फेरि पनि संसद् विघटन हुन सक्ने ओलीको अभिव्यक्तिप्रति देउवाको ध्यानाकर्षण

कांग्रेस सभापति देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने घोषणा गर्दै पूर्ण कार्यकाल सरकार चलाउन सबै मिलेर काम गर्न दिनुपर्ने बताए।

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुनः प्रतिनिधिसभाको विघटन गर्न सक्ने अभिव्यक्ति दिएकोप्रति कांग्रेसको ध्यानाकर्षण भएको बताएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, "प्रतिनिधिसभाको हिजोको बैठकमा नेकपा एमालेका अध्यक्षको सम्बोधनप्रति हाम्रो गम्भीर ध्यानाकर्षण रहेको छ। उहाँले संविधानको संसदीय व्यवस्थाको विपरीत फेरि पनि संसद् विघटन गर्न सकिने कुरा उठाउनुभएको छ।"

उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने घोषणा गर्दै पूर्ण कार्यकाल सरकार चलाउन सबै मिलेर काम गर्न दिनुपर्ने बताए। उनले देशमा विद्यमान चुनौतीलाई सरकारले कसरी हेर्छ, विद्यमान समस्या समाधान कसरी हुन्छ, संविधानको रक्षा तथा कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रको दिगो शान्ति र सुशासन विकास र समृद्धिको सवालमा सरकारको कामकारबाही कस्तो रहन्छ भन्ने कुरालाई मध्यनजर गरेर आगामी दिनमा समर्थन गर्ने वा नगर्ने भन्ने कुरा निर्धारण गर्ने पनि बताए। उनले संविधानको रक्षाका लागि खरो रूपमा उभिने चुनौती आफूहरूसामु रहेको उल्लेख गरे।

"संविधानको पालना र रक्षाका लागि वर्तमान संविधानसहित वर्तमान प्रधानमन्त्री र हामी एक ठाउँमा उभिएका थियौँ। आज फेरि वर्तमान सत्ता गठबन्धनका प्रमुख घटकहरू तिनै संवैधानिक व्यवस्थालाई चुनौती दिएको परिप्रेक्ष्यमा संविधान र रक्षाका लागि खरो रूपमा उभिने चुनौती हाम्रो सामु छ", उनले भने।

सभापति देउवाले सरकारको गठन गर्नु वा सरकार परिवर्तन गर्नु संसद्को एक महत्त्वपूर्ण काम भएको बताए। उनले देश र जनताका लागि सबै नीति र कानूनको निर्माण पनि संसद्को क्षेत्राधिकार भएको भन्दै संसद्मा प्रभावकारी प्रतिपक्षको अभावमा सरकारमाथिको निगरानी र अनुगमनको पद्धति कमजोर हुने उल्लेख गरे।