शिलालेख देखाउनू श्यामसुन्दरलाई

श्यामसुन्दरलाई लिपि अध्ययन निकै निरस विषय लाग्थ्यो, तर त्यही जागिरमा उनले ३५ वर्ष बिताए। अवकाशपछि लिपिकै विषयमा विद्यावारिधि पनि टुंग्याए, जुन पूरा गर्न उनलाई १४ वर्ष लाग्यो।

काठमाडौँ– पाटन दरबार परिसरमा रहेको भिमसेन मन्दिरअघि २०७८ पुस ५ गते ६ फुट अग्लो शिलालेख भेटियो। ढल खन्ने क्रममा उक्त शिलालेख भेटिएको थियो। दरबार क्षेत्र पुरातात्त्विक महत्त्वको भएकाले पुरातत्व विभागले प्रतिनिधिका रूपमा विभागका पूर्व महानिर्देशक प्रकाश दर्नाललाई त्यहाँ खटाएको थियो। तर उनले शिलालेख पढ्न सकेनन्।

दर्नालले तत्कालै श्यामसुन्दर राजवंशीलाई फोन गरे। श्यामसुन्दरले तीन वर्षअघि नै पुरातत्त्व विभागबाट अवकाश पाएका थिए। शिलालेख भेटिएको जानकारी पाएपछि उनी तुरुन्तै त्यहाँ पुगे।

श्यामसुन्दरले शिलालेखको मिति हेरे। त्यहाँ नेपाल संवत् ५३६ उल्लेख थियो। सो शिलालेख लिच्छवि शासक अंशुवर्माको समयको भएको अनुमान भयो। त्यहाँ रहेको धर्मचक्र, धातुचैत्य जस्ता चिह्नले शिलालेख लिच्छविकालीन हुनसक्ने सम्भावना थप बलियो भयो।

श्यामसुन्दरले शिलालेखको फोटो र भिडियो लिए। अनि विस्तृत अध्ययनका लागि विभागको अनुमतिमा शिलालेख घरै लगे। 

ढल खन्दा भेटिएको शिलालेख।त्यति पुरानो शिलालेखमा के लेखिएको होला भन्ने चासो त्यहाँ उपस्थित सबैलाई थियो। “त्यति पुरानो शिलालेख श्यामसुन्दरले पढ्यो भने पढ्यो, नत्र कसैले पढ्दैन भनेर फर्कने क्रममा कसैले भनेको सुनेँ। त्यो वाक्यले गौरव महसुस भयो, जिम्मेदारी पनि बढायो,” श्यामसुन्दर भन्छन्।

शिलालेखबाट उनले १० दिनमा १५ पंक्ति उतारे। बल्ल उनले थाहा पाए सो शिलालेख १४ सय वर्ष पुरानो रहेछ। संवत् ५३६ को ज्येष्ठ शुल्क पूर्णिमामा स्थापना गरिएको शिलालेखमा राजा वृषदेवले बनाएको धातु चैत्यरथ मन्दिरलाई राजा अंशुवर्माले नयाँ मन्दिर बनाइ जिउनीको लागि संरक्षण र सञ्चालन गर्न दिएका रहेछन्।

बाबुको पाइला पछ्याएका श्यामसुन्दर
श्यामसुन्दरका बाबु शंकरमान लिपि विज्ञ थिए। शंकरमानले लिविविज्ञकै रूपमा पुरातत्त्व विभागमा जागिर खाएका थिए। उनी ऐतिहासिक शिलालेख उल्था गर्थे।

२०४० सालमा शंकरमान अवकाशमा जाने भए। त्यस बेलासम्म श्यामसुन्दरले बाबुसँगै शिलालेख खोज्ने र अध्ययन गर्ने प्रयास थालेका थिए। इतिहासमा स्नातक गरेका थिए। तर लिपि पढ्न जानिसकेका थिएनन्।

