इजरायल र प्यालेस्टाइनको द्वन्द्वले मध्यपूर्वमा चीर अशान्ति छ। दुई देशबीचको युद्ध र विवाद मत्थर हुनुको साटो झन् चर्किँदो देखिन्छ।
उन्नाइसौँ शताब्दीदेखि सतहमा आएको इजरायल र प्यालेस्टाइनबीचको युद्ध र संघर्षको इतिहास झन्डै १ सय वर्ष पुरानो छ। यति लामो समयसम्म यी दुई देशबीचको हिंसा र युद्धको जगजगी समाधान हुनुको साटो झनै चर्किँदै गएको देखिन्छ।
अहिले इजरायल भएको क्षेत्र कुनै बेला ओटोमन साम्राज्य थियो। जहाँ टर्कीको शासन थियो। तर, सन् १९१४ मा शुरू भएको पहिलो विश्वयुद्धमा ओटोमन साम्राज्य बेलायतको नियन्त्रणमा आयो। त्यतिबेला सो क्षेत्रमा जियोनिज्मको भावना थियो। जियोनिज्म भनेको एक राजनीतिक विचारधारा हो, जसले स्वतन्त्र यहुदी राज्य स्थापनामा जोड दिन्थ्यो। यही भावना बोकेका यहुदीहरू ओटोमनमा बस्न जाने क्रम बढेपछि बेलायतले त्यस क्षेत्रमा यहुदीहरूलाई स्थानान्तरण गर्ने प्रतिबद्धता जनायो। दोस्रो विश्वयुद्धसम्म पनि यहुदीहरू प्यालेस्टाइन भनिने यस क्षेत्रमा बस्न जाने क्रम रोकिएन। दोस्रो विश्वयुद्ध सकिएपछि सन् १९४५मा संयुक्त राष्ट्रसंघको स्थापना भयो। राष्ट्रसंघले नै सन् १९४७ नोभेम्बर २९ मा प्यालेस्टाइनलाई अरब राज्य प्यालेस्टाइन र इजरायलका रूपमा बाँड्यो। विवादित जेरुसेलमलाई राष्ट्रसंघले अन्तर्राष्ट्रिय सरकारको नियन्त्रणमा राख्यो। इजरायलका लागि यो निर्णय महत्वपूर्ण भएपनि अरब देशहरूले राष्ट्रसंघको निर्णय अस्वीकार गर्दै विरोध जनाए। यता विभाजन भएको अर्को वर्ष सन् १९४८ मे १४ मा इजरायलले आफूलाई स्वतन्त्र राज्य घोषणा गर्यो। अमेरिकाले लगत्तै इजरायललाई स्वतन्त्र देशको मान्यता दियो। त्यसपछि यो क्षेत्रमा युद्धले बलियोरूपमा जरा गाड्न शुरू गर्यो।
विश्व युद्धपछि विस्थापित र रुसी साम्राज्यवादको उत्पीडनमा परेका विश्वभरका यहुदीहरू इजरायल प्रवेश गर्ने क्रम झनै बढ्यो। धार्मिक संस्कारमा मतभेद रहँदै आएको यहुदी समुदायलाई आफ्नो जमिन नै हडपेर बस्न दिने कुरा अरब देशहरूलाई कदापि स्वीकार्य थिएन। फलत: युद्धको शृंखला आजसम्म पनि जारी छ।
इजरायलको इतिहास
भूमध्य सागरको किनारमा रहेको मध्यपूर्वी देश हो इजरायल। जसको इजिप्ट, जोर्डन, लेबनान र सिरियासँग सीमा जोडिएको छ। करिब ९३ लाख जनसंख्या रहेको इजरायलका अधिकांश नागरिक हिब्रु भाषा बोल्छन् र यहुदी धर्म मान्छन्।
इजरायलको जेरुसेलम यहुदी, मुस्लिम र क्रिश्चियन धर्महरूको आस्थाको केन्द्रसमेत हो। जेरुसेलमलाई आ-आफ्नो दाबी गर्ने प्यालेस्टाइन र इजरायलबीच विवाद कायमै छ।
जेरुसेलम किन विवादित छ?
