बालोन डी’ओर : मेस्सी र एम्बाप्पे प्रतिस्पर्धी

बालोन डी’ओर उपाधिका लागि दुई फुटबल स्टार मेस्सी र एम्बाप्पेबीच प्रतिस्पर्धा भइरहेको छ। विश्वकप र पीएसजीमा गरेको प्रदर्शनका कारण दुवै उपाधिको दौडमा छन्।

काठमाडौँ– अर्जेन्टिनाका कप्तान लिओनल मेस्सी र फ्रान्सका फरवार्ड केलियन एमबाप्पेबीच कतार विश्वकप २०२२ को भिडन्त जति रोमाञ्चक बनेको थियो त्यति नै वर्षको उत्कृष्ट फुटबलर बन्नमा पनि देखिने भएको छ। यसपटक बालोन डी’ओर उपाधिका लागि यी दुई फुटबल स्टारबीच प्रतिस्पर्धा भइरहेको छ।

मेस्सीले विश्वकपमा सात गोल गरेर उत्कृष्ट फुटबलरको रूपमा गोल्डेन बल जितेका थिए। एम्बाप्पे भने विश्वकपमा आठ गोल गर्दै सर्वाधिक गोलकर्ताको रूपमा गोल्डेन बुट जिते। विश्वकपमा र पेरिस सेन्ट जर्मेन (पीएसजी)का लागि गरेको प्रदर्शनका कारण यी दुवै जना बालोन डी’ओर उपाधिको दौडमा छन्।

यो प्रतिस्पर्धालाई पुन: मेस्सीविरुद्ध एम्बाप्पेको रूपमा हेरिएको छ। मेस्सीले हालसम्म सात पटक बालोन डी’ओरको उपाधि जितेका छन्। एम्बाप्पेले हालसम्म यो उपाधि जितेका छैनन्। यसअघिका विजेता करिम बेन्जेमा र जिनेदिन जिदानसहित पाँच फ्रान्सेली फुटबलरले यो उपाधि जितेका छन्।

दुवै फुटबलर लामो समयपछि लिग–१ मा एन्जर्सविरुद्ध बुधबार पीएसजीका लागि सँगै मैदानमा उत्रनेछन्। लामो समयको विश्रामपछि मेस्सी पीएसजीको प्रशिक्षणमा सहभागी थिए। टोलीका प्रशिक्षक क्रिस्टोफर गाल्टियरले पनि बुधबारको खेलमा मेस्सीले खेल्ने अपेक्षा गरेका छन्।

इंग्लिस क्लब म्यानचेस्टर सिटीका एर्लिङ हालान्ड पनि बालोन डी’ओरको दौडमा छन्। उनले यो सिजनमा सिटीका लागि २१ गोल गरिसकेका छन्। तर, नर्वे विश्वकपमा छनोट हुन सकेको थिएन। एम्बाप्पेले यो सिजन आफ्नो क्लबका लागि १३ गोल गरिसकेका छन्।

अर्कोतर्फ नेयमारलाई सहयोग गर्नेमा मेस्सी सबैभन्दा अगाडि छन्। दुवैले १०/१० पटक गोलका लागि अवसर जुराइदिएका छन्। नेयमारले ११ गोल गरेका छन् भने मेस्सीले ७ गोल गरेका छन्। च्याम्पियन्स लिगमा पनि एमबाप्पेले ७ गोलसहित अग्रता बनाएका छन् भने मेस्सीले ४ गोल गरेका छन्। हालान्डले ५ गोल गरेका छन्। पीएसजीले अहिलेसम्म च्याम्पियन्स लिग जित्न सकेको छैन भने मेस्सीले बार्सिलोनालाई चार पटक च्याम्पियन बनाएका छन्।