पोखरालाई १३ रनले पराजित गर्दै काठमाडौँ‍ प्लेअफमा

पोखरा एभेन्जर्सलाई १३ रनले पराजित गर्दै काठमाडौँ गोर्खाज ७ खेलबाट १० अंकसहित प्लेअफमा पुगेको छ।

काठमाडौँ– दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत बिहीबार भएको पहिलो खेलमा काठमाडौँ गोर्खाजले पोखरा एभेन्जर्सलाई १३ रनले पराजित गरेको छ।

यो जितसँगै काठमाडौँ ७ खेलबाट १० अंकसहित प्लेअफमा पुगेको छ। काठमाडौँ प्लेअफमा पुग्ने दोस्रो टोली हो। यसअघि, सुदूरपश्चिम रोयल्सले पनि प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ।

यता, ६ खेलबाट ४ अंक मात्रै जोडेको पोखरा भने लिग चरणबाट बाहिरिने अवस्थामा पुगेको छ।

बिहीबार भएको खेलमा काठमाडौँले दिएको १६६ रनको लक्ष्य पछ्याएको पोखराले १५२ रनको योगफलमा सीमित रह्यो। 

पोखराका लागि ऋषि धावनले अर्धशतकीय इनिङ्स खेल्ने क्रममा ३१ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ५४ रनको योगदान दिए। 

अन्य ब्याट्सम्यानतर्फ धनञ्जय लक्षनले ३०, कुशल भुर्तेलले २२ र जेशन रोयले १६ रन बनाए। बाँकी खेलाडी भने दोहोरो अंकमा रन जोड्न असफल रहे।

बलिङतर्फ काठमाडौँका शाहब आलमले ह्याट्रिकसहित ६ विकेट लिँदै टोलीलाई जित दिलाए। त्यस्तै, किरण केसी र सन्नी पटेलले २/२ विकेट हात पारे।

त्यसअघि, त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६५ रन बनाएको थियो।

बेन चाल्र्सवर्थ र भीम सार्कीले अर्धशतकीय इनिङ्स खेले। बेन ६४ र भीम ५५ रनमा आउट भए। भीम, १९ बलमा ५ चौका र ४ छक्कासहित अर्धशतक पूरा गर्दै, एनपीएलमा सबैभन्दा छिटो अर्धशतक बनाउने नेपाली खेलाडी बनेका छन्।

पोखराका धनन्जय लक्षनले ४ र कप्तान कुशल भुर्तेलले २ विकेट हात पारे।

बिहीबार दिउँसो ४ बजे हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ। मंसिर १ गतेदेखि शुरू भएको प्रतियोगितामा ८ टोली सहभागी छन्।