शंकरमानको अवकाशपछि विभागमा लिपि विज्ञको रूपमा श्यामसुन्दरलाई जागिर दिने कुरा चल्यो। “विभागबाटै बुबाको अवकाशपछि मलाई लिपि पढ्ने जागिर खान सुझाव दिइएको रहेछ,” उनी सम्झन्छन्, “घर आएर बुबाले पनि त्यही भन्नुभो– जागिर खाने नै भए यही विभागमा खाऊ, लिपि पढ्न मै सिकाइहाल्छु।”

विभागमा उनले अन्तर्वार्ता मात्रै दिए पुग्यो, अरू प्रकृया गर्नु परेन। जागिर शुरू हुँदा उनी २२ वर्ष टेक्दै थिए।

श्यामसुन्दर राजवंशी।जागिर शुरू गरेको ५–६ वर्षसम्म घरै बसेर बुबा शंकरमानले उनलाई लिपि पढ्न सघाउँथे। उनी शिलालेखका अक्षर हुबहु सारेर ल्याउँथे र बाबु शंकरमानको सहयोगमा उल्था गर्थे। पोख्त भइसकेका थिएनन्।

२०४५/४६ सालतिर शंकरमानलाई मोतिविन्दु भयो। त्यसपछि शिलालेखको उल्था गर्ने जिम्मा पूर्णरूपमा श्यामसुन्दरकै काँधमा आयो। उनले नै शिलालेखको उल्था र निष्कर्ष लेख्न थाले। यो परिश्थितिले उनलाई सिकाउँदै र निखार्दै लग्यो। कालान्तरमा लिपिविद्को रूपमा चिनिन थाले। कतै ऐतिहासिक शिलालेख फेला पर्दा उनैलाई खोज्न थालियो।

पुरातत्त्व विभागमा ३५ वर्षको जागिरे जीवनबाट श्यामसुन्दरले अवकाश पाइसकेका छन्। तर उनले स्वःअध्ययन र इतिहास लेखन छाडेका छैनन्। 

शिला लिपि : जागिर खाँदै स्वःअध्ययन
विभागमा लिपि विशेषज्ञको रूपमा प्रवेश गर्दा श्यामसुन्दरले लिपिको औपचारिक अध्ययन गरेका थिएनन्। जति सिकेका थिए बुबा शंकरमानबाटै। तर उनको सिकाइ कुनै विद्यालयमा शुरूआतमा सिकाइने अक्षर वा वर्णमालाबाट भएन। शुरूमै थरीथरीका लिपिलाई कपीमा हुबहु उतार्दै पढ्न बुबाले भने।

आफूलाई लिपि सिक्न त्यति समय नलागेको, तर संस्कृत सिक्न समय लागेको उनी सम्झन्छन्। शिलालेखपिच्छे कतै रञ्जना लिपि त कतै संस्कृत मात्रा हुन्थ्यो। कतै मिश्रित पनि हुने हुँदा संस्कृत अध्ययन जरुरी थियो। त्यसबाहेक शिलालेखमा हुने अरू लिपि देवनागरीभन्दा केही मात्र फरक हुने हुँदा गाह्रो नभएको उनी बताउँछन्।

कागजमा उतारिएको शिलालेख। तस्वीर साभार: हिमालखबर२०४० सालमा जागिरको प्रारम्भमै उनलाई जुम्ला र कालीकोट खटाइयो। त्यहाँबाट अभिलेखका अक्षर हुबहु सारेर ल्याउँथे। उनका लागि यो पनि चुनौती थियो। यद्यपि, छापेर ल्याएको अक्षर बुबासँग बसेर डिसाइफर (उल्था) गर्थे। त्यसपछि प्रतिवेदन लेख्नुपर्ने उनको दैनिकी थियो।

श्यामसुन्दरले निरन्तर नै शिलालेखका अक्षर सारेर घर ल्याउने र सम्भावित अर्थ निकाल्ने प्रयास गरिरहे। “शुरूमा म बुबाबाटै अन्तिम निष्कर्ष लिने गर्थें। बिस्तारै आफै निष्कर्ष लेख्न सिकेँ, अनि बुबाबाट कन्फर्म गर्थें। यसले ममा आत्मविश्वास बढ्न थाल्यो,” उनी भन्छन्।

