अस्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकालाई आजदेखि सामाजिक सञ्जालमा प्रतिबन्ध

यदि नियम तोडियो भने बालबालिका वा अभिभावकले कुनै सजाय पाउने छैनन्। जिम्मेवार सामाजिक सञ्जाल कम्पनीलाई भने ठूलो जरिबाना हुनेछ।

काठमाडाैँ– अस्ट्रेलियामा अब १६ वर्षभन्दा कम उमेरका बालबालिकाले आजदेखि सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने भएका छन्। प्रधानमन्त्री एन्टोनी अल्बानीजले यो कदमले बालबालिकालाई सुरक्षित र स्वस्थ वातावरणमा हुर्किन मद्दत गर्ने बताएका छन्।

सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई १६ वर्ष मुनिका बालबालिकाले खाता खोल्न नदिने व्यवस्था गर्न भनेको छ। हाल फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट, थ्रेड्स, टिकटक, ट्विच, एक्स, युट्युब, किक र रेडिट जस्ता १० वटा सञ्जालमा यो नियम लागू हुनेछ।

प्रधानमन्त्रीले भने,“आजका बालबालिका मोबाइल र सामाजिक सञ्जालका धेरै प्रभावमा हुने भएकाले उनीहरूलाई केही राहत दिने उद्देश्यले यो निर्णय गरिएको हो।”

यदि नियम तोडियो भने बालबालिका वा अभिभावकले कुनै सजाय पाउने छैनन्। जिम्मेवारी सामाजिक सञ्जाल कम्पनीकै हुनेछ। नियम बारम्बार नमान्ने कम्पनीलाई ठूलो जरिबाना लाग्नेछ। सरकारले उमेर पत्ता लगाउने प्रविधि पूर्ण रूपमा काम गर्न केही समय लाग्न सक्ने बताएको छ।

अस्ट्रेलियाली सरकारको यस निर्णयले विश्वव्यापी रूपमा बहस छेडेको छ। केही अधिकारवादीहरूले यसलाई युवाविरुद्धको अन्याय भनेका छन् भने केहीले यस निर्णयको प्रशंसा गरेका छन्।

सन् २०२४ को नोभेम्बरमा, अस्ट्रेलियाली संसदमा एक कानून पारित भएको थियो। यसले अस्ट्रेलियाली अनलाइन सुरक्षा ऐन, २०२१ लाई संशोधन गर्‍यो र १६ वर्ष मुनिका बालबालिकाहरूले सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने निर्णय गरियो।

अस्ट्रेलियाली लेबर पार्टी सरकारले किशोरकिशोरीहरूलाई सामाजिक सञ्जालको नकारात्मक प्रभावबाट जोगाउन प्रतिबन्ध लगाउने निर्णय लिइएको बताएको छ। प्रधानमन्त्री अल्बानीजले बालबालिका र किशोरकिशोरीहरूको सन्दर्भमा अस्ट्रेलिया उनीहरूको अधिकारको रक्षा गर्न अग्रपंक्तिमा रहने कुरा पटक पटक बताउँदै आएका छन्।

सरकारको यो कदमलाई अनलाइन पोलमा ७७ प्रतिशत समर्थन प्राप्त भएको थियो। यद्यपि, केही विज्ञहरू भन्छन् कि सरकार यस्ता प्रतिबन्धहरू लागू गर्न हतार गरिरहेको छ।