एफएएको कम्प्युटरमा समस्या आउँदा अमेरिकामा हवाई उडान ठप्प

अमेरिकी वायुसेवा कम्पनीहरूले एफएएको कम्प्युटरमा आएको प्राविधिक समस्यापछि उडानमा ढिलाइ भएको सूचना जारी गरेका छन्।

तस्वीर : एबीसी न्युज

संघीय उड्डयन प्रशासन (एफएए) को कम्प्युटरमा समस्या आउँदा बुधबार अमेरिकाभर हवाई उडान ठप्प भएको छ।

अमेरिकी फ्लाइट ट्रयाकिङ वेबसाइट (फ्लाइटअवेयर)का अनुसार कम्प्युटरमा समस्या भएपछि पूर्वी क्षेत्रमा एक हजारभन्दा बढी उडानमा ढिलाइ भएको छ। संयुक्त राज्य अमेरिकाको आन्तरिक तथा बाह्य गरी करिब १०० भन्दा बढी उडान रद्द भएका छन्।

अमेरिकी वायुसेवा कम्पनीले कम्प्युटरमा आएको प्राविधिक समस्यापछि उडानमा ढिलाइ भएको सूचना जारी गरेका छन्। एफएएले आफ्नो ‘नोटिस टु एयर मिसन सिस्टम’लाई पुनः स्थापित गर्न काम गरिरहेको बताएको छ।

एफएएले भनेको छ, “हामी अन्तिम प्रमाणीकरणका लागि परीक्षण गरिरहेका छौँ र सिस्टमलाई ‘रिफ्रेस’ तथा ‘रिलोड’ गरिरहेका छौँ। राष्ट्रिय वायुसेवा प्रणाली एक्कासि प्रभावित हुन पुगेको छ।"

एफएएका अनुसार केही लाइनले काम गर्न थालेका छन्, तर ‘राष्ट्रिय हवाई क्षेत्र प्रणाली’ सञ्चालन सीमित भएको छ।

यातायात मन्त्री पीट बटिजिगले ट्वीटरमा एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “म एफएएसँग सम्पर्कमा छु र स्थितिबारे जानकारी लिइरहेको छु।"

युनाइटेड एयरलाइन्सले सबै आन्तरिक उडानमा अस्थायी रूपमा ढिलाइ गरेको र एफएएबाट थप जानकारी पाएपछि अद्यावधिक जारी गर्ने बताएको छ। एफएएले ‘नोटिस टु एयर मिसन सिस्टम’को रूपमा चिनिने प्रणालीलाई पुनः स्थापना गर्न काम गरिरहेको बताएको छ।