मधेश प्रदेशका मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत

उनले आज प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भनेकामा आफ्नो मन्तव्य राख्दै विश्वासको मत नलिई बैठकबाटै राजीनामा दिएको घोषणा गरेका थिए।

काठमाडाैँ– मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशप्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष बुझाएको राजीनामा स्वीकृत भएको छ।

आज प्रदेशप्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको धारा १६९ उपधारा (१) को खण्ड (क) अनुसार मुख्यमन्त्री पदबाट दिनुभएको राजीनामा आज प्रदेश प्रमुखले स्वीकृत गर्नुभएको छ।”

प्रदेशप्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जारी गरेको विज्ञप्तिमा अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई प्रदेशको मन्त्रिपरिषद्को कार्यभार सञ्चालन गर्न तोकिएको व्यहोरा उल्लेख गरिएको छ।

मुख्यमन्त्री यादवले आज प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भनेकामा आफ्नो मन्तव्य राख्दै विश्वासको मत नलिई बैठकबाटै राजीनामा दिएको घोषणा गरेका थिए। उनले मन्तव्य राखिरहँदा ७ राजनीतिक दलका सांसदहरू बैठकबाट बाहिरिएका थिए।