समाजवादीले पठायो भुसाललाई पत्र, शुक्रबार पत्रकार सम्मेलन गरेर पार्टी प्रवेश गर्दै

नेकपा एकीकृत समाजवादी पूर्व एमाले नेता घनश्याम भुसाललाई पार्टीमा सहभागी भएर कम्युनिस्ट आन्दोलन पुनर्गठनको सारथि भइदिन आग्रह गरेको छ।

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले पूर्व एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई पत्र पठाएको छ। 

केही दिनअघि भुसालले लेखेको पत्रको जवाफ दिँदै समाजवादीका महासचिव बेदुराम भुसालले उनलाई पत्र पठाएका हुन। 

भुसालले समाजवादीले गठन गरेको वाम एकता वार्ता समितिलाई पत्र लेखेका थिए। त्यसको जवाफ लेख्दै समाजवादीका महासचिव भुसालले छिटो भन्दा छिटो एकीकृत समाजवादीमा आबद्ध भएर नेपाली कम्युनिस्ट आन्दोलनको पुनर्गठन रूपान्तरणको अभियानमा सरिक हुन अनुरोध गरिएको छ। 

यसैबीच नेता घनश्याम भुसालले शुक्रबार दिउँसो २ बजे बानेश्वरको एक होटलमा पत्रकार सम्मेलनको आयोजना गरेर आफ्नो धारणा सार्वजनिक गर्दैछन्। 

समाजवादी पार्टीका अनुसार सोही कार्यक्रममार्फत घनश्याम भुसाल औपचारिक रूपमा एकीकृत समाजवादीमा प्रवेश गर्ने कार्यक्रम रहेको छ।