कञ्चनरूपमा हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्किएको जंगली हात्तीको आक्रमणबाट बिहीबार एक जनाको मृत्यु भएको छ।

फाइल तस्वीर

सप्तरी– कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्किएको जंगली हात्तीको आक्रमणबाट बिहीबार एक वृद्धको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएअनुसार, मृत्यु हुनेमा जिल्लाको कञ्चनरूप नगरपालिका–५ निवासी ६५ वर्षीय नारायण खंग छन्। घरदेखि करिब एक किलोमिटर टाढा खेतमा काटिएको धान हेर्न गएका बेला उनलाई जंगली हात्तीले आक्रमण गरेको थियो।

यस्तै, कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केका जंगली हात्तीको आक्रमणबाट बर्सेनि दुईतीन जनाको ज्यान जाने गरेको स्थानीयले बताएका छन्।

हात्तीको आक्रमणबाट त्रसित र पीडित त्यस क्षेत्रका बासिन्दाले नियन्त्रणको माग गर्दै पटकपटक स्थानीय प्रशासन र आरक्ष प्रशासनलाई ज्ञापनपत्र बुझाए पनि अहिलेसम्म कुनै ठोस पहल हुन नसकेको स्थानीयको गुनासो छ।