जेरुसेलम मुस्लिम, यहुदी र क्रिश्चियन धर्मावलम्बीको पवित्र धार्मिक स्थल पनि हो। यहाँको अलअक्सा मस्जिद निकै महत्वपूर्ण मानिन्छ।
इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मद साउदी अरबको मक्काबाट अलअक्सा मस्जिदमा आएको र अलअक्सा नजिकै टेम्पल माउन्टमा रहेको डोम अफ रकबाट स्वर्गको यात्रा तय गरेको मुस्लिमहरूको विश्वास छ। मुस्लिमका लागि मक्का र मदिनापछि अलअक्सा तेस्रो महत्वपूर्ण पवित्र धार्मिक स्थल हो।
यस्तै, जेरुसेलमस्थित चर्च अफ होली सेपल्चरलाई इसाई धर्मावलम्बीहरूको पवित्र स्थल हो। क्रिश्चियन धर्मका प्रवर्तक जिसस क्राइस्टले आफ्नो पहिलो उपदेश दिएको, सूलीमा चढेको र मृत्युपछि पुनः जीवित भएको स्थान नै जेरुसेलम रहेको इसाइहरूको विश्वास छ।
यता, जेरुसेलममा पश्चिम पर्खाल अर्थात् वेस्टर्न वाल छ। जसलाई यहुदीहरू आफ्नो पुरानो र पवित्र मन्दिर भएको मान्दछन्। र, वेस्टर्न वाल त्यही मन्दिरको बाँकी निशानी भएको उनीहरूको विश्वास छ। त्यहाँ यहुदीहरूको सबैभन्दा पवित्र होली अफ होलिज पनि छ। यहीँ नै इब्राहिम(भगवानका दूत) ले आफ्ना छोरा इसाकको बलिदान दिएको यहुदीहरूको विश्वास छ।
इजरायलले जेरुसेलमको सबै भागलाई आफ्नो राजधानीका रूपमा दाबी गर्छ। तर, प्यालेस्टाइनले भने पूर्वी जेरुसेलममाथिको दाबी छाड्न इजरायलसँग माग गरिरहेको छ। प्यालेस्टाइन भविष्यमा स्वतन्त्र भएपछि सो क्षेत्रलाई आफ्नो राजधानी बनाउन चाहन्छ।
इजरायलको स्थापना र युद्धको थालनी
यहुदीलाई नयाँ भूमिका स्थानान्तरण गरेपछि प्यालेस्टिनीहरूले इजरायलीलाई लखेट्ने प्रयासस्वरूप गोली हान्ने, ढुंगा हान्ने गरी दुःख दिन थाले। कैयौँ प्रयासपछि पनि समस्या समाधान नभएपछि बेलायती शासक इजरायल छोडेर भागे भने यहुदी नेताहरूले इजरायल राज्य निर्माणको घोषणासहित त्यही बस्ने निर्णय गरे। थुप्रै प्यालेस्टिनीहरूले विरोध जनाए र युद्ध शुरू भयो।
सन् १९४८ को युद्धको समयमा इजरायलमाथि अन्य मुलुकले समेत आक्रमण गरेका थिए। तर, सन् १९४९ मा इजरायलको जित भएसँगै युद्ध रोकियो। युद्धमा साढे ७ लाख प्यालेस्टिनी नागरिक विस्थापित भए भने त्यहाँको भूमि तीन भागमा विभाजित भयो।
इजरायली राज्य, द वेस्ट ब्यांक र गाजापट्टि
