सिन्धुलीमा सरकारी कार्यालय तोडफोड र आगजनी गर्ने १५ जना पक्राउ

पक्राउ परेकाहरूमाथि जिल्ला प्रशासन, मालपोत र कमलामाई नगरपालिका–५ को वडा कार्यालयमा क्षति पुर्‍याएको आरोपमा ‘आपराधिक उपद्रव’सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

सिन्धुली– गत भदौ २४ गते सिन्धुलीमा भएको आन्दोलनका क्रममा सरकारी कार्यालय तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीका अनुसार प्राप्त प्रमाणका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। 

थप १५ जनाको पहिचान भइसकेको र उनीहरूका विरुद्ध जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएको सुवेदीले जानकारी दिए। पक्राउ परेकाहरूमाथि जिल्ला प्रशासन, मालपोत र कमलामाई नगरपालिका–५ को वडा कार्यालयमा क्षति पुर्‍याएको आरोपमा ‘आपराधिक उपद्रव’सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ।

पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–१२ घर भई हाल सिन्धुलीको कमलामाई नगरपालिका–६ धुराबजार बस्ने २० वर्षीय सुजन साह, कमलामाई नगरपालिका–८ घर भई हाल कमलामाई–६ अनामनगर बस्ने ३६ वर्षीय रत्नबहादुर श्रेष्ठ, कमलामाई–५ का ४७ वर्षीय फौद थापा मगर,  तीनपाटन गाउँपालिका–४ घर भई हाल कमलामाई–६ स्थित  गौतम फर्मा केयरका सञ्चालक ३० वर्षीय सुजन गौतम रहेका छन्।‍

यस्तै, सर्लाहीको रामनगर गाउँपालिका–६ स्थायी घर भई हाल सिन्धुलीको कमलामाई–६ धुराबजार बस्ने २५ वर्षीय पपुकुमार साह, कमलामाई–५ का २७ वर्षीय रबन चौधरी, कमलामाई–१२ का ३९ वर्षीय क्षितिज श्रेष्ठ, भारतको सीतामढी जिल्ला घर भई हाल सिन्धुलीको कमलामाई–६ धुराबजार बस्ने २२ वर्षीय देवनन्दन साह, कमलामाई–४ का २४ वर्षीय सविन लामा, कमलामाई–१२ का २३ वर्षीय डोरबहादुर सार्की पनि पक्राउ परेका छन्।  

त्यस्तै, महोत्तरीको गौशाला नगरपालिका–२ घर भई हाल सिन्धुलीको कमलामाई–५ मा बस्ने राजु महरा, सिन्धुलीको तीनपाटन गाउँपालिका–११ का २५ वर्षीय होमबहादुर लुङ्गेली, कमलामाई–८ का ३४ वर्षीय ओमबहादुर खत्री, कमलामाई–८ कै ३० वर्षीय कमल पाख्रिन र महोत्तरीको बर्दिबास नगरपालिका–१४ घर भई हाल कमलामाई–६ बस्ने ३५ वर्षीय हरिचन सोनारलाई पनि पक्राउ गरेको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए।

आन्दोलनका क्रममा भएको क्षति र लुटपाटको सीसीटीभी फुटेज तथा अन्य प्रमाणका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।