रासायनिक मलको असन्तुलित प्रयोगले घट्दै माटोको उर्वराशक्ति

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख डा. विनोद घिमिरेले माटोको अवस्था सुधार नगरिए आगामी पुस्ताले प्रांगारिक र जैविक उत्पादनको अनुभव लिन नपाउने जोखिम बढेको बताए।

फाइल तस्वीर

बाँके– रासायनिक मलको असन्तुलित प्रयोगले बाँकेमा माटोको अवस्था बिग्रिएको छ। उत्पादन बढाउने नाममा जथाभावी रासायनिक मल प्रयोग गरिँदा यहाँको माटोको उर्वराशक्तिमा ह्रास आएको माटो तथा मल परीक्षण प्रयोगशाला खजुराका माटो विज्ञ खिमबहादुर केसीले बताए।

निःशुल्क माटो जाँच शिविरको प्रतिवेदनले माटोमा क्षारीयपन बढी रहेको पाइएकाले माटोको उर्वराशक्ति कमजोर बन्दै गएको उनको भनाइ छ। उनले माटोमा नाइट्रोजन, फस्फोरस र पोटासको मात्रासमेत कम देखिएकाले यसले उत्पादनमा थप ह्रास ल्याउने उल्लेख गरे।

माटोविज्ञ केसीले भने, “युरिया, डीएपीलगायत रासायनिक मलको अत्यधिक प्रयोग गरिएको पाइएको छ। रासायनिक मल अव्यवस्थित ढंगले प्रयोग गरिँदा माटोमा रहने विभिन्न तत्वमा गम्भीर असर परेको छ।” उनले प्रांगारिक पदार्थ तथा मलको मात्रा नबढाउँदासम्म माटो नसुध्रिने भएकाले माटोको परीक्षण गरेर रिपोर्टका आधारमा मात्र सन्तुलित मात्रामा रासायनिक मलको प्रयोग गर्नुपर्नेमा जोड दिए।

प्रांगारिक मलको विकल्पमा किसानले रासायनिक मलको प्रयोग गर्दा उत्पादन घट्नुका साथै माटोको सन्तुलनमा नकारात्मक असर परेको प्रयोगशालाका प्रमुख आशीष पाठकले बताए। उनका अनुसार खेतबारीमा पराल जलाउने, रोटाभेटरको प्रयोग गर्ने र प्रांगारिक मलको प्रयोग नगरी रासायनिक मल असन्तुलित रूपमा प्रयोग गर्नाले माटोको अवस्था बिग्रँदै गएर उत्पादकत्व कम हुँदै गएको छ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख डा. विनोद घिमिरेले माटोको अवस्था सुधार नगरिए आगामी पुस्ताले प्रांगारिक र जैविक उत्पादनको अनुभव लिन नपाउने जोखिम बढेको बताए। जिल्लामा माटो परीक्षणका लागि निःशुल्क शिविर सञ्चालन गरिए पनि किसानमा उत्साह नदेखिएको भन्दै उनले सचेतना जगाउन आवश्यक रहेकोमा जोड दिए।

कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र खजुराका प्रमुख श्रीधर ज्ञवालीले बिग्रिएको माटोमा रासायनिक मल हालेर मात्रै उत्पादन शक्ति नबढ्ने भएकाले प्रांगारिक पदार्थको मात्रा बढाउन जरुरी रहेको बताए। उनका अनुसार यहाँको माटोमा नाइट्रोजन, फस्फोरस, पोटास र प्रांगारिक पदार्थ मध्यमदेखि कम पाइएको छ। यस्तो अवस्थामा अनावश्यक रूपमा रासायनिक मल प्रयोग गरिँदा ती तत्वको सन्तुलन बिग्रिएर उत्पादकत्व क्षमता कमजोर हुँदै जान्छ।