इजरायली प्रधानमन्त्री नेतान्याहूले राष्ट्रपतिसँग माफीका लागि गरे गुहार, यस्ता छन् उनीविरुद्ध मुद्दा

राष्ट्रपति आइज्याक हर्जोगले नेतान्याहूले गरेको 'असाधारण अनुरोध'लाई विचार गर्नुअघि कानूनिविद‍्हरूको राय लिने बताएका छन्।

फाइल तस्वीर: इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग कुरा गर्दै त्यहाँका प्रधानमन्त्री नेतान्याहू।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफू विरुद्धको भ्रष्टाचार मुद्दामा राष्ट्रपति इसहाक हर्जोगसँग औपचारिक रूपमा माफी मागेका छन्।

राष्ट्रपति कार्यालयले राष्ट्रपति आइज्याक हर्जोगले यो 'असाधारण अनुरोध'लाई विचार गर्नुअघि कानूनिविद‍्हरूको राय लिने जनाएको छ। विगत पाँच वर्षदेखि, नेतान्याहू तीन अलग-अलग मुद्दाको सामना गरिरहेका छन्।

उनीमाथि घूसखोरी, ठगी र विश्वास उल्लंघनको आरोप लागेको छ, यद्यपि नेतान्याहूले ती आरोपहरूलाई अस्वीकार गर्दै आएका छन्। नेतान्याहूले एक भिडियो सन्देशमार्फत उनी कानुनी प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन चाहने, तर यो राष्ट्रिय हितमा नहुने बताएका छन्।

यसैबीच, इजरायली विपक्षी दलहरूले माफी माग्नुअघि नेतान्याहूले आफ्नो अपराध स्वीकार गर्नुपर्ने बताएका छन्।

गत नोभेम्बरको शुरूमा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली राष्ट्रपति हर्जोगलाई नेतान्याहूलाई पूर्ण माफी दिन अपील गरेका थिए।

त्यतिबेला हर्जोगले कुनै पनि व्यक्तिले औपचारिक रूपमा माफीको लागि अनुरोध गर्नुपर्ने बताएका थिए। आइतबार, राष्ट्रपति कार्यालयले नेतान्याहूको अनुरोधको घोषणा गर्‍यो र उनले लेखेको पत्र जारी गर्‍यो। अहिलेसम्म राष्ट्रपति कार्यालयले यसबारे राष्ट्रपतिले कहिले निर्णय लिन्छन् भनेर बताएको छैन।

उनीविरुद्धका तीन मुद्दा
सन् २०२० मा, नेतान्याहू पदमा रहँदा मुद्दाको सामना गर्ने पहिलो इजरायली प्रधानमन्त्री बने। महान्यायाधिवक्ता अभिखाई मन्डोब्लिटले फेब्रुअरीमा तीनवटा विषयमा नेतान्याहूमाथि मुद्दा चलाउन चाहेको बताएका थिए।

आफ्नो निर्णय घोषणा गर्दै उनले भनेका थिए, "मैले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई तीनवटा आरोपमा मुद्दा चलाइने जानकारी गराएको छु। जब एक महान्यायाधिवक्ताले गम्भीर भ्रष्टाचारको आरोपमा बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा चलाउने कुरा गर्छन् तब यो दुःखद हुन्छ।"

नेतान्याहू विरुद्धका मुद्दाहरूलाई मुद्दा १,०००, २,००० र ३,००० भनेर चिनिन्छ। तीनवटै मुद्दा विचाराधीन थिए र अन्तिम सुनुवाइ गत महिना भएको थियो।

मुद्दा १,००० मा, नेतान्याहूलाई धोखाधडी र विश्वास उल्लंघनको आरोप लगाइएको छ। उनीमाथि एक धनी साथीबाट गुलाबी शैम्पेन र सिगार जस्ता महँगा उपहारहरू स्वीकार गरेको आरोप लगाइएको छ। नेतान्याहूले यी उपहारहरू केवल मित्रताको मामिला भएको र कुनै अनुचित उपहारको बदलामा स्वीकार नगरेको दाबी गर्छन्। नेतान्याहूका साथीले यस्ता कुनै पनि आरोप अस्वीकार गरेका छन्।

मुद्दा २,००० मा धोखाधडी र विश्वास उल्लंघन पनि समावेश छ। नेतान्याहूमाथि आफ्नो पार्टीलाई बढ्दो कभरेज प्रदान गर्न र आफ्नो प्रतिद्वन्द्वी पार्टीलाई कमजोर बनाउन एक प्रमुख अखबारको प्रकाशकसँग सम्झौता गरेको आरोप छ। यस मुद्दामा, नेतान्याहू र अखबार प्रकाशकले आरोपहरू अस्वीकार गरेका छन्।

मुद्दा ३,००० तीनवटा मुद्दामध्ये सबैभन्दा गम्भीर हो, र नेतान्याहूलाई घूस लिएको, साथै विश्वास उल्लंघन र ठगी गरेको आरोप लगाइएको छ।

बेन्जामिन नेतान्याहूले यी सबै आरोपहरूलाई 'राजनीतिक षड्यन्त्र' भनेका छन् र आफू विरुद्धका मुद्दाहरूलाई आफ्ना राजनीतिक विरोधीहरूलाई 'निशाना बनाउने प्रयास' भनेर वर्णन गरेका छन्।

आइतबार जारी गरिएको एक विज्ञप्तिमा उनले आफू विरुद्धको मुद्दा कमजोर भएको दाबी गरे र यो प्रक्रियाले देशलाई भित्रबाट विभाजित गरिरहेको पनि बताए।

उनले भने, "मुद्दाको तत्काल अन्त्यले देशमा तनाव कम गर्न र बृहत्तर पारस्परिक समझदारीलाई प्रवर्द्धन गर्न मद्दत गर्नेछ, जुन देशलाई अत्यन्त आवश्यक छ।"