लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशको मुख्यमन्त्री पदमा नेकपा एमालेका नेता लीला गिरीलाई नियुक्त गरेका छन्।

काठमाडौँ– लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता लीला गिरी नियुक्त भएका छन्। गिरीलाई बुधबार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।

लुम्बिनी प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले प्रदेश प्रमुख शेरचनले गिरीलाई नेपालको संविधानको धारणा १६८ को उपधारा २ बमोजिम लुम्बिनीको मुख्यमन्त्रीमा नियुक्त गरेको विज्ञप्तिमार्फत जानकारी गराएका छन्। प्रदेश प्रमुख शेरचनले बुधबार ४ बजेसम्मको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।

यसअघि बुधबार नै गिरीले नेकपा एमालेसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, नेपाल, जनमत पार्टी र तीन स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

लुम्बिनी प्रदेशसभा ८७ सदस्यीय रहेको छ। बहुमतका लागि ४४ सांसदको समर्थन भए पुग्छ। एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेतासमेत रहेका गिरी पूर्वउद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री हुन्। 

गिरी मंसिर ४ गते सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा रूपन्देही-२ (क)बाट विजयी भएका थिए। उनले नेपाली कांग्रेसका दीर्घबहादुर केसीलाई पराजित गरेका थिए। गिरी एमालेका पोलिटब्युरो सदस्यसमेत हुन्।