गठबन्धन हाइज्याक भएपछि करेक्सन गर्न विश्वासको मत दियौँ: रामचन्द्र पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेले पाँच दलीय गठबन्धन हाइज्याक भएपछि कोर्स करेक्सनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको बताएका छन्।

काठमाडौँ– नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलेले संविधान जोगाउन बनेको गठबन्धन हाइज्याक भएपछि करेक्सन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई कांग्रेसले विश्वासको मत दिएको बताएका छन्।

मंगलबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै दुई वर्षअघि संविधान जोगाउनको बनेको पाँच दलीय गठबन्धन हाइज्याक भएपछि कोर्स करेक्सनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई कांग्रेसले विश्वासको मत दिएको बताएका हुन्।

उनले संविधानमाथि आइपरेको खतरा बचाउनका लागि समर्थन गरेको उल्लेख गरे। "संविधान बचाउनको लागि पाँच दलको गठबन्धन भएको थियो", उनले भने, "गठबन्धन हाइज्याक भएको थियो। त्यसलाई करेक्सन गर्ने उद्देश्यले पनि मतदान गरेर संविधान बचाएर मुलुकको संकटलाई टार्ने एउटा प्रयास गरेका छौँ।"

उनले राष्ट्रिय परिस्थिति पेचिलो बन्दै गएकाले आर्थिक, सामाजिक र राजनीतिक सबै परिस्थिति एक ठाउँ आउनुको विकल्प नभएकाले पनि यो बेलामा नेपालका सबै शक्ति एक ठाउँमा उभिएर राष्ट्रिय सहमति र राष्ट्रिय एकता कायम गर्न आवश्यक भएको बताए। उनले कांग्रेसले कुनै पनि संवैधानिक भाग लिनको लागि भन्दा पनि संविधानमाथि आइपरेका खतरालाई हृदयङ्गम गरेर संविधान बचाउनका लागि मतदान गरेको उल्लेख गरे।

उनले बदलिएको राजनीतिक घटनाक्रमले राष्ट्रिय दलहरूबीच एकता र सहकार्य खोजेकाले सबै जना एक ठाउँमा उभिएको पनि बताए। उनले अहिले सबै राजनीतिक पार्टी एक ठाउँमा भएकाले एउटै विचार हुने पार्टी एक ठाउँमा हुँदै जानेसमेत बताए। उनले कांग्रेसले व्यवस्था जोगाउनको लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिएकाले अब व्यवस्था जोगिने विश्वास रहेको बताए।

त्यस्तै, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीले अहिलेको परिस्थिति मूल्यांकन गरेर प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको बताए। उनले तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा पनि परिस्थितिको मूल्यांकन गरेर नै सरकारको समर्थन गरेको र अहिले पनि विशेष परिस्थिति रहेका कारण सरकारको समर्थन गरेको गरेको सुनाए।

उपसभापति खड्काले कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा सुरक्षित रहेको उल्लेख गरे। "मुलुकको परिस्थितिको ध्यान राख्दै विश्वासको मत दिएको हो, प्रमुख प्रतिपक्षको भूमिका सुरक्षित छ। बोलेरै भोट हालेका छौँ।"

त्यस्तै, कांग्रेसका सांसद प्रदीप पौडेलले पनि पार्टी सरकारमा च्याँखे थाप्ने नभई प्रतिपक्षमा बस्ने बताए। उनले प्रतिपक्षमा रहेको दलले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने भए पनि पार्टीको निर्णयपछि आफूहरूले विश्वासको मत दिएको उल्लेख गरे।

"नेपाली कांग्रेस पार्टी निरन्तर रूपमा प्रतिपक्षमा नै रहन्छ। सत्तामा कांग्रेस गर्ने सम्भावना छैन", उनले भने। उनले कांग्रेस प्रतिपक्षमा नै बसेर प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए।