संकटबाट मुलुकलाई जोगाउन निर्वाचनमा केन्द्रित हुन नागरिक समाजको अपिल

नागरिक समाजले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकार र निर्वाचन आयोगसँग विशेष आग्रह गरेको छ।

काठमाडौँ– नागरिक समाजका अगुवाहरूले देशलाई राजनीतिक स्थिरता र लयमा फर्काउन आगामी २०८२ फागुन २१ गते हुने आम निर्वाचनको तयारीमा केन्द्रित हुन सबै पक्षलाई विशेष आह्वान गरेका छन्।

नागरिक अगुवा केदारभक्त माथेमासहित २७ अगुवाहरूले संयुक्त रूपमा जारी गरेको अपिलमा जेनजी (नवयुवा) आन्दोलनपछि देश संवेदनशील एवं जटिल मोडमा पुगेको ठहर गरिएको छ। गत भदौ २३ र २४ गतेको आन्दोलनपछि मुलुकलाई स्थिरता र लयमा फर्काउने जिम्मेवारी सरकार, राजनीतिक दलका साथै नवयुवासहित प्रत्येक नागरिकको रहेको उनीहरूको भनाइ छ।

नागरिक समाजले राज्य कमजोर बनेको संवेदनशील घडीमा निर्वाचनको म्यान्डेट लिएर बनेको सरकारलाई उसको क्षमताभन्दा बाहिरका माग राखेर अवरोध नगर्न र अनावश्यक भ्रम नछर्न आग्रह गरेको छ। अपिलमा भनिएको छ, “निहित राजनीतिक, समूहगत वा व्यक्तिगत अजेन्डा अघि सारेर अवरोध गर्ने, अनावश्यक भ्रम छर्ने तथा आशङ्का फैलाउने गतिविधिहरूले राष्ट्रलाई झनै कमजोर बनाउने निश्चित छ।”

वर्तमान सरकार असफल भएर निर्धारित मितिमा निर्वाचन हुन नसके त्यसपछि उत्पन्न हुने रिक्तता र अनिश्चितताको अवस्था देशका लागि गम्भीर र दूरगामी हुने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्। नेपालको संविधान र यसबाट प्राप्त उपलब्धिको संरक्षण गर्दै जेनजी आन्दोलनको तारो बनेको भ्रष्टाचार, नातावाद, कृपावाद, कुशासन जस्ता देशका दुस्मन प्रवृत्तिको अन्त्य गर्दै मुलुकलाई असल शासनको बाटोमा लैजानुपर्ने अपिलमा उल्लेख छ।

आम नागरिक, राजनीतिक शक्ति, नवयुवा वर्ग र सबै जिम्मेवार पक्षहरूसँग आह्वान गर्दै उनीहरूले भनेका छन्, “राष्ट्रलाई थप अप्ठेरोमा नपारी सबैको अर्जुनदृष्टि २०८२ फागुन २१ गते हुने आम निर्वाचनमा केन्द्रित गर्न हामी आह्वान गर्दछौँ। निर्वाचनका माध्यमबाट मात्रै संवैधानिक प्रक्रिया जीवन्त रहने र राजनीतिक दलहरूले अर्थपूर्ण गति पाउने बाटो निर्विघ्न रहन्छ।”

नागरिक समाजले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकार र निर्वाचन आयोगसँग विशेष आग्रह गरेको छ। सफल निर्वाचनमै वर्तमान सरकारको औचित्य पुष्टि हुने सत्यतालाई मनन गर्दै निर्वाचन वातावरणलाई प्रतिकूल असर पार्न सक्ने कुनै कार्य नगरियोस् भनी अपिलमार्फत उनीहरूले सरकारलाई खबरदारीसमेत गरेका छन्।

null