सांसद भन्छन्- विपद्का क्षेत्र पहिचान गरी न्यूनीकरणको जिम्मा स्थानीय तहलाई दिनुपर्छ

सांसदहरूले विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका महत्वपूर्ण रहने भन्दै विपद्‌का क्षेत्र पहिचान गरी त्यसको न्यूनीकरणका लागि स्थानीयलाई जिम्मा दिनुपर्ने बताए।

काठमाडौँ- सांसदहरूले सरकारले विपद्बाट हुने क्षतिको यकिन तथ्यांक राख्न आवश्यक रहेको बताएका छन्। 

बुधवार काठमाडौँमा आयोजित ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा माननीयज्यूहरूको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसदहरूले यस्तो बताएका हुन्। 

उनीहरूले विपद्सँग जोडिएका तथ्यांकहरूको पूर्ण विवरण पाउन अझै मुस्किल बनेको भन्दै उनीहरूले विपद्लाई नियालेर मात्रै विकास निर्माणका गतिविधिमा लाग्नुपर्ने बताए। 

कार्यक्रममा नेकपा एमालेका सांसद महेश बर्तौलाले विपद् न्यूनीकरणका लागि सबैभन्दा पहिला जोखिमका क्षेत्रहरूको पहिचान गर्न सक्नुपर्ने बताए। 

उनले विपद् जोखिमका क्षेत्रको पहिचान गरेर विकासका कामहरू अघि बढाउँदा सम्भावित जोखिमहरू न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उनले भने, “हामीले विपद् न्यूनीकरणका लागि सबैभन्दा पहिला जोखिमका क्षेत्रहरूको पहिचान गर्नुपर्छ। विपद् जोखिमको प्राथमिकिकरण गरी अघि बढ्न आवश्यक छ। कुन ठाउँमा बढी जोखिम भएको छ, त्यसलाई हेरेर र विज्ञहरूको सुझाव लिएर मात्रै विकास निर्माण कामहरू हुनुपर्छ।”

त्यस्तै, नेपाली कांग्रेसकी सांसद कान्तिक सेजुवालले विपद् न्यूनीकरणका लागि स्थानीय तहमा अझै पनि स्रोत, साधनको कमी रहेको भन्दै सबैभन्दा पहिला स्थानीय तहलाई स्रोत, साधनले पूर्ण गर्नुपर्ने बताइन्। 

उनले स्थानीय तहहरू विपद् व्यवस्थापन न्युनीकरण र नियन्त्रण गर्ने कुरामा अग्रपंक्तिमा रहेको बताइन्। उनले मुलुकी ऐन, २०२० को संक्रमण ऐन स्थानीय तहले आफैँ लागू गर्न नसक्ने स्थिति रहेको भन्दै सबै स्थानीय तहले आफ्ना धारणाहरू एकीकृत गरेर पठाए ऐन बनाएर अघि बढ्न सहज हुने विश्वास व्यक्त गरिन्।

उनले भनिन्, “स्थानीय तहमा स्रोत, साधनको अभावले सबै समस्याहरू विपद् व्यवस्थापनका समस्याहरूलाई न्यूनीकरण गर्न सकिएको छैन। विपद् व्यवस्थापन न्युनीकरण र नियन्त्रण गर्ने कुरामा अग्रपंक्तिमा स्थानीय तहहरू पनि छन्। मुलुकी ऐन, २०२० को संक्रमण ऐन जुन स्थानीय तहले आफैँ लागू गर्न नसक्ने स्थिति छ। यसमा सबै स्थानीय तहले आफ्ना धारणाहरू एकीकृत गरेर पठाए ऐन बनाएर अघि बढ्न सहज हुने थियो।”

नेकपा (एकीकृत समाजवादी) का सांसद भानुभक्त जोशीले जलवायु परिवर्तनका कारण देशका अधिकांश भूभागहरू जोखिमपूर्ण बन्दै गएको बताए। उनले जलवायु परिवर्तनका कारणबाट हुने असरहरूको न्यूनीकरणका लागि स्थानीय तहलाई कसरी सबल बनाउन सकिन्छ भन्नेकुरामा ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए। 

उनले भने, “अहिले देशका अधिकांश भूभागहरू धेरै नै जोखिमपूर्ण बन्दै गएका छन्। स्थानीय तहलाई कसरी सबल बनाउन सकिन्छ, साधन, स्रोत सबै विषयबाट कसरी सक्षम र सबल बनाउने भन्ने बारेमा सोच्नुपर्छ।”

कार्यक्रममा अन्य सांसदहरूले स्थानीय तहमा विपद् व्यवस्थापनको लागि आवश्यक बजेट छुट्याएर काम अघि बढाउनुपर्ने बताए। उनीहरूले स्थानीय तहका जनप्रतिनिधिहरूले विपद्का लागि बजेटको आवश्यकता छैन भनेर अन्य क्षेत्रमा लगानी गर्ने गरेको भन्दै उनीहरूलाई आवश्यक प्रशिक्षण दिन जरुरी रहेको बताए।