अपार विश्वासले सरकारले गरेका प्रतिबद्धता पूरा गर्ने ऊर्जा मिल्यो : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएपछि ठूलो जिम्मेवारी र चुनौती थपिएको महसुस गरेको बताएका छन्।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूले विश्वासको मत पाएपछि हर्ष र गर्वको अनुभूति भएको प्रतिक्रिया दिएका छन्।

मंगलबार प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले हर्ष र गर्वको अनुभूतिको महसुस गरिरहेको बताएका हुन्।

उनले ठूलो जिम्मेवारी र चुनौती थपिएको महसुस गरेको पनि बताए। प्रमुख प्रतिपक्षी दललगायतले विश्वासको मत दिनाले सरकारले गरेका प्रतिबद्धता पूरा गर्न ऊर्जा प्राप्त भएको उनको भनाइ थियो।

"मलाई निकै हर्ष र गर्वको अनुभूति भएको छ। साथसाथै निकै ठूलो जिम्मेवारी र चुनौती थपिएको पनि मैले महसुस गरेको छु। यो अपार विश्वास जो सदनबाट मलाई प्राप्त भएको छ", उनले भने।

सञ्चारकर्मीको प्रतिप्रश्नको जवाफ दिँदै उनले आफूलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विश्वासको मत प्राप्त हुनुले दुईतिर खुट्टा हालेको रूपमा चित्रण गर्नु नहुने बताए। सरकारले गरेका प्रतिबद्धताअनुसार काम अगाडि बढाउने उनको भनाइ छ।