हरेक वर्ष फिल्डमा खटिँदा धेरै शिलालेख संकलन गरेर ल्याउँथे। सबै विस्तृतमा पढ्दैन थिए। महत्त्वपूर्ण र सजिलो लाग्ने शिलालेख पढ्ने स्वभाव विकसित हुन थालेको थियो।

“एकदिन म झसंग भएँ। सजिलो मात्रै पढेर ज्ञाता बनिँदैन, अब क्लिष्ट पनि पढ्न थाल्नु पर्‍यो,” उनी भन्छन्, “बुबा त्यति बेलासम्म स्वस्थै हुनुहुन्थ्यो। मैले त्यो समय गुमाउन चाहिनँ र आफूभित्र इच्छाशक्ति जगाएँ। मेरो लागि शिलालेख अध्ययन जागिर मात्र भएन, अध्ययन र ज्ञानको स्रोत बन्न थाल्यो।”

निरस लाग्ने विषयको विज्ञ
श्यामसुन्दरलाई पहिले–पहिले लिपि अध्ययन निकै निरस विषय लाग्थ्यो, अहिले यही उनको जीवनशैली बनेको छ। उनले विधावारिधि पनि यसै विषयमा गरेका छन्, जुन पूरा गर्न उनलाई १४ वर्ष लाग्यो।

नयाँ पुस्तामा यस्तो निरस काममा कुनै चासो नभएको उनको अनुभव छ। आफू पुरातत्त्व विभागमा छँदै लिपिसम्बन्धी ज्ञान विभागका कर्मचारीलाई पनि बाँड्ने गरेका थिए। विश्वविद्यालयका विद्यार्थीलाई घरैमा बोलाएर लिपि पढाए। तर विद्यार्थीहरूको ध्यान परीक्षा पास गर्नमै सीमित भयो।

यसैगरी, नेवार समुदायले नेपाल भाषा बोल्न छोड्दै जानु पनि समस्या भएको श्यामसुन्दरको गुनासो छ। “अर्को समस्या भनेको लिपिका विषयमा शब्दकोष छैन। लिपीबारे शब्दार्थवली भएको भए नयाँ पुस्ताको सिकाइ सहज हुने थियो,” उनी भन्छन्।

नयाँ पुस्ता नआउँदा पुराना शिलालेख अध्ययन र इतिहास लेखन प्रभावित हुनसक्छ। श्यामसुन्दर भने आफूले अध्ययन गरेका केही शिलालेख र सन्दर्भलाई अझै भुल्न सकेका छैनन्।

२०४९ सालतिर हाडीगाउँमा जयवर्माको मूर्ति फेला पर्यो। मूर्ति भेटिएको खबर आएपछि विभागका फोटोग्राफरले फोटो लिएर आए। त्यहाँ एक लाइनको शिलालेख थियो। त्यसलाई कसैले पढ्न सकेनन्। श्यामसुन्दर लामो बिदामा थिए।

बिदामै बसेको भए पनि श्यामसुन्दरलाई बोलाइयो। भोलिपल्टै प्रकाशित गर्नुपर्ने भएकाले त्यही दिन उनलाई खोजिएको थियो। “त्यो बेलामा टेलिफोनसमेत आएको थिएन। विभागका कर्मचारी मलाई लिन घर नै आइपुगे। विभाग पुग्दा मात्रै सबै कुरा थाहा भयो,” उनी भन्छन्।

२०४६ सालमा गोकर्णको बालुवागाउँमा भेटिएको अंशुवर्माको एक शिलालेख उनी अहिले पनि सम्झिरहन्छन्। त्यो शिलालेखले उनलाई कैलाशकुट भवन हाँडीगाउँमा नभई गोकर्णमा हुनसक्ने संकेत दिएको थियो।