ताप्लेजुङको हिमाली क्षेत्रमा चिसो अत्यधिक बढ्यो, जनजीवन कष्टकर

चिसोका कारण ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५, पापुङको तोक्पेगोला बस्तीनै रित्तो भएको छ।

फाइल तस्वीर: ताप्लेजुङको ओलाङचुङगोला गाउँ।

ताप्लेजुङ– चिसो अत्यधिक बढेपछि ताप्लेजुङको हिमाली क्षेत्रका बस्तीको जनजीवन कष्टकर बनेकाे छ। एक हप्तायता घाम नलाग्ने, बाक्लो हुस्सु र चिसो हावासँगै बाक्लो तुसारो पर्न थालेपछि मान्छेसँगै पशुचाैपायालाई समेत समस्या भएको हो। 

चिसो बढेपछि दैनिकी चलाउन मुस्किल पर्न थालेको फक्ताङलुङ गाउँपालिका–६ घुन्साका केल्साङ शेर्पाले बताए। समुद्र सतहबाट तीन हजारभन्दा माथिका बस्तीमा चिसोले बढी सताएको छ। जिल्लाको फक्ताङलुङ–६, लेलेपको ग्याब्ला, फले, घुन्सा, वडा नं ७, ओलाङचुङगाेला, याङमा, मिक्वाखाेलाकाे पापुङलगायत गाउँ बढी प्रभावित भएका हुन्। 

उक्त गाउँका कतिपय परिवार यसअघि नै चिसो छल्न बस्ती छाडेर न्यानो ठाउँमा सरेका छन्। घरबाट बाहिर निस्कनै समस्या हुन थालेको शेर्पा बताउँछन्।  केही दिनयता निकै चिसो बढेको घुन्साकै अर्का स्थानीय टाँसी तेन्जिङले शेर्पाले बताए। दिनहुँ बाक्लो हुस्सु लाग्ने र तुसारो परिरहेको छ।  हिउँ पर्न नसक्नु र बाक्लो हुस्सु लाग्नु तथा तुसारो मात्र पर्नाले चिसो निकै बढेको उनको भनाइ छ। हिउँ नपरेसम्म चिसो कायम रहने शेर्पाले बताए।

हिउँ परेपछि मात्र मौसम खुलेर वातावरण सन्तुलित हुने र चिसो कम हुने ओलाङचुङगाेलाका तेन्जिङ वालुङले बताए। चिसोकै कारण मिक्वाखोला गाउँपालिका–५, पापुङको तोक्पेगोला बस्ती रित्तो भएको छ। मङ्सिर अन्त्यदेखि नै तोक्पेगोलाका बासिन्दा चिसो छल्न औल झरेको वडाध्यक्ष ग्यान्जे लामा शेर्पाले जानकारी दिए। वडाध्यक्ष शेर्पाका अनुसार हिउँद मौसमभर तोक्पेगोला बस्ती खाली हुने गरेको छ।

सदरमुकाम फुङलिङ बजारमा पनि निकै चिसो बढेको छ। चिसोका कारण बजारमा चहलपहल ह्वात्तै घटेको छ। बजारमा व्यापार व्यवसाय सुस्ताउँदै गएको व्यवसायीले बताएका छन्। केही दिनदेखि मौसम निरन्तर धुम्मिएको र चिसो बढ्दै गएको जल तथा मौसम विज्ञान कार्यालय ताप्लेजुङले जनाएको छ।