महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने कांग्रेसको निर्णय

कांग्रेसले १५औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ।

काठमाडौँ– लामो समयदेखिको रस्साकस्सीपछि नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने सहमति जुटाएको छ।

सोमबार सम्पन्न केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशन कार्यतालिका प्रस्तुत गरेकोका थिए। कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पार्टीको १५औँ महाधिवेशन पुस २६, २७ र २८ गते गर्नेगरी केन्द्रीय समितिमा पेश भएको कार्यतालिका पारित भएको बताए। महाधिवेशनको मितिमा सहमति जुट्न नसक्दा कांग्रेस केन्द्रीय समितिको बैठक पटक–पटक स्थगित हुँदै आएको थियो।

कार्यतालिकामा नयाँ क्रियाशील सदस्य वितरण मंसिर २० गतेभित्र गरिसक्ने उल्लेख छ। त्यस्तै, मंसिर २४ गतेसम्म क्रियाशील सदस्यता नवीकरण टुंगो पुर्‍याउने र पुस ८ गतेसम्म नयाँ क्रियाशील सदस्यसम्बन्धी सबै काम सम्पन्न गर्ने तालिका तय भएको छ। नयाँ क्रियाशील सदस्य वितरणमा समावेशी, युवा तथा पार्टीमा प्रवेश गरेकालाई समेट्ने निर्णय भएको प्रवक्ता महतले बताए। 

पुस १५ गतेभित्र जनसम्पर्क समितिको अधिवेशन, पुस १६ गते गाउँ तथा नगर वडा अधिवेशन, पुस १७ गते गाउँ तथा नगरपालिका अधिवेशन, पुस १९ गते प्रदेश क्षेत्रीय अधिवेशन, पुस २१ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाको समेत अधिवेशन गर्ने कार्यतालिका पारित भएको हो।

त्यस्तै, पुस २२ गते एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन तथा पुस २३ र २४ गते सातै प्रदेश अधिवेशन गर्ने निर्णय भएको उनले बताए।

विशेष महाधिवेशन पक्षधर नेताहरूको भावनासमेत सम्बोधन हुनेगरी सहमति भएको कांग्रेस प्रवक्ता महतको भनाइ छ। महाधिवेशनको कार्यतालिका पारित भएसँगै मंसिर २३ गते म्याद सकिने शेरबहादुर देउवा नेतृत्वको वर्तमान कार्यसमितिको म्याद माघ मसान्तसम्म थपिएको छ।