चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते, अधिकांश विद्यार्थी

घाइतेको स्थानीय अस्पताल तथा काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ चालिसेमा शनिबार दुर्घटनामा परेका सवारीसाधन। तस्वीर : शंकर श्रेष्ठ/रासस

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६, चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते भएका छन्।

सातवटा सवारीसाधन एकआपसमा ठोक्किएर भएको दुर्घटनामा ती सवारीसाधनका ३५ जना घाइते भएका छन्। घाइते सबैको स्थानीय अस्पताल तथा काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।

दुर्घटनामा संलग्न सवारीसाधनहरूमा काठमाडौँबाट गजुरी जाँदै गरेको बा प्र ००१ क ००११ नम्बरको स्कुल बस, एनएल ०१ बिए ४६५४ नम्बरको गाडी (डिब्बा), ना ४ ख ७१५ नम्बरको ट्रक, लु ९५ प ३०७ नम्बरको मोटरसाइकल, जिजे ०३ ए के ३२३१ नम्बरको बस, काठमाडौँ जाँदै गरेको ग १ ख ८५५१ नम्बरको बस र बा १ प ९१७ नम्बरको पर्यटक बस रहेका थिए।

घाइतेहरूमध्ये अधिकांश स्कुल बसमा सवार विद्यार्थी रहेका छन्। चितवनको स्कुल बसमा सवार २५ जना, गोरखाबाट काठमाडौँतर्फ जाँदै गरेको बसमा सवार आठ जना, मोटरसाइकलमा सवार एक जना र डिब्बा गाडीमा सवार एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।