एसीसी यू१९ प्रिमियर कपको उपाधि यूएईलाई, नेपाल २७ रनले पराजित

नेपाललाई २७ रनले पराजित गर्दै आयोजक यूएईले एसीसी पुरुष यू१९ प्रिमियर कप क्रिकेटको उपाधि जितेको छ।

काठमाडौँ– संयुक्त अरब इमिरेट्स (यूएई) मा सम्पन्न एसीसी पुरुष यू१९ प्रिमियर कप क्रिकेटको उपाधि जित्न नेपाल असफल भएको छ। नेपाललाई २७ रनले पराजित गर्दै आयोजक यूएईले उपाधि जितेको हो।

फाइनलमा यूएईले दिएको १४८ रनको लक्ष्य पछ्याएको नेपाल ३३.२ ओभरमा १२० रनमा अलआउट भयो। नेपालका लागि कप्तान अशोक धामीले सर्वाधिक ३४ रन बनाए। आशिष लुहार र रोशन विश्वकर्माले समान २५–२५ रनको योगदान गरे पनि त्यो जितका लागि पर्याप्त भएन।

यूएईका युगजै शर्मा र अली असगर शम्सले तीन-तीन विकेट लिए।

यसअघि अजमानस्थित करवान मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आयोजक यूएई ४५.५ ओभरमा १४७ रनमा अलआउट भयो। जसमा अहमद खुदादादले सर्वाधिक ७१ रन बनाए।

नेपालका बलरहरू दयानन्द मण्डलले ६ विकेट, अपराजित पौडेलले २ विकेट, र कप्तान अशोक धामी तथा नितेसकुमार पटेलले एक–एक विकेट लिए।

यद्यपि, नेपाल र यूएई दुवै एशिया कपका लागि यसअघि नै छनोट भइसकेका थिए। प्रतियोगिताको फाइनलमा पुग्ने टोली सिधै यू१९ एशिया कपमा छनोट हुने प्रावधान थियो। यू१९ एशिया कप आगामी डिसेम्बरमा यूएईमै आयोजना हुँदैछ।