कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

मंगलबार बानेश्वरस्थित संसद् भवनमा बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो।

काठमाडौँ- नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ। 

मंगलबार संसद् भवनको ल्होत्से हलमा सम्पन्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संस्थापनइतर समूहको असन्तुष्टिका बाबजुद प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको हो। पार्टीमा संस्थापन पक्षको बहुमत छ। 

बैठकमा कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने प्रस्ताव गरेका थिए। देउवाको प्रस्तावलाई कार्यसम्पादन समितिका बहुमत सदस्यले अनुमोदन गरेको कांग्रेस सांसद रामहरि खतिवडाले बताए। 

प्रधानमन्त्री दाहालले सोमबार मात्रै कांग्रेस सभापति शेरबहादुर देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए। यसबारे आफूले पार्टी बैठकबाट निर्णय गर्ने जवाफ देउवाले दाहाललाई दिएका थिए। 

मंगलबार बिहान देउवाले आफ्नै निवास धुमबाराहीमा कृष्ण सिटौला, प्रकाशमान सिंह र डा. शेखर कोइरालासहितको कांग्रेस पदाधिकारी बैठक बोलाएका थिए। 

बैठकमा देउवासहित उनी पक्षधर नेताहरू उपसभापति पूर्णबहादुर खड्का, कृष्ण सिटौला, प्रकाशमान सिंहले प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने धारणा राखेका थिए। 

त्यसअघि नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले देउवालाई भेटेर दाहाललाई विश्वासको मत दिन आग्रह गरेका थिए।