जेनजी आन्दोलनमा लुटिएका हतियारसहित ३ जना पक्राउ

प्रहरीले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारसहित तीन जनालाई पक्राउ गरेको छ।

काठमाडौँ– नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारसहित तीन जनालाई पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा विभिन्न प्रहरी कार्यालयबाट लुटिएका हतियारसहित तीन जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो। 

पक्राउ पर्नेमा काठमाडौँ कलंकीका २८ वर्षीय रसिल जोशी, दार्चुला घर भई काठमाडौँको सुन्धारा बस्ने १९ वर्षीय डेबिड भन्ने रामचन्द्र कुँवर र काठमाडौँ बाफलका ३१ वर्षीय विराटप्रसाद जोशी छन्।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले आन्दोलनका क्रममा प्रहरीका हतियार लुटपाट गरी लुकाइराखेको विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए।

प्रहरीले पक्राउ परेकासँग नेपाल प्रहरी लेखिएको पेस्तोल एक थान र विभिन्न कम्पनीका मोबाइल दुई थान बरामद गरेको छ। पक्राउ रसिल जोशी लागुऔषध मुद्दामा प्रहरी वृत्त स्वयम्भूमा थुनामा रहेको अवस्थामा जेनजी आन्दोलनको मौका छोपेर भागेको अनुसन्धानमा खुल्न आएको प्रवक्ता आचार्यले बताए।

पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको सो कार्यालयले जनाएको छ।