारको नेतृत्वमा मंगलबार सत्ता गठबन्धनले दाबी पेस गर्ने तयारी गरेका छन्। गठबन्धनबाट नेकपा एमाले संसदीय दलका नेता लीला गिरीले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गर्ने तयारी छ। 

प्रदेश प्रमुख शेरचनले पुस २७ सम्म समय दिएका थिए। त्यसको एक दिन अगाडी गठबन्धनले दाबी पेस गर्न लागेको हो। यसअघि सोमबार गठबन्धन दलको बैठकले मंगलबार मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्ने निर्णय गरेको थियो।

सत्ता साझेदार दल र स्वतन्त्र दुई जनासहित ५५ जना सांसदको समर्थनमा दाबी पेस गर्ने तयारी छ। लुम्बिनी प्रदेशको नेतृत्व पाँच वर्ष नै एमालेले लिने गठबन्धनमा सहमति भएको छ। ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सांसदको समर्थन चाहिन्छ।