त्यतिबेला इजरायल, प्यालेस्टाइन, इजिप्ट, जोर्डन र सिरियाबीच तनाव थियो। सन् १९५६ को स्विज संकट र इजरायलले सिनाइ प्रायद्वीपमा आक्रमण गरेपछि पुनः आक्रमण हुनसक्ने आशंकामा इजिप्ट, जोर्डन र सिरियाले संयुक्त सुरक्षा सम्झौतामा हस्ताक्षर गरे। त्यतिबेला इजिप्टले इजरायलमा शृंखलावद्ध आक्रमण गर्यो। जवाफमा इजरायलले इजिप्ट र सिरियाको हवाई सेनालक्षित आक्रमण गर्यो। छ दिनसम्म चलेको युद्धपछि इजरायलले इजिप्टको नियन्त्रणमा रहेको सिनाइ प्रायद्वीप र गाजा स्ट्रिप, जोर्डनको नियन्त्रणमा रहेको वेस्ट ब्यांक र पूर्वी जेरुसलेम तथा सिरियाको नियन्त्रणमा रहेको गोलान हाइट्ससमेत कब्जामा ल्यायो। यी क्षेत्र इजरायलको कब्जाबाट हटाउन ३० वर्षसम्म युद्ध भयो। तर पछि इजिप्टका राष्ट्रपति अनवर अल सदतले सन् १९७९ मा शान्ति सम्झौता र युद्धविरामको घोषणा गरे।
सन् १९७८ सेप्टेम्बर १७ तारिखमा इजिप्ट र इजरायलबीचको शान्ति सम्झौता (क्याम्प डेविड एकर्ड्स) भयो। यस सम्झौताले यी दुई मुलुकको सम्बन्धमा सुधार ल्याएपनि प्यालेस्टाइनको आत्मनिर्णय र स्वशासनको चाहनालाई सुल्झाउन सकेन। सन् १९८७ मा गाजा स्ट्रिप र वेस्ट ब्यांकका सयौँ हजार प्यालेस्टिनी नागरिक इजरायली सरकारविरुद्ध उत्रिए। जसलाई उनीहरू पहिलो विद्रोह अर्थात् फस्ट इन्तिफादा भन्ने गर्छन्।
पछि विभिन्न चरणमा दुई पक्षबीच वार्तासमेत भए। सन् १९९३ सेप्टेम्बर १३ तारिखमा ओस्लो सेकेन्ड नामक सम्झौतामा भयो । जसमा वेस्ट ब्यांक र गाजामा प्यालेस्टाइनले नै सरकार सञ्चालन गर्ने खाकामा आपसी सहमति जुट्यो। यस्तै, सन् १९९५ को ओस्लो एकर्ड सेकेन्ड सम्झौतामा पहिलो सम्झौताको बिस्तार गरियो। जसमा इजरायल वेस्ट ब्यांकका ४ सय ५० वटा क्षेत्र र ६ वटा शहरबाट पूर्ण रूपमा हट्नुपर्ने प्रावधान थियो तर कार्यान्वयन भएन।
वेस्ट ब्यांकमा इजरायलको नियन्त्रण, शान्ति प्रक्रियामा गतिरोध र तत्कालीन इजरायली प्रधानमन्त्री एरियल शारोनको अलअक्सा मस्जिदको भ्रमणलगायतका विषयलाई लिएर प्यालेस्टिनी नागरिकले पुनः विद्रोह गरे। सन् २००० को सेप्टेम्बरमा प्यालेस्टिनीहरूले दोस्रो विद्रोह अर्थात् अलअक्सा इन्तिफादाका रूपमा युद्ध लडे। यो युद्ध सन् २००५ सम्म चल्यो। त्यसबीचमा सन् २००२ मा इजरायली सरकारले वेस्ट ब्यांकमा पर्खाल लगाउने निर्णय गर्यो। यस निर्णयको अन्तर्राष्ट्रिय न्यायालय र अन्तर्राष्ट्रिय अपराध अदालतले समेत विरोध गरेको थियो।
पछि सन् २०१३ मा अमेरिकाले इजरायल र प्यालेस्टाइनको शान्ति प्रक्रियालाई पुनः ब्युँताउने प्रयास गर्यो। तर, प्यालेस्टाइनमा सत्तारूढ पार्टी फताह र विद्रोही समूह हमासबीच सन् २०१४ मा संयुक्त सरकार बनेपछि शान्ति वार्ता अघि बढ्न सकेन।
के हो हमास?
इजरायलविरुद्ध शुरू भएको पहिलो विद्रोहका क्रममा सन् १९८७ मा स्थापित सुन्नी मुसलमानको संगठन हो हमास। हमास मुस्लिम ब्रदरहुड नामक राजनीतिक पार्टीबाट टुक्रिएको संगठन हो। प्यालेस्टाइनका प्रमुख दुई राजनीतिक पार्टीमध्ये हमास पनि एक हो। तर, चरम राष्ट्रवादी सो पार्टीलाई सन् १९९७ मा संयुक्त राष्ट्रसंघले विदेशी आतंकवादी संगठनको संज्ञा दिएको थियो।
सन् २०१४मा प्यालेस्टिनी भूमिमा भएको हिंसात्मक घटनामा इजरायल र प्यालेस्टिनी सेना आमनेसामने हुँदा हमासले इजरायलमाथि ३ हजारभन्दा बढी रकेट प्रहार गरेको थियो। इजरायलले पनि इजिप्टको सीमास्थित गाजापट्टिमा ठूलो आक्रमण गरेपछि इजिप्टको मध्यस्थतामा सोही वर्षको अगस्टमा युद्धविराम पनि भयो। तर, त्यतिन्जेल युद्धमा २ हजार २५१ जना प्यालेस्टिनी र ७३ जना इजरायलीले ज्यान गुमाइसकेका थिए। एकअर्कामाथि हिंसाको शृंखला जारी रहेपछि प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासले सन् २०१५ मा भएको आपसी ओस्लो सम्झौता मान्य नभएको घोषणा गरे। त्यस सम्झौतालाई मध्यपूर्वी क्षेत्रमा शान्ति प्रक्रियाको थालनीका रूपमा हेरिएको थियो।
सन् २०१८ को मार्च र मे महिनामा प्यालेस्टिनीले गाजा स्ट्रिप र इजरायली सिमानामा सप्ताहव्यापी प्रदर्शन गरे। सन् १९४८ मा मुलुक छाड्न बाध्य पारिएका ७ लाखभन्दा बढी प्यालेस्टिनीको सम्झनामा गरिएको प्रदर्शन थियो त्यो। जुन प्यालेस्टिनीहरूको पलायन र इजरायलीका लागि स्वतन्त्रताको दिनसमेत थियो। त्यतिबेला सीमा क्षेत्रमा भएको ढुंगा हानाहान र हुलदंगामा १८३ जना प्रदर्शनकारी मारिएको र ६ हजार जना घाइते भएको राष्ट्रसंघको तथ्यांक छ।
यस्तै, सन् २०१८ को मे महिनामा पुनः हमास र इजरायली सेनाबीच भिडन्त भयो। जुन सन् २०१४ यताकै सबैभन्दा बढी हिंसात्मक थियो। युद्धविराम नहुँदासम्म गाजाका विद्रोही समूहले इजरायललक्षित सयभन्दा बढी रकेट प्रहार गरे भने इजरायलले गाजाका ५० भन्दा बढी क्षेत्रमा आक्रमण गरेको थियो। त्यसपछि पुनः इजिप्टकै मध्यस्थतामा मे २१ तारिखमा दुई मुलुकबीच अर्को युद्धविराम भयो।
मे महिनाभर लगातार ११ दिनसम्म जारी प्रदर्शनमा २५० भन्दा बढी प्योस्टाइनीहरूको ज्यान गयो भने दुई हजारभन्दा बढी घाइते भए। यस्तै, १३ जना इजरायली नागरिक मारिए। गाजा क्षेत्रमा मात्रै दशौँ लाख डलर बराबरको क्षति भएको त्यहाँका अधिकारीहरूको भनाइ छ। पछिल्लो हिंसाका कारण ७२ हजार प्यालेस्टिनी नागरिकहरू विस्थापित भएको राष्ट्रसंघको तथ्यांक छ।
इजरायल-अमेरिकी सम्बन्ध : इजरायली शक्तिको स्रोत
इजरायलको स्थापनाकालदेखि नै अमेरिका उसको बलियो समर्थक हो। इजरायलका छिमेकी राष्ट्रहरूबीचको सम्बन्ध सुधार, महत्वपूर्ण सम्झौता र उपलब्धि हासिल गराउनुमा अमेरिकाको खास भूमिका छ। मध्यपूर्वी देशहरूमा समग्र अमेरिकी विदेश नीतिका लागि पनि इजरायलसँगको आपसी सम्बन्ध र साथ अमेरिकाका लागि महत्वपूर्ण छ। अमेरिकी सांसदले पनि इजरायललाई विशेष समर्थन गर्दै आएको छ। इजरायललाई ठूलो आर्थिक सहायता गर्दै आएको अमेरिका उसको सबैभन्दा ठूलो व्यापारिक साझेदारसमेत हो। विश्वको सुपर पावरमध्येको एक अमेरिकाको साथले इजरायललाई एक शक्तिशाली राष्ट्र बन्न सघाएको छ। अमेरिकाको साथकै कारण इजरायलमाथि अन्य अरबी मुलुकहरूले हेप्न पाएका छैनन्।
पछि अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इजरायल र प्यालेस्टाइनको सम्झौतालाई अमेरिकी विदेश नीतिको उच्च प्राथमिकतामा राखे। सोही वर्षदेखि अमेरिकाले राष्ट्रसंघको राहत तथा सहयोगी निकायका लागि दिइने आर्थिक सहायता कटौती गर्यो। प्यालेस्टिनी शरणार्थीहरूलाई पनि राहत दिने सो आर्थिक सहायता कटौतीको चौतर्फी विरोध समेत भएको थियो। यस्तै, ट्रम्पकै पालामा तेल अभिभस्थित अमेरिकी राजदूतावास जेरुसेलम सारियो। यी सबै कार्य लामो समयदेखिको अमेरिकी नीतिविरुद्ध थिए।
अमेरिकी दूतावास जेरुसेलम सार्ने निर्णयको इजरायलले स्वागत गरेपनि प्यालेस्टाइनसहित मध्यपूर्वी र युरोपेली देशहरूले विरोध गरेका थिए।
यस्तै, सन् २०२० को अगस्टमा युनाइटेड अरब इमिरेट्स र बहराइन इजरायलसँगको सम्बन्ध सुधारमा सहमत भए। अमेरिकाले मध्यपूर्वको भविष्यबारे छलफलका लागि पोल्यान्डको वार्समा इजरायल र अरबी मुलुकहरूसँगको मन्त्रीस्तरीय वार्ता भएको १८ महिनापछि यी मुलुक इजरायलसँगको सम्बन्ध सुधारमा इच्छुक भएका थिएन। उनीहरूबीचको सम्झौतालाई अब्राहम सम्झौता भनेर चिनिन्छ तर प्यालेस्टिनी नेता मोहम्मद अब्बास र हमासले यो सम्झौतालाई अस्वीकार गरेका छन्। मध्यपूर्वी देशहरूमा इजरायलसँगको सम्बन्ध सुधार्नेमा इजिप्ट र जोर्डनपछि युनाइटेड अरब इमिरेट्स तेस्रो र बहराइन चौथो मुलुक बनेका छन्। अधिकांश अरबी देश प्यालेस्टाइनको साथमा छन्।
पुनः विद्रोहको सम्भावना
इजरायलविरुद्ध प्यालेस्टाइनले विभिन्न समयमा संघर्ष गर्दै आएको छ। तेस्रो व्रिदोह अर्थात् इन्तिफादा हुनेतर्फ धेरैको चासो छ। यस्तो भए पुराना सबै तनावले हिंसाको ठूलो रूप लिनसक्ने अनुमान समेत गरिएको छ। अर्को विद्रोह भए लामो समयदेखि इजरायलको मित्रराष्ट्र रहेको अमेरिकाले इजरायलको सुरक्षा गर्ने र इजरायल र प्यालेस्टाइनका विवादित भूमिबारे अन्तिम सम्झौता हासिल गर्न मद्दत गर्ने र क्षेत्रीय सुरक्षा कायम राख्ने धेरैको अनुमान छ।
हालैको अद्यावधि
सन् २०२० मा इजरायली अदालतले पूर्वी जेरुसेलमको छिमेकी शहर शेख जर्राहमा बसिरहेका प्यालेस्टिनी परिवारले सो भूमि सन् २०२१ को मे महिनाभित्र इजरायली परिवारलाई हस्तान्तरण गर्नु भनेर आदेश दिएको थियो। तर, फेब्रुअरी २०२१ मा थुप्रै प्यालेस्टिनी परिवारले अदालतको आदेशविरुद्ध मुद्दा दायर गर्दै प्रदर्शनमा उत्रिए। त्यसयता सो क्षेत्रको सम्पत्ति र जग्गासम्बन्धी कानुनी लडाइँ हालसम्म जारी छ। जेरुसेलमका प्यालेस्टिनीलाई विस्थापित नगर्न उनीहरूको माग छ।
प्यालेस्टिनीहरूलाई उनीहरूको सम्पत्तिबाट वञ्चित गर्ने विषयबारे अदालतको निर्णय ढिला भएको भन्दै सन् २०२१ को अप्रिलमा पनि प्रदर्शन भयो। त्यतिबेला उनीहरू रातीसमेत धर्नामा बसेका थिए। तर मे महिनामा अदालतले प्रदर्शनकारीको मागको विपक्षमा फैसला गर्यो। इस्लामिक पवित्र महिना रमदानको अन्तिम शुक्रबार अलअक्सा मस्जिदमा नमाजका लागि भेला भएका प्रदर्शनकारीले शेख जर्राहबाट मुस्लिमहरूलाई हटाइएको विरोधमा शुरू भएको प्रदर्शनले हिंसात्मकरूप लियो। प्रदर्शनकारीमाथि बल प्रयोग गर्न इजरायलले ठूलो संख्यामा प्रहरी तैनाथ गर्यो र प्यालेस्टिनीबीच झडप शुरू भयो। इजरायली प्रहरीले प्रदर्शनकारीमाथि रबरका गोली, पानीका फोहोरा र स्टन ग्रिनेड प्रहार गर्यो। जसमा हजारौँ प्यालेस्टिनीहरू घाइते भएका थिए।
हमास र अन्य प्यालेस्टिनी विद्रोही लडाकू समूहले इजरायलमाथि सयौँ रकेट आक्रमण गरे। इजरायलले समेत लडाकु समूह, आवासीय भवन, मिडिया मुख्यालयहरू, शरणार्थी र स्वास्थ्य सेवालक्षित हवाई आक्रमण तीव्र पार्यो। आक्रमणमा २० भन्दा बढी प्यालेस्टिनीको ज्यान गएको थियो।
जेरुसेलमको पुरानो शहरमा भड्किएको तनाव अर्को कारण जेरुसेलम दिवस अर्थात् मे १० तारिख पनि हो। सन् १९६७ मा अरब इजरायल युद्धमा इजरायलले जितेको खुशीयालीमा जेरुसेलम डे मनाइन्छ। जसलाई प्यालेस्टिनीहरू बिथोल्न चाहन्छन्।
कहिल्यै नटुंगिने इजरायल र प्यालेस्टाइनको विवाद
तीनदिन अघिमात्रै इजरायलको कब्जामा रहेको उत्तरी क्षेत्र वेस्ट ब्यांकको जेनीन शहरमा इजरायली सेनाको आक्रमणबाट दुई जना प्यालेस्टिनीको ज्यान गयो। दोहोरो भिडन्तमा पाँच जना घाइते भए।
इजरायली सैन्य बलले प्यालेस्टिनी नागरिकहरू बस्दै आएको क्याम्प आसपासका क्षेत्रमा प्रतिबन्ध लगाएपछि तनाव चुलिएको थियो। यसअघि बुधबारसमेत इजरायली सेनाको आक्रमणबाट एक किशोरको मृत्यु भएको थियो। यस्तै, बिहीबार इजरायली नागरिकहरूले ‘अरबीहरूको मृत्यु’ भन्ने नाराबाजी गर्दै पूर्वी जेरुसलेमको शेख जर्राहका प्यालेस्टिनीहरूका घर र सम्पत्तिमाथि आक्रमण गर्दा दर्जनौँ घाइते भए। यस्ता आक्रमणको शृंखला केही महिनायता जारी छ।
इजरायल र प्यालेस्टाइनका लागि यी घटना सामान्यजस्तै बनेका छन्। दुई मुलुबीचको विवाद र हिंसात्मक घटना यतिसम्म चर्किएका छन् कि एक अर्कामाथि आक्रमण गर्ने, दुर्व्यवहार गर्ने, सराप्ने र सानो निहुँमा रिसिइवी साध्ने यहाँको चलन नै बनेको छ।
गतवर्ष सन् २०२१ मा इजरायली सेनाको आक्रमणबाट ३१३ जना प्यालेस्टिनीले ज्यान गुमाए। इजरायलको ज्यादतीका कारण ८९५ जना प्यालेस्टिनी नागरिक घरबारबिहीन बने। दुई मुलुकबीचको युद्धमा सन् २०१४ पछि सबैभन्दा बढीले ज्यान गुमाएको यो पछिल्लो घटना हो। इजरायल र प्यालेस्टाइनबीच आक्रमण र प्रतिकारको शृंखलाको दशकौँ लामो इतिहास दोहोरिइरहेको छ। आधुनिक विश्वमा सबैभन्दा लामो समय युद्धमा रहेका देश हुन् इजरायल र प्यालेस्टाइनकै हो। -एजेन्सीको सहयोगमा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
