तिला गाउँपालिकामा महिलालाई आत्मनिर्भर बनाउने अभियान

तिला गाउँपालिकाले नौवटै वडाका महिलालाई च्याउखेती, खरायोको टोपी र सिलाइकटाइ तालिम दिएको छ। तालिम लिएपछि महिलाहरू आफै व्यवसाय सञ्चालन गर्ने योजनामा छन्। 

जुम्ला– तिला गाउँपालिकाले महिलालाई सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउने अभियान थालेको छ।

नौवटै वडाका महिलालाई च्याउखेती, खरायोको टोपी र सिलाइकटाइ तालिम दिएको पालिका अध्यक्ष मोतीलाल रोकायाले बताए। मंसिर २५ देखि एक महिना सञ्चालन भएको ढाका बुनाइ पुनर्ताजकी सीप विकास तालिम लिएपछि १६ जना महिलाहरू आत्मनिर्भर बन्ने बाटोमा लागेका छन्।

उनीहरू आफ्नै व्यवसाय सञ्चालन गर्ने योजनामा रहेको र त्यसमा पनि सघाउने पालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिइन्। तालिमबाट सिकेका सीपलाई व्यवहारमा लागू गर्न दिगो रूपमा सघाउने उनले बताइन्।

तालिमका सहभागी शान्ति बुढाले घरमै ढाकाको तान राखेर काम थालेको सुनाइन्। नागरिकको अपेक्षाअनुसार काम गरिने गाउँपालिका अध्यक्ष रोकायाले बताए।