देउवाको दाबी– ‘संविधानको रक्षा गर्न प्रधानमन्त्रीलाई विश्वासको मत’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान रक्षाका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय भएको बताएका छन्।

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान रक्षका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको बताएका छन्। 

आफ्नो जोडबलमा कार्यसम्पादन बैठकबाट बहुमतका आधारमा कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गराएका देउवाले संविधानमाथि कसैले पनि घात गर्न नसकोस् भनेर यस्तो निर्णय गरेको बताए। 

कांग्रेस सांसद रामहरि खतिवडाका अनुसार देउवाले ओली आफ्नो प्रतिगमन अहिले पनि सच्याउन तयार नभएको बुझिएकाले संविधानको रक्षा गर्नु आफ्नो कर्तव्य भएको बताएका छन्। 

“केपी ओली ओलीले हिजो आफूले संसद् विघटन गर्नु प्रतिगमन होइन भने। अहिले पनि ओलीबाट संसद्प्रति दुराग्रह पूर्ण टिप्पणी आइरहेको छ। संविधान रक्षाका लागि हिजो पनि माओवादीसँग हामी एकै ठाउँमा भएका हौँ। अब पनि हुन्छ”, देउवालाई उद्धृत गर्दै भने। 

तर, दाहाललाई विश्वासको मत दिए पनि प्रमुख प्रतिपक्षको भूमिका रहने निर्णय गरेको देउवाले कार्यसम्पादन समितिको बैठकमा सुनाएका थिए। 

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”लाई विश्वासको मत दिने भएको छ। संस्थापन पक्षले इतरसमूहको इच्छा विपरीत दाहाललाई विश्वासको मत दिने निर्णय गरेको हो। पार्टीमा संस्थापन पक्षको बहुमत छ। 

मंगलबार संसद् भवनको ल्होत्से हलमा सम्पन्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संस्थापनइतर समूहको असन्तुष्टिका बाबजुद प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको हो। 

बैठकमा कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने प्रस्ताव गरेका थिए। देउवाको प्रस्तावलाई बैठकको बहुमत सदस्यले अनुमोदन गरेका हुन्। 

प्रधानमन्त्री दाहालले सोमबार मात्रै कांग्रेस सभापति शेरबहादुर देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए। यसबारे आफूले पार्टी बैठकबाट निर्णय गर्ने जबाफ देउवाले दाहाललाई दिएका थिए। 

मंगलबार बिहान देउवाले आफ्नै निवास धुमबाराहीमा कृष्ण सिटौला, प्रकाशमान सिंह र डा. शेखर कोइरालासहितको कांग्रेस पदाधिकारी बैठक बोलाएका थिए। बैठकमा देउवासहित उनी पक्षधर नेताहरू उपसभापति पूर्णबहादुर खड्का, कृष्ण सिटौला, प्रकाशमान सिंहले प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने धारणा राखेका थिए। 

त्यसअघि नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले देउवालाई भेटेर दाहाललाई विश्वासको मत दिन आग्रह गरेका थिए।