भूमि आयोग खारेज गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर

सर्वोच्च अदालतले भूमि आयोग खारेज गर्ने सरकारको निर्णयलाई चुनौती दिँदै आयोगका अध्यक्ष हरिप्रसाद रिजालले दायर गरेको रिट जारी गर्ने फैसला सुनाएको छ।

काठमाडौँ– भूमि आयोग खारेज गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ।

न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले सोमबार आयोगका अध्यक्ष हरिप्रसाद रिजालले दायर गरेको रिट जारी गर्ने फैसला सुनाएको हो।

मन्त्रिपरिषद्को गत असोज २३ गतेको बैठकले भूमि समस्या समाधान आयोग र त्यसका जिल्ला समिति खारेज गर्ने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध अध्यक्ष रिजालले कात्तिक ९ गते सर्वोच्चमा रिट दायर गरेका थिए।

उक्त रिटमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो, जसलाई पछि अन्तरिम आदेशमा निरन्तरता दिइएको